संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षणसहित अन्तरक्रिया सम्पन्न

काठमाडौँ । सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण-२०७७ सम्पन्न भएको छ ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको संयोजनमा यही पुस २४ र २५ गते भएको उक्त प्रशिक्षणमा काउन्सिल सदस्य एवम् नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, काउन्सिल सदस्यद्वय संगीता खड्का र दीपक पाण्डे र वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले प्रशिक्षण दिनुभएको थियो । यस्तै अनुगमन अधिकृत सुरेन्द्र मल्लले काउन्सिलको पत्रपत्रिका अनलाइन व्यवस्थापन प्रणाली र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाहले सुदूरपश्चिम प्रदेशको मिडिया क्षेत्रमा ‌कोभिड-१९ ले पारेको प्रभावबारे जानकारी दिनुभएको थियो ।

प्रशिक्षणमा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका २३ जना पत्रकारको सहभागिता रहेको थियो ।

यस्तै काउन्सिलले दार्चुला, बैतडी र डडेल्धुरामा यही पुस २४, २५ र २६ गते पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम गर्यो ।

नेपाल पत्रकार महासंघका जिल्ला शाखाको संयोजनमा भएको उक्त कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, काउन्सिल सदस्यद्वय संगीता खड्का र दीपक पाण्डे, वरिष्ठ प्रशासकीय अधिकृत प्रवक्ता दीपक खनालले काउन्सिलले आचारसंहिताको पालनाको अवस्थाबारे स्थलगतरूपमा जानकारी लिन र कोभिड–१९ ले पारेको प्रभावको सम्बन्धमा पत्रकारकै आवाज सुन्न यस कार्यक्रम आयोजना गरिएको, पत्रकारलाई आचारसंहिता पालनाका लागि निर्देशन मात्रै नगरी विभिन्न आर्थिक सहयोग समेत गर्दै ‌आएको, आचारसंहिता पालनामा गम्भीर बन्नुपर्ने विषयमा जोड दिनुभयो ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता खनाल र अनुगमन अधिकृत सुरेन्द्र मल्लले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय उत्तर बिष्ट र मिन ठकुरी, महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह, जिल्ला अध्यक्ष लगायतले तत् क्षेत्रका पत्रकारले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।

सहभागी पत्रकारले अन्य जिल्लामा झैँ कोभिडका कारण ६-७ महिनासम्म तलव नपाएको, महिला पत्रकारलाई काम गर्न गाह्रो भएको, पत्रकारलाई हेर्ने राज्यको दृष्टिकोण अझै पनि सकारात्मक नभएको, काउन्सिलले आफ्ना पीडा सुन्नुपर्ने लगायतका विषय उठाएका थिए ।

प्रतिक्रिया :