संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

राजधानीमा मिडियाप्रतिको जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्न

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको संयोजनमा “पत्रकार आचारसंहिता जागरण एवं मिडियाप्रतिको जनगुनासो” विषयक कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीले सञ्चार माध्यम र पत्रकारसँग सम्बन्धित गुनासा र ती गुनासा सम्बोधनमा प्रेस काउन्सिल नेपालले खेल्नसक्ने भूमिकाबारे धारणा राखेका थिए । ‘हामी पत्रकार आचारसंहिता पालना गर्न प्रतिबद्ध छौँ’ भन्ने सामुहिक प्रतिबद्धताबाट सुरु भएको कार्यक्रममा सहभागी पत्रकारले काउन्सिलको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डेले न्यायाधीशलाई न्याय दिने निकाय प्रेस काउन्सिल भएको भन्दै पत्रकार आचारसंहिता परिमार्जन गर्न आवश्यक रहेको औल्याउनुभयो । ‘समाचार ठीक हुँदा पनि रुँदै आउँछन्, बेठीक आउँदा पनि रुन्छन् । समाचारले कम्पन ल्याउँछ । लेख्ने र सार्ने दुइखाले पत्रकार छन् । सार्ने पत्रकारले चलाएको मिडिया खासगरी अनलाइनमा विज्ञापनको बाढी हुन्छ ।’ उहाँले भन्नुभयो, ‘मिडियालाई मर्यादित र व्यवस्थित बनाउन मिडिया स्थापना हुँदैदेखि आचारसंहिता प्रशिक्षण तथा तालिम आवश्यक छ ।’ काउन्सिललाई जति बलियो बनाउन सकियो, पत्रकारिता क्षेत्र त्यत्तिकै मर्यादित, स्वतन्त्र र निष्पक्ष हुने उहाँको भनाई थियो । उहाँले मिडियालाई कस्न खोजे तरङ्ग आउने भन्दै स्वघोषणा र आचारसंहिताको स्वनियमन नै उपाय हुन सक्ने बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ एसोसियट प्रदेशका अध्यक्ष बैकुण्ठराज पराजुलीले काउन्सिलले नियमन गर्दै आएको आचारसंहिताको पालना के–कति गरिरहेका छौँ आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले प्रेस काउन्सिलबाट एसोसिएट प्रदेशअन्तर्गत कार्यरत पत्रकारलाई अनुदान सुविधा, विधागत तालिम दिने व्यवस्था हुने अपेक्षा आफूहरुको भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता निरज गिरीले व्यक्तिगत स्वार्थको कारण पूँजीबजारलाई प्रभाव पार्न नहुने धारणा राख्नुभयो । ‘पूँजीबजार अर्थतन्त्रको मेरुदण्ड हो, पत्रकारले पनि लगानी गर्न पाउनुपर्छ तर निहित स्वार्थपूर्तिको लागि सूचना प्रवाह गर्नुहुँदैन ।’ उहाँले भन्नुभयो । नेपाल स्टक एक्सचेन्जका मुराहरि पराजुलीले पत्रकारले सेयरबजारमा लगानी गर्ने कि नगर्ने भन्ने बिषयमा स्वार्थ बाझिने गरी गर्न नहुने प्रष्ट पार्नुभयो । ‘आफ्नो जिविकोपार्जनको लागि लगानी गर्न सक्छ, यदि लगानी गर्ने हो भने सम्पादकसामु जानकारी गराउनुपर्छ, स्वार्थ बाँझिने भएमा रिपोर्टिङ् गर्न हुँदैन ।’ उहाँले भन्नुभयो ।

मर्चेन्ट बैंक एसोसिएसनका अध्यक्ष मेघबहादुर थापाले पत्रकारलाई म्युचुअल फण्डमा लगानी उपर्युक्त हुने बताउनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले स्वच्छ र मर्यादित पत्रकारिताको विकासको लागि आचारसंहिता निर्माण, अनुगमन र आचारसंहिताको पालना गर्न जागरण ल्याउने उद्देश्यले नियमितरुपमा सरोकारवाला संघसंगठन र उपभोक्ताबीच छलफल गर्दै आएको उल्लेख गर्नुभयो । ‘हामीकहाँ मिडियाप्रतिको जनगुनासो, उजुरी आउँछन्, आचारसंहितामा उल्लेखित पत्रकार तथा सञ्चार माध्यमले गर्न हुने र गर्न नहुने १४/१४ बुँदा छन्, यसको पालना गरौं ।’ उहाँले भन्नुभयो । १४ बुँदे विषय समेटी फ्लेक्स प्रकाशन गरेर छिटै मिडिया हाउसलाई वितरण गरिने उहाँले जानकारी दिनुभयो । स्वनियमन नै प्रमुख कुरा भएको भन्दै भुसालले सञ्चार माध्यम बन्द गरेर, सेवा रोकेर, दण्ड जरिवाना गरेर समस्या समाधान नहुने बताउनुभयो । काउन्सिलले पत्रकारका लागि पुरस्कार, उपचार खर्च, प्रेस सामग्री खरिदमा अनुदान दिँदै आएको पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा एसोसिएट प्रदेशका महासचिव रोयल आचार्यले कार्यपत्र प्रस्तुत गर्दै विधागत पत्रकारिताको विकासमा रहेका समस्या औँल्याउनुभयो । उहाँले विषयगत तालिमको अभाव, उपकरण अभाव, प्रोत्साहनको कमी कारण विधागत पत्रकारितामा समस्या रहेको भन्दै उपत्यकामा कार्यरत पत्रकारको लागि पनि अनुदान, पुरस्कारमा विधागत सहभागिता गर्न सके पेसागत हकहित र सुरक्षा हुने बताउनुभयो । प्रेस काउन्सिल नेपालका उप प्रशासकीय अधिकृत रामशरण बोहराले युट्युब नियमनका सम्बन्धमा नेपाल सरकारलाई सुझाव पेस गरेको भएपनि हालसम्म कुनै प्रगति नभएको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामचन्द्र न्यौपाने, एसोसिएट प्रदेशका सदस्य अनुजराज ढुङ्गेल, पत्रकारिता विकास समाजका उपाध्यक्ष पोष्ट केसी, फोटो पत्रकार क्लबका पूर्व अध्यक्ष विकास कार्की, केन्द्रबिन्दु डटकमका पत्रकार निकेश बराल, हेल्थ टिभी अनलाइनकी सम्पादक कल्पना आचार्य, नेपाल लाइभका पत्रकार विरेन्द्र ओली, रोजगार मिडिया फणिन्द्र दाहाल, बीमा पोष्ट रिला खत्रीलगायतले आ आफ्ना र सुझाव राख्नुभएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं गुनासो सुन्ने अधिकारी राधेश्याम अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया :