संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सामाजिक सञ्जाल व्यवस्थापनका सम्बन्धमा काउन्सिललाई विज्ञको सुझाव

युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्री र यसको नियमन तथा व्यवस्थापनसम्बन्धी विज्ञसँग भएको छलफलमा राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने सहभागीले सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा आज भएको कार्यक्रममा सम्बद्ध विज्ञ र जानकारहरूले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् ।

पत्रकार माधव चौलागाईँले सोसल मिडियालाई जिम्मेवारी बोध गराउनुपर्ने भन्दै काउन्सिलको पहिलो प्राथमिकता यस विषयमा जनचेतना फैलाउनु पर्ने धारणा राख्नुभयो ।

विज्ञ उज्ज्वल आचार्यले कसैको घरभित्र पसेर व्यक्तिगत कुरा सार्वजनिक गर्नु पत्रकारिताको नैतिकताभित्र नपर्ने बताउनुभयो । उहाँले मिडिया र सोसल मिडियाको समस्या फरक भएकाले नियामक निकायहरूबिच सहकार्य हुनु आवश्यक भएको बताउनुभयो ।

अधिवक्ता बाबुराम अर्यालले सोसल मिडिया र मिडियामा भिन्नता रहेको भन्दै अनुमतिबेगर खिचिएको भिडियो, यौनजन्य भिडियोलगायतका सामग्री पत्रकारिताको मान्यताभित्र नपर्ने स्पष्ट पार्नुभयो । काउन्सिलले सैद्धान्तिकरूपमा प्रष्ट भएर आ–आफ्नो कर्तव्य अघि बढाउन उहाँले सुझाव दिनुभयो ।

पत्रकार एवं सूचना प्रविधि विज्ञ विनोद भट्टराईले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै काउन्सिलको भूमिकाबारे प्रष्ट हुनुपर्ने बताउनुभयो । पत्रकारिताको न्यूनतम मूल्य–मान्यता कायम राख्नकै लागि भए पनि सामाजिक सञ्जालबाट दिइने सामग्रीको अध्ययन हुनुपर्ने उहाँको भनाइ थियो ।

इञ्जिनियर विरोध रिजालले इन्टरनेटको प्रयोगबाट विभिन्न एप्स र सञ्जालमा आउने अडियो/भिडियो पत्रकारिताभित्र नपर्ने उल्लेख गर्नुभयो । सामाजिक सञ्जालको आफ्नै मूल्य–मान्यता हुने भएकाले कुन कन्टेनमा रिपोर्टिङ्ग गर्ने भन्ने विषयले अर्थ लाग्ने उहाँले बताउनुभयो ।

पत्रकार घनेन्द्र ओझाले कसैको घरभित्र पसेर व्यक्तिगत कुरा सार्वजनिक गर्नु पत्रकारिताको नैतिकताभित्र नपर्ने भन्दै काउन्सिलले सामाजिक सञ्जाललाई हेर्नु नपर्ने बताउनुभयो । कसैले सञ्जालबाट गलत गरेमा सोही सञ्जालबाट बहिस्कृत हुने भन्दै उहाँले काउन्सिलले सञ्चारजगतलाई हेर्नुपर्ने बताउनुभयो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सोसल मिडियाबाट आउने अडियो–भिडियो सामग्रीहरूमा पत्रकारिता भए/नभएकोबारे बुझ्न र काउन्सिललाई सुझाव दिन छलफल राखिएको बताउनुभयो । इन्टरनेटबाट दिइने सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिल गभ्मीर भएको भन्दै उहाँले सल्लाह, सुझावलाई ग्रहण गर्दै राज्यका निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले पत्रकार र मिडिया के हो भन्ने बुझ्न आवश्यक भएको भन्दै सोसल मिडियाबाट पत्रकारिताको नाममा गरिँदै आएका अभ्यासको समीक्षा गर्ने समय आएको बताउनुभयो । भावनाको व्यापार पत्रकारिताभित्र नपर्ने भन्दै स्वतन्त्रताको उपभोगसँगै कर्तव्य पालना गर्नुपर्ने उहाँको भनाइ थियो ।

बोर्ड सदस्य शरदप्रसाद अधिकारीले काउन्सिलले आचारसंहिताको परिधिभित्र रहेर स्वस्थ पत्रकारिताको विकासको लागि मिडियालाई नियमन र निर्देशन गर्ने गरेको बताउनुभयो ।

मुख्य अधिकृत झबिन्द्र भुसालले प्रविधिको विकाससँगै पत्रकारिताको क्षेत्र पनि फराकिलो बन्दै गएकाले समस्याहरू बढेको बताउनुभयो । उहाँले सामाजिक सञ्जाललगायत इन्टरनेटका माध्यमबाट प्रकासन हुने सामग्रीलाई पत्रकारिता भनेर अङ्गिकार गर्ने वा नगर्ने भन्ने विषयमा अन्यौलता रहेको बताउनुभयो ।

वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले सहभागीबाट आएका सल्लाह र सुझावबाट युट्युबलगायत सामाजिक सञ्जाल र अनलाइन मिडियालाई व्यवस्थित गर्ने विषयमा गृहकार्य गर्न सहज हुने बताउनुभयो ।

उप–प्रशासकीय अधिकृत रामशरण बोहराले सामाजिक सञ्जालका नाममा बढ्दो बेथिति रोक्न काउन्सिलले प्रयास गरिरहेको बताउनुभयो ।

 

प्रतिक्रिया :