संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

मिडिया साक्षरता बढाऔँः प्रेस काउन्सिल अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमलाई मर्यादित बनाउन मिडिया साक्षरता (लिटिरेसी) मा सबैले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ । ‘पत्रकारितामा नयाँ पुस्ताको आगमन बढिरहेको छ, अनलाइनमा झन् बढी छ, यो पुस्ताकालागि आचारसंहितालगायतका विषयमा साक्षरता कार्यक्रम बढाउनुपर्ने देखिन्छ’– काउन्सिलद्धारा शुक्रबार आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षामा बोल्दै उहाँले भन्नुभयो ।

मिडिया साक्षरताको लागि सरकारले पर्याप्त स्रोत/साधन उपलब्ध गराउनुपर्ने बस्नेतको सुझाव थियो । ‘काउन्सिलले खासगरी नयाँ आउने अनलाइन मिडियाका सञ्चालक र पत्रकारमा केन्द्रित भई नियमितरूपमा आचारसंहिता अभिमुखीकरण अभियान थालेको हो–उहाँले भन्नुभयो ।’

सोही क्रममा विषय विज्ञका रूपमा आउनुभएका त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार विषयका सह–प्राध्यापक डा.कुन्दन अर्यालले काउन्सिलको पछिल्लो कदमको स्वागत गर्नुभयो । साथै उहाँले सञ्चारकर्मी आफैँ सक्षम नभई पत्रकारिता स्वच्छ नहुने धारणा राख्नुभयो । पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५ मा रहेको सम्पादकीय स्वतन्त्रतामा केन्द्रित भएर उहाँले आफ्नो प्रस्तुति राख्नुभयो ।

सम्पादकले आफूले लेखेको र आफ्नो मिडियाबाट छापिएका सबै कुराको जिम्मेवारी लिन सक्नुपर्ने उहाँले बताउनुभयो । पत्रकार आफैँ स्वतन्त्र हुनसके मात्र सम्पादकीय स्वतन्त्रता बच्ने भन्दै दबाब र प्रभावमा सम्पादक पर्न नहुने उहाँको सुझाव थियो ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरूमा उल्लेख प्रावधानबारे जानकारी दिनुभयो । उहाँले महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा उल्लेख प्रावधानहरूबारे जानकारी दिनुभएको हो ।

वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनाल र काउन्सिलका कर्मचारीको सहभागिता रहेको उक्त कक्षमा भौतिक रूपमा ३२ जना र जुम मार्फत १२ जनाले प्रशिक्षण लिनुभएको थियो । सहभागीमध्ये आवश्यक प्रक्रिया पुगेका अनलाइन सञ्चार माध्यमलाई प्रमाणपत्र तथा काउन्सिलले जारी गरेको आचारसंहिता लगायतका पुस्तक प्रदान गरिएको थियो ।

प्रतिक्रिया :