संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ ।

प्रेस काउन्सिल नेपाल र राष्ट्रिय महिला आयोगले कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न महिला सञ्चारकर्मीलाई आग्रह गरेको छ । मङ्गलबार प्रेस काउन्सिल नेपालको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न र हिंसा निर्मुलीकरणमा सघाउन आग्रह गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै अध्यक्ष पराजुलीले पत्रकार आफू हिंसामा परे पीडकको नामसहित उजुरी दिन र कारबाहीको दायरामा ल्याउन सहयोग पुर्‍याउन आग्रह गर्नुभयो । पत्रकारले दिने सूचना र समाचारले परिवर्तन ल्याउने उहाँको भनाइ थियो । सञ्चारकर्मी महिलामा हुने जिम्मेवारी विभेदका कारण हिंसा हुने गरेको भन्दै उहाँले आयोगमा आउने उजुरीमा ७५ देखि ७८ प्रतिशत हिंसा घरेलु हुने गरेको जानकारी दिनुभयो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले महिलासम्बन्धी उजुरी र गुनासा सम्बोधनलाई काउन्सिलले प्राथमिकतामा राखेको भन्दै हिंसासम्बन्धी उजुरी सुनुवाइमा काउन्सिल र आयोगले समन्वय गरेर समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो । उहाँले सञ्चारमाध्यमा महिला उत्तरदायी सञ्चार निर्देशिकाको कार्यान्वयन गरी लैङ्गिकमैत्री मिडिया बनाउन काउन्सिलले काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी अधिकांशले मिडियामा महिलामाथि विभिन्न तरिकाबाट हिंसा हुने गरेको, त्यसका बारेमा उजुरी गर्ने उचित निकायसमेत नभएको र आफूभन्दा माथिल्लो निकायमा गुनासो गर्दा पिडितको जागिर नै खोसिने तथा झनै अपमानित हुनुपर्ने अवस्था रहेको बारे खुलेर कुरा राखेका थिए ।

कार्यक्रममा बरिष्ठ पत्रकार बबिता बस्नेत र प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पत्रकार बबिता बस्नेतले कस्तो व्यवहारलाई हिंसा भन्ने भन्ने अन्यौलले पनि मिडियामा भएका हिंसा बाहिर आउने नगरेको बताउनुभयो । उहाँले आम मानिसमा मिडियामा हिंसा हुँदैन भन्ने मानसिकताले मिडियाभित्रका हिंसा बाहिर आउने नगरेकोप्रति सचेत रहनुपर्ने बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले मिडियाले दिने सूचना र समाचारमा महिलाप्रतिको दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको औँल्याउनुभयो । उहाँले विज्ञापन, समाचार सामग्री लगायतमा महिलालाई वस्तुका रूपमा प्रस्तुत गर्ने गरिएको धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डितले व्यक्तिलाई मेरो व्यवहारबाट हिंसा भएको छ कि छैन भन्ने महसुस भइ आत्मसाथ गर्न सके धेरै हिंसा हट्ने बताउनुभयो । पीडित महिला सञ्चारकर्मीले गुनासो गर्दा उल्टै अपमानित हुनुपर्ने डरले उजुरी गर्न नसकेको विभिन्न अध्ययनमा देखिएको जानकारी दिनुभयो ।

दक्षिण एसियाली महिला पत्रकार संघकी अध्यक्ष निर्मला शर्माले महिलालाई दिइने जिम्मेवारीबाट नै हिंसा सुरु हुने बताउनुभयो । वरिष्ठ पत्रकार गोविन्द पोखरेलले महिलाप्रति दया गर्ने प्रवृत्तिले हिंसालाई प्रश्रय दिएको उल्लेख गर्नुभयो । उहाँले महिला पत्रकारले आफ्नो क्षमतामा विस्वास गरेर आत्मबल बढाउने हो भने हिंसा धेरै कम हुने बताउनुभयो ।

काउन्सिलका सदस्य शरद अधिकारीले सहजीकरण गर्दै काउन्सिलले कार्यस्थलमा हुने महिला हिंसाका विषयलाई गम्भीर रूपमा लिँदै मिडियामा हुने यस्ता घट्ना न्यूनीकरणका लागि चरणबद्ध कार्यक्रम हुने जनाउनुभयो ।

प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले मिडियामा लैङ्गिकताको सवाललाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा काउन्सिल सधैँ सचेत रहेको बताउनुभयो । उहाँले काउन्सिलले महिला हिंसाका विषयमा आएका उजुरी र समस्या सुनुवाइ गर्न फोकल पर्सन तोकेरै काम गरिरहेको जानकारी दिनुभयो ।

छलफलमा प्रेस काउन्सिल नेपालका पूर्व सदस्य चेतनाथ धमाला, पत्रकार राधा चालिसे, निशा ओली, मातृका ओझा, कमला भट्टराई, मन्दिरा दाहाल, नेहा शर्मा लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा काउन्सिलका सदस्य लालबाबु शेखलगायत विभिन्न सञ्चारमाध्यमका सम्पादक पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :