संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

‘लैङ्गिक संवेदनशील मिडिया निर्माण’ कार्यशाला सम्पन्न

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा युनेस्कोको सहयोगमा लैङ्गिक संवेदनशील मिडिया निर्माणमा सङ्घ संस्थाहरूको भूमिका विषयक एक दिने कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ ।

कार्यशालाको उद्घाटन सत्रमा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लैङ्गिक संवेदनशील मिडिया निर्माणको लागि काउन्सिल सदैव प्रयत्नशील रहेको बताउनुभयो । उहाँले काउन्सिलले निर्देशिकाको निर्माण र कार्यान्वयन गरी मिडियालाई लैङ्गिकमैत्री बनाउने संवेदनशील बनाउने प्रयत्न गरेको बताउनुभयो । काउन्सिलले जारी गरेको महिला सञ्चार निर्देशिकाको परिमार्जनका विज्ञहरूको सुझाव लिन युनेस्कोसँगको सहकार्यमा भएको बुधबारको कार्यशालाबाट प्राप्त सुझाव महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

कार्यशालामा बोल्दै नेपाल पत्रकार महासङघका अध्यक्ष विपुल पोख्रेलले लैङ्गिक सवाल महिलाको मात्र नभइ सबैको साझा मुद्दा हो भन्नेतर्फ सजग रहनुपर्ने बताउनुभयो । उहाँले नागरिक समाज सचेतताको विषयमा मिडियाले मूल्याङ्कन गरी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने भएको प्रष्ट पार्नुभयो । पोख्रेलले लैङ्गिक संवेदनशीलताका क्षेत्रमा पत्रकार महासङ्घबाट समेत महिला निर्देशिका पालना गर्न र महिलामैत्री वातावरण निर्माण गर्न पहलकदमी भइरहेको उल्लेख गर्नुभयो ।

कार्यशालाको उद्घादन सत्रको सहजीकरण काउन्सिलका सदस्य ठाकुर बेलबासेले गर्नुभएको थियो । कार्यक्रममा काउन्सिलका सदस्य दीपक पाण्डे, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राइ लगायतले मन्तव्य राख्दै मिडियालाई लैङ्गिकमैत्री बनाउन आफूहरूको साथ रहने बताउनुभयो ।

एकदिने कार्यशालामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले “लैङ्गिक संवेदनशील मिडिया नीति निर्माण र कार्यान्वयनमा प्रेस काउन्सिलको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै डा. समीक्षा कोइरालाले “मिडियामा लैङ्गिकताका विषय र महिला उत्तरदायी सञ्चार निर्देशिका” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पत्रकार कृष्णा पौडेलले “नेपाली सञ्चार माध्यममा लैङ्गिक संवेदनशीलता” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा सञ्चारिका समूहकी पूर्वअध्यक्ष नितु पण्डितले “मिडिया, लैङ्गिकता र सामाजिक सङ्घसंस्था” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अन्तरक्रियामा काउन्सिलले गरिरहेको अनुगमन र कारबाहीका सम्बन्धमा उठेका सवालबारे मुख्य अधिकृत झबिन्द्र भुसालले प्रष्ट पार्नुभएको थियो । फरक फरक समूह बनाइ विषयगत छलफल भएको कार्यक्रममा लैङ्गिक तथा महिलाका क्षेत्रका क्रियाशील विभिन्न सङ्घसंस्थाका ५७ जना सहभागी थिए ।

प्रतिक्रिया :