संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका तयारः छिट्टै कार्यान्वयनमा ल्याइने

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ छिट्टै कार्यान्वयनमा ल्याउने भएको छ । तयार भएको निर्देशिका हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मङ्गलबार उक्त जानकारी दिनुभएको हो । निर्देशिका हस्तान्तरण गर्दै काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष एवं सदस्य गोपाल बुढाथोकीले पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६)को दफा १५ लाई टेकेर सो निर्देशिका तयार पारिएको बताउनुभयो । उहाँले समाजका हरेक पक्ष र क्षेत्रप्रति पत्रकारिताजगत् जिम्मेवार हुनुपर्ने भएको भन्दै ज्येष्ठ नागरिकप्रति समाजको दृष्टिकोण सकारात्मक र सम्मानपूर्ण बनाउन भूमिका खेल्न ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका जारी गरिएको प्रष्ट पार्नुभयो ।

गत मङ्सिर ८ गते बसेको काउन्सिलको बोर्ड बैठकले ज्येष्ठ नागरिकका सम्बन्धमा नेपाली मिडियामा सम्मानजनक भाषाका लागि यससम्बन्धी निर्देशिका तयार गर्न सदस्यद्वय बुढाथोकी र ठाकुरप्रसाद बेलबासे तथा वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाललाई जिम्मेवारी दिएको थियो ।

निर्देशिकामा सञ्चार माध्यम र सञ्चारकर्मीले समाचार सामग्री प्रकाशन/प्रसारण गर्दा ध्यान दिनुपर्ने, विषय, शब्दावली, उखानटुक्का, ज्येष्ठ नागरिकको हेरचाह, पालनपोषण, अधिकार संरक्षण, सामाजिक संस्कार आदिका बारेमा उल्लेख गरिएको छ । सञ्चार माध्यमले ज्येष्ठ नागरिकसम्बन्धी समाचार वा सामग्री प्रकाशन/प्रसारण गर्दा समाजमा ज्येष्ठ नागरिकप्रति सकारात्मक भाव जगाउने, ज्येष्ठ नागरिकका अधिकारको संरक्षण, सम्वर्द्धन र सुविधाबारे सुसूचित गर्नुपर्ने विषय निर्देशिकामा प्रष्ट पारिएको संयोजक बुढाथोकीले जानकारी दिनुभयो । सञ्चार माध्यमहरू ज्येष्ठ नागरिकको मर्यादा, समाज र राष्ट्रका लागि ज्येष्ठ नागरिकको योगदानलगायतका विषयमा गम्भीर बन्नुपर्नेमा निर्देशिकाले प्रेरित गर्ने उहाँको भनाइ छ ।

यसै प्रसङ्गमा काउन्सिलको कार्यभार, कार्यक्षेत्र र दायर बढ्दै गएको भन्दै अध्यक्ष बालकृष्ण बस्नेतले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका तयार पार्ने टोलीलाई धन्यवाद दिनुभयो । उहाँले प्रविधिको बृहत्तर विकास, न्यु मिडियाको व्यापकता र सामाजिक सञ्जालको प्रयोगले काउन्सिलको दायरा बढाउँदै लगेकोले तयार भएको ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाले महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष बस्नेतले सञ्चार माध्यमले ज्येष्ठ नागरिकबारे सम्प्रेषण गर्ने सामग्री, व्यवहार र उनीहरूको सम्मान र अधिकार रक्षाका लागि तथा देशको संस्कृति सभ्यताको संरक्षणमा समेत यस निर्देशिकाले सघाउ पुर्‍याउने बताउनुभयो ।

निर्देशिका तयार पार्दा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, एजिङ नेपाल, सूचना तथा प्रसारण विभागलगायत सरोकारवाला सङ्घ/संस्थाको सुझाव सङ्कलन गरेको थियो ।

स्मरणीय छ, काउन्सिलले बालमैत्री सञ्चार निर्देशिका – २०७३, अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३ र महिला उत्तरदायी सञ्चार निर्देशिका – २०७६ जारी गरिसकेको छ ।

प्रतिक्रिया :