संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालको ५२ औँ वार्षिकोत्सवको अवसरमा पुरस्कृत हुनेहरूको विवरण

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार
रु. एक लाख ५१ हजार राशी
भारतदत्त कोइराला, ललितपुर – प्रेस काउन्सिल नेपालका पूर्व सदस्य भारतदत्त कोइरालाको जन्म सन् १९४२ फेब्रुअरी २ तारेखमा ललितपुरको खुमलटारमा भएको हो । न्युजपेपर मेनेज्मेन्ट विशेष कोर्ष (जर्मनी) र पत्रकारितामा पोष्ट ग्राएजुएट (नयाँदिल्ली) सक्नुभएका कोइरालाले प्रारम्भिक तथा स्नातक तहसम्मको औपचारिक शिक्षा सेन्ट जेभिएर तथा त्रिभुवन विश्वविद्यालयबाट लिनुभएको हो ।
चिफ रिपोर्टरको रुपमा सन् १९६५ मा दि राइजिङ नेपालबाट पत्रकारिता थालनी गर्नुभएका कोइराला वि.सं. २०३४ सालमा गोरखापत्र दैनिकको प्रधान सम्पादक र वि.सं. २०३८ सालमा गोरखापत्र संस्थानको अध्यक्ष एवम् महाप्रवन्धकमा नियुक्त हुनुभएको थियो । उहाँले नेपाल प्रेस इन्स्टिच्युटको निर्देशकको रूपमा सन् १९८६ मा नियुक्त भइ १४ वर्षसम्म सेवा गर्नुभयो । त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागको भाइस चान्सलरका साथै रत्नराज्यलक्ष्मी क्याम्पसको विषयगत समितिको अध्यक्षको रुपमा १० वर्ष सेवा गर्नुभयो । उहाँ मिडियासँग सम्बन्धित क्षेत्रीय संगठन (एएमआइसी), (आइसीएफजे), प्रेस फाउण्डेसन अफ एसिया, सामुदायिक प्रसारण विश्व संगठनलगायत प्रेस काउन्सिल नेपालमा समेत आबद्ध रहनुभएको थियो । वरिष्ठ पत्रकार कोइरालाले मंगोलिया, भुटान, श्रीलङ्का, अफगानिस्तान, फिलिपिन्स, इरान, कोरिया, जर्मनी, संयुक्तराज्य अमेरिकालगायत एसिया, युरोपका थुप्रै मुलुकको भ्रमण गर्नुभएको छ । नेपाल टेलिभिजन, प्रेस इन्सिच्युट स्थापना साथै सामुदायिक रेडियोको स्थापनामा उहाँको उल्लेख्य योगदान रहेको छ । नेपाली पत्रकारिता र आमसञ्चार क्षेत्रमा चारदशक लामो अनवरत योगदान गरेबापत् एसियाको नोवेल पुरस्कार मानिएको रोमन म्यागसेसे पुरस्कारबाट सन् २००२ मा सम्मानित हुनुभएको थियो । पत्रकारितामा उत्कृष्ट भएकाले पत्रकारिताका लागि अन्तर्राष्ट्रिय केन्द्र युएसले उहाँलाई अन्तर्राष्ट्रिय प्रेस फेलोसिपबाट सन् १९९९ मा सम्मानित गरेको थियो । नेपाली प्रेस जगत्का मूर्धन्य व्यक्तित्व कोइरालाको योगदानको कदर गर्दै प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार, २०७८ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार
रु. एक लाख १० हजार राशी
वरिष्ठ पत्रकार बद्री विनोद खनाल ‘प्रतीक’, कास्की- वरिष्ठ पत्रकार बद्री विनोद खनाल ‘प्रतीक’ को जन्म २००९ साल मङ्सिर १८ गते कास्कीको रुपा गाउँपालिका वडा नं १ मा भएको हो । पत्रकारितामा १५ वर्ष अध्यापन गराउनुभएका ‘प्रतीक’ले भूगोल विषयमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले मातृभूमि र आव्हान साप्ताहिकबाट २०३१ सालदेखि पत्रकारिता गर्र्नुभएको हो । सगरमाथा दैनिक, एभरेष्ट हेराल, दृष्टि साप्ताहिक, छलफल साप्ताहिक र जनआस्था साप्ताहिकको कार्यानुभव बटल्नुुभएका ‘प्रतीक’का ३ वटा साहित्यिक कृति (उपन्यास) प्रकाशित भएका छन् । २०५४ सालदेखि पोखरा हटलाइन दैनिकको सम्पादक रहँदै आउनुभएका प्रतीक २०७५ सालमा नेपाल सरकारबाट वरिष्ठ पत्रकारबाट सम्मानित हुनुभएको थियो । प्रेस स्वतन्त्रताको सेनानी सम्मान, कृतिस्मृति पत्रकारिता सम्मान, पोखरा पत्रकारिता सम्मानलगायत दर्जनौँ पुरस्कारबाट सम्मानित उहाँ विशेषतः साहित्यिक पत्रकारितामा रुचि राख्नुहुन्छ । सुन्दर नगरी पोखराबाट २०३१ सालदेखि पत्रकारिता र समाजसेवामार्फत महत्वपूर्ण योगदान गरेबापत उहाँलाई प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार–२०७८ प्रदान गरिएको हो ।

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार
हिमालय टाइम्स दैनिक- काठमाडौँको मध्यबानेश्वरमा अवस्थित इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित हिमालय टाइम्स दैनिकको स्थापना २०५२ साल पुस १० गते भएको हो । आर्थिक, सामाजिक, राजनैतिक तथा समाचारमूलक, मनोरञ्जनात्मक, जनचेतनामूलक सामग्री प्रकाशन गर्दै पत्रिकाको माध्यमबाट सूचना सम्प्रेषणमा निभाएको भूमिकाको कदर गर्दै हिमालय टाइम्स दैनिकलाई प्रेस काउन्सिल आचारसंहिता पुरस्कार–२०७८ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार
लोकबहादुर चौधरी (लक्की) कैलाली, (गोरखापत्र दैनिक–थारु भाषा)

लोकबहादुर चौधरी –लक्की) को जन्म २०३५ साल कार्तिक १६ गते कैलालीको रामपुरमा भएको हो । समाजशास्त्र, सञ्चार र राजनीतिशास्त्र विषयमा स्नातकोत्तर सक्नुभएका चौधरी अङ्ग्रेजीमा स्नातक हुनुहुन्छ । गोरखापत्र दैनिकको बहुभाषा पृष्ठ नयाँ नेपालको ८ वर्षसम्म पृष्ठ संयोजन गर्नुभएका चौधरी कैलालीबाट २०६० सालदेखि प्रकाशित थारु भाषाको दैनिक पत्रिका हामरपाहुरको समेत सम्पादन गर्नुहुन्छ । उहाँले पत्रकारितामा थारु भाषाको माध्यमबाट भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा महत्वपूर्ण भूमिका निभाउँदै आउनुभएको छ । प्रेस चौतारी, नेपाल पत्रकार महासंघ, कैलाली जनपुस्तकालय, सुदूरपश्चिम साहित्य समाज, सञ्चार फाउण्डेसनलगायत पेसागत संघसंस्थामा आबद्ध रही दर्जन बढी पेसासम्बद्ध तालिमहरू प्राप्त गर्नुभएको छ ।
उहाँका सहीदान, तिहुवार, अन्तर्भाव, नेन्धार, हँसाउनी लगायत थारु भाषाका पुस्तकहरू प्रकाशित भैसकेका छन् । थारु भाषाको उत्थान एवम् संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएकाले उहाँलाई प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार, २०७८ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार
अन्र्तध्वनि साहित्यिक त्रैमासिक, (सम्पादक–पुरुषोत्तम खनाल, दाङ)
अन्र्तध्वनि साहित्यिक त्रैमासिक पत्रिका २०२४ सालदेखि दाङ्बाट नियमित प्रकाशित हुँदै आएको छ । विगत १६ वर्षदेखि राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको सम्पादनमा प्रकाशित अन्र्तध्वनि त्रैमासिकले राप्ती क्षेत्रको साहित्य, कला, संस्कृतिको प्रचारप्रसार एवम् संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ४ दशक लामो शिक्षण सेवाको अनुभव हासिल गर्नुभएका खनाल गोरक्ष मावि दाङ, लेखक संघ दाङ, भेरी साहित्य समाज बाँकेबाट सम्मानित एवम् पुरस्कृत छ । साहित्यिक पत्रकारिताका माध्यमबाट समाजमा पु¥याएको योगदानस्वरूप अन्र्तध्वनि त्रैमासिक सम्पादक पुरुषोत्तम खनाललाई प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार, २०७८ प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार
 विमल गौतम, बाग्लुङ- विमल गौतम लोकान्तर डटकम अनलाइन न्युजपोर्टलका सम्पादक हुनुहुन्छ । सन् २००० मा राजधानी दैनिकको संवाददाताको रूपमा पत्रकारिता थालनी गर्नुभएका गौतम दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । सन् २००५ मा स्नातकोत्तरको अध्ययन पूरा गर्नुभएका गौतमले कान्तिपुर टेलिभिजन, नेपाल वन टेलिभिजन, बिबिसी नेपाली सेवामा रिपोर्टिङ एवम् सम्पादनको जिम्मेवारीमा अनुभव हासिल गर्नुको साथै जेभिएर इन्टरनेशनल कलेज, काठमाडौँ विश्वविद्यालय र न्यु समिट कलेजमा पत्रकारिता विषय अध्यापनसमेत गर्नुभएको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट आयोजना भएका पत्रकारितासम्बन्धी तालिमहरूमा प्रशिक्षकको रुपमा ४०० बढी प्रशिक्षर्थीहरूलाई प्रशिक्षण गर्नुभएका गौतमको सहलेखनमा ‘मास कम्युनिकेसन एण्ड जर्नालिज्म’ राजै, शाही आयोगको स्थापना र खारेजी लगायत कृतिहरू प्रकाशित छन् ।
कलमका माध्यमबाट पु¥याउनुभएको योगदानस्वरूप उहाँलाई प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार, २०७८ प्रदान गरिएको छ ।

दुर्गालाल केसी, दाङ- दुर्गालाल केसीको जन्म २०४० साल मङ्सिर २७ गते रुकुमको बाँफिकोटमा भएको हो । दुई दशकदेखि पत्रकारितामा क्रियाशील केसीले अङ्ग्रेजीमा स्नातकोत्तर र कानुनमा एलएलबी सक्नुभएको छ । दाङलाई कर्मथलो बनाउनुभएका केसीसँग युगबोध दैनिक, दृष्टि साप्ताहिक, रेडियो मध्यपश्चिम, दिगो असल शासन, प्रयास, दि गार्डेनलगायत म्यागेजिनको सम्पादन एवम् रिपोर्टिङ् अनुभव रहेको छ । विगत १३ वर्षदेखि कान्तिपुर दैनिकका लागि उपसम्पादकको जिम्मेवारीमा रिपोर्टिङ् गर्दै आउनुभएको छ । केसीको लेखनमा जीवन बदल्नेहरु, फ्रि एट फास्ट पुस्तक प्रकाशित छन् । पत्रकारितासम्बन्धी दर्जन बढी तालिम लिनुभएका केसी शैक्षिक पत्रकारिता पुरस्कार–२०६८, यदु स्मृति पुरस्कार–२०७२, प्रेस चौतारी योगदान पुरस्कार–२०७४, टिकादेवी विकास पत्रकारिता पुरस्कार–२०६५ लगायत पुरस्कारहरुबाट पृरस्कृत हुनुभएको छ । मोफसलमा रहेर खोज पत्रकारिताको माध्यमबाट सामाजिक जागरणमा उल्लेखनीय योगदान दिनुभएकोले केसीलाई प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार, २०७८ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार
रमेश ढुङ्गेल, रामेछाप- रमेश ढुङ्गेलको जन्म रामेछापको खाँडादेवीमा २०३३ सालमा भएको हो । नेपाली र राजनीतिशास्त्रमा स्नातक गर्नुभएका ढुङ्गेलले २०५३ सालदेखि पत्रकारिता सुरु गर्नुभएको हो । हिमालय टाइम्स राष्ट्रिय दैनिकको कार्य अनुभव सँगाल्नुभएका ढुङ्गेल इमेज च्यानल टेलिभिजनमा कार्यरत हुनुहुन्छ । पत्रकारितामा पु¥याउनुभएको योगदान स्वरुप ढुङ्गेललाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।
बासुदेव शर्मा (बबिन)- बासुदेव शर्मा (बबिन) को जन्म सिन्धुपाल्चोकको कुबिन्डे ९ मा २०४१ सालमा भएको हो । १८ वर्षदेखि पत्रकारितामा सक्रिय शर्मासँग जनदिशा दैनिक, रेडियो मिर्मिरे, रेडियो नेपाल, मैत्री एफएम र नयाँ पत्रिका दैनिकमा काम गरेको अनुभव छ । उहाँ नेपाल टेलिभिजन (टक सो सञ्चालक) र समाचार दैनिक डटकमको (सम्पादक) हुनुहुन्छ । पत्रकारितामा पु¥याउनुभएको योगदान स्वरुप उहाँलाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार– २०७८ प्रदान गरिएको छ ।
 चुडामणि लिम्बु, झापा- चुडामणि लिम्बुको जन्म झापाको शनिश्चरेमा भएको हो । २०२८ सालमा जन्मनुभएका लिम्बुले २०६० सालदेखि पत्रकारिता सुरु गर्नुभएको हो । नेपाल पत्रकार महासंघ झापाको कोषाध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को जिल्ला अध्यक्ष, इमेज टेलिभिजन, प्रेस संगठन नेपालको प्रदेश सदस्यको अनुभव सँगालेका लिम्बु रेडियो भिजन एफएमको सह–सम्पादक हुनुहुन्छ । पत्रकारितामा पु¥याउनुभएको योगदानस्वरुप उहाँलाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।
रामानन्द गुप्ता, सिराह-रामानन्द गुप्ताको जन्म सिराहको लाहानमा २०१८ सालमा भएको हो । ४ दशकदेखि पत्रकारितामा क्रियाशील गुप्तासँग देशान्तर साप्ताहिक, नेपाल टेलिभिजन संवाददाता, हिमालय टाइम्स, तराई टेलिभिजनमा काम गरेको अनुभव छ । २०५९ सालमा नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष हुनुभएका गुप्ता हाल पत्रकार महासङघ प्रदेश २ को उपाध्यक्ष हुनुहुन्छ । पत्रकारितामा पु¥याउनुभएको योगदान स्वरुप उहाँलार्ई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।
माधव नेपाल, सिन्धुपाल्चोक- माधव नेपालको जन्म सिन्धुपाल्चोक जिल्लामा २०३४ सालमा भएको हो । २ दशकदेखि पत्रकारितामा संलग्न नेपालसँग राजधानी दैनिक, सिन्धु सन्देश साप्ताहिक, नयाँ प्रयास, एभिन्युज टेलिभिजन, न्युज ट्वान्टीफोर टेलिभिजनलगायत दर्जनौँ सञ्चार माध्यममा काम गरेको अनुभव छ । पत्रकारितामा स्नातकोत्तर अध्ययनरत नेपाल हाल जनप्रशासन पाक्षिकको सम्पादक हुनुहुन्छ । पत्रकारितामा पु¥याउनुभएको योगदान स्वरुप उहाँलार्ई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।
बिन्दुकान्त घिमिरे, लमजुङ-बिन्दुकान्त घिमिरेको जन्म २०२६ सालमा लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका (तत्कालिन जीता गाविस )मा भएको हो । २०५१ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न घिमिरेले पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएको छ । नेपाल प्रेस युनियनमा २०५७ देखि २०६७ सम्म केन्द्रिय सदस्य र संसदीय मामिला पत्रकार समाजको संस्थापक घिमिरेसँग साप्ताहिक, दैनिक पत्रिका, रेडियो, टेलिभिजन अनलाईन गरी तीन दर्जनभन्दा बढी संस्थाको कार्य अनुभव छ । घिमिरे सौर्य दैनिकको वरिष्ठ उपसम्पादक, न्युज नेपाल टेलिभिजनमा विश्लेषक र खबरहव अनलाइनको स्तम्भकार हुनुहुन्छ । पत्रकारितामा पु¥याउनुभएको योगदान स्वरुप उहाँलार्ई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

गोविन्दप्रसाद चौलागाईँ, रौतहट- गोविन्दप्रसाद चौलागाईँको जन्म २०३३ सालमा रामेछापको गुम्सी भदौरेमा भएको हो । ३ दशकदेखि पत्रकारितामा क्रियाशील चौलागाईँ २०६१ सालदेखि रौतहट टाइम्स साप्ताहिकको प्रकाशक÷सम्पादक हुनुहुन्छ । २०७६ मा संविधान दिवसको अवसरमा जनसेवा–चतुर्थ पदकबाट सम्मानित हुनुभएका उहाँको विभिन्न विषयवस्तुमा पुस्तकहरु प्रकाशन भैसकेका छन् । प्रेस काउन्सिल नेपालको पूर्वसदस्य समेत रहनुभएका चौलागाई २०६३ सालमा पत्रकारिता क्षेत्रबाट प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मानित हुनुभएको थियो । सञ्चारसम्बन्धी संघ÷संस्थाद्वारा पुरस्कृत र सम्मानित हुनुभएका चौलागाईँ नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाको पूर्व अध्यक्ष हुँदै हाल पत्रकार महासंघको केन्द्रिय सचिव हुनुहुन्छ । पत्रकारितामा पु¥याउनुभएको योगदान स्वरुप उहाँलार्ई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार
तिर्थ जैसी, कैलाली- पत्रकार तिर्थ जैसीको जन्म २०५० सालमा कैलाली जिल्लामा भएको हो । २०६५ सालदेखि पत्रकारितामा संलग्न जोशीलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

जगन्नाथ दुलाल, सिन्धुपाल्चोक- पत्रकार जगन्नाथ दुलालको जन्म सिन्धुपाल्चाके जिल्लाको मेलम्चीमा २०४८ सालमा भएको हो । २०६३ सालदेखि पत्रकारिता थाल्नुभएको दुलालसँग हिमालय टेलिभिजन, माउन्टेन टेलिभिजन, कारोबार दैनिक र बाह्रखरी डटकममा काम गरेको अनुभव छ । उहाँ हाल न्युज ट्वान्टीफोर टेलिभिजनको प्रमुख समाचारदाता हुनुहुन्छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत उहाँलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

रमेश खतिवडा, दोलखा-पत्रकार रमेश खतिवडाको जन्म दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा २०४२ सालमा भएको हो । २०६२ सालदेखि पत्रकारिता थाल्नुभएका खतिवडासँग इमेज टेलिभिजन, नेपाल समाचारपत्र, हिमाल पत्रिकामा काम गरेको अनुभव छ । उहाँ हाल नागरिक दैनिकको संवाददाता हुनुहुन्छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत उहाँलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

शिवकुमार रिजाल (काशी), मकवानपुर-पत्रकार शिवकुमार रिजाल (काशी) को जन्म मकवानपुर जिल्लामा २०४१ सालमा भएको हो । २०५८ सालदेखि पत्रकारिता गर्दै आउनुभएका रिजाल रेडियो मनहरी, गोरखापत्रको जिल्ला संवाददाता र थाहा डटकम साप्ताहिकको सम्पादक हुनुहुन्छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत उहाँलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

चन्द्रकला क्षेत्री (भगवति), गुल्मी- फोटो पत्रकार चन्द्रकला क्षेत्री (भगवती) को जन्म गुल्मी जिल्लामा भएको हो । दुई दशकदेखि पत्रकारितामा सक्रिय क्षेत्रीलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

सुशील अर्याल, काठमाडौँ- पत्रकार सुशील अर्यालको जन्म गोरखा जिल्लाको गोरखा नगरपालिकामा भएको हो । २०५६ सालदेखि पत्रकारितामा संलग्न अर्यालसँग सगरमाथा एफएम, च्यानल नेपाल, नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन र हिमालय टेलिभिजनमा काम गरेको अनुभव छ । उहाँ हाल न्युज पोलार डटकमको प्रधान सम्पादक हुनुहुन्छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत उहाँलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

देवचन्द्र भट्ट, नुवाकोट- पत्रकार देवचन्द्र भट्टको जन्म २०३७ सालमा नुवाकोटमा भएको हो । २ दशकदेखि पत्रकारितामा संलग्न भट्टलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

देवेन्द्र बस्नेत, दाङ- पत्रकार देवेन्द्र बस्नेतको जन्म २०४२ सालमा दाङमा भएको हो । डेढ दशकदेखि पत्रकारितामा संलग्न बस्नेत नागरिक दैनिकको दाङ संवाददाता र रेडियो स्वर्गद्धारी एफएममा कार्यरत हुनुहुन्छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत उहाँलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

कृष्णचन्द्र (केसी) लामिछाने पर्सा- कृष्णचन्द्र (केसी) लामिछाने को जन्म पर्सामा भएको हो । दुइ दशकदेखि पत्रकारितामा सक्रिय लामिछाने हाल नेपाली पब्लिक डटकमको प्रधान सम्पादक हुनुहुन्छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत उहाँलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

मेघराज खड्का, रुकुम- पत्रकार मेघराज खड्काको जन्म २०४६ सालमा रुकुममा भएको हो । २०६४ सालदेखी पत्रकारितामा क्रियाशील खड्का हाल आहा सञ्चार साप्ताहिकको सम्पादक हुनुहुन्छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत उहाँलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

जीवन सेजुवाल, मुगु- पत्रकार जीवन सेजुवालको जन्म २०३९ सालमा मुगु जिल्लामा भएको हो । दुई दशकदेखि पत्रकारितामा क्रियाशील सेजुवालसँग नेपाल समाचारपत्र, अन्नपूर्ण पोष्ट, एपिवान टेलिभिजन र रेडियो सुर्योदयमा काम गरेको अनुभव छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत उहाँलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

एलपि देवकोटा, जुम्ला- पत्रकार एलपि देवकोटाको जन्म २०४७ सालमा जुम्ला जिल्लामा भएको हो । २०६१ सालमा रेडियो नेपालको नमस्ते नेपाल र आजको सन्दर्भमा समाचार रेकर्ड गराइ पत्रकारिता सुरुवात गरेका देवकोटासँग पत्रकारिता गरेको डेढ दशक लामो अनुभव छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत उहाँलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

उर्वशी न्यौपाने (बस्नेत), काठमाडौँ- पत्रकार उर्वशी बस्नेत (न्यौपाने) को जन्म काठमाडौँमा भएको हो । हाल रेडियो सगरमाथा एफएममा कार्यरत बस्नेतसँग पत्रकारिताको २ दशक लामो अनुभव छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत उहाँलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

घनश्याम खड्का,भक्तपुर- पत्रकार घनश्याम खड्काको जन्म भक्तपुर जिल्लाको दधिकोटमा भएको हो । २ दशकदेखि पत्रकारितामा संलग्न खड्का हाल कान्तिपुर दैनिकको वरिष्ठ उपसम्पादक हुनुहुन्छ । पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान दिएबापत उहाँलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०७८ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार

करण ताम्राकार, डडेल्धुरा- करण ताम्राकारको जन्म २०४४ साल असार ११ गते अमरगढी–७, डडेल्धुरामा भएको हो । एक दशकदेखि सक्रिय पत्रकारिता गर्दै आउनुभएका ताम्राकारले बिएड सम्मको अध्ययन पूरा गर्नुभएको छ । जिल्ला संवाददाताको रुपमा २०६८ सालदेखि नयाँपत्रिका दैनिक र २०७० सालदेखि राससको लागि रिपोर्टिङ गर्दै आउनुभएका ताम्राकार नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा र सुदूरपश्चिम प्रदेश समितिको सचिव हुनुहुन्छ । फिचर लेखन, द्वन्द्व रिपोर्टिङ र शिक्षा पत्रकारितामा प्रशिक्षक प्रशिक्षण (त्इत्) तालिम लिइसक्नुभएका ताम्राकारलाई एक दशक लामो पत्रकारिताको माध्यमबाट दुर्गममा बसेर पु¥याउनुभएको योगदानको कदरस्वरुप प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार, २०७८ प्रदान गरिएको छ ।

अनन्त प्रसाद मेहता, (अनन्त अनुराग), सप्तरी- अनन्त अनुरागको जन्म २०३९ साल साउन १७ गते सप्तरीको माहुलीमा भएको हो । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील अनन्त पत्रकारितामा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ । गोरखा एफएम, हेडलाइन एण्ड म्युजिक एफएम, नेपाल वन टेलिभिजनमा कार्यक्रम उत्पादन तथा सम्पादनको अनुभव हासिल गर्नुभएका अनन्तले एबिसी टेलिभिजनमा कार्यक्रम उत्पादन एवं प्रस्तोताको रुपमा काम गर्दै आउनुभएको छ । पत्रकारिता अध्ययन एवं तालिमको सिलसिलामा थाइल्याण्ड, चीन, भारतको भ्रमण गर्नुभएका मेहताले थाई टेलिभिजनमा समेत काम गर्नुभएको छ । डकुमेन्ट्री निर्माण, भिडियो इडिटिङ्मा विशेष दख्खल राख्नुहुने मेहतालाई पत्रकारितामा पु¥याएको योगदानस्वरुप प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार, २०७८ प्रदान गरिएको छ ।

 रोहित राई, सुनसरी- रोहित राईको जन्म झापाको जलथलमा २०३९ सालमा भएको हो । २०६० सालदेखि पत्रकारिता थाल्नुभएका राईसँग पत्रकारिता गरेको डेढ दशक लामो अनुभव छ । उहाँ हाल नागरिक दैनिकमा कार्यरत हुनुहुन्छ । पत्रकारिताको माध्यमबाट पु¥याउनुभएको योगदानको कदरस्वरुप उहाँलाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार, २०७८ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार
अञ्जु कार्की, मोरङ्- अञ्जु कार्कीको जन्म २०२६ साल फागुन २० गते मोरङ्मा भएको हो । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील अञ्जुले स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ । यसबिच, एक दशक इमेज च्यानेलमा भिडियो सम्पादन, सन् २०१५ देखि २०१८ सम्म टिभी टुडे र यसपछिका ३ वर्ष जनता टेलिभिजनमा समाचार सम्पादन गर्नुभएको छ । हाल सौर्य दैनिकको स्तम्भकार हुनुहुन्छ । टेलिभिजन पत्रकारिता, भिडियो सम्पादन तथा सम्पादकीय सम्पादनमा विशेष दख्खल राख्नुहुने कार्कीले पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएकोले प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, २०७८ प्रदान गरिएको छ ।

जमुना वर्षा शर्मा, कास्की- जमुना वर्षा शर्माको जन्म २०३८ साल वैशाख २६ गते बाग्लुङमा भएको हो । पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर गर्नुभएकी शर्माले २०५५ सालदेखि धवलप्रभात साहित्यिक मासिकबाट पत्रकारिता थालनी गर्नु भई कास्कीस्थित माछापुच्छ«्रे एफएम, पोखरापत्र, पोखरा एक्सप्रेस दैनिकको रिपोर्टिङ, सम्पादनको अनुभव संगाल्नुभएको छ । उहाँ नेपालको पहिलो महिला केन्द्रित अनलाइन महिला खबर, देश सञ्चार, राष्ट्रिय समाचार समितिको कास्की संवाददाता, पोखरा एक्सप्रेस अनलाइनको सम्पादक, रेडियो जननीमा कार्यरत हुनुहुन्छ । सञ्चारिका समूह गण्डकी प्रदेशको निर्वतमान अध्यक्ष, पर्यटन पत्रकार महासंघको केन्द्रीय सचिव र नेपाल पत्रकार महासंघ कास्कीको उपाध्यक्ष पदमा रहेर आफ्नो भूमिका र जिम्मेवारी निभाउँदै आउनुभएको छ । जिविस कास्कीबाट जिल्ला उत्कृष्ट पत्रकार–२०७१, एफएनजे कास्कीबाट स्व. टंकदेवी स्मृति पत्रकारिता पुरस्कार–२०७४, राससबाट प्रदेश उत्कृष्ट सम्वाददाता–२०७६, पर्वतीय पत्रकार पुरस्कार–२०७७ लगायत दर्जन बढी सम्मान र पुरस्कार प्राप्त गरिसक्नुभएको छ । उद्घोषण, भाषणकलामा विशेष दख्खल राख्ने शर्माले सामाजिक न्याय र समानताका लागि पत्रकारितामार्फत महिला सशक्तिकरणमा खेलेको भूमिकाको कदर गर्दै प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, २०७८ प्रदान गरिएको छ ।

 रुपा गहतराज, बाँके- नेपालगञ्ज कार्यथलो बनाई डेढ दशकदेखि पत्रकारिता गर्दै आउनुभएकी रुपा गहतराज सन् २०१८ यता कान्तिपुर दैनिकमा रिपोर्टिङ् गर्नुहुन्छ । सामुदायिक रेडियो भेरी आवाजबाट प्रसारण हुने कार्यक्रम हेपिएका आवाजको उत्पादन तथा प्रस्तोताको रुपमा सन् २००६ बाट पत्रकारिता थालनी गर्नुभएकी रुपाले स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएको छ । ५ वर्षको रेडियो अनुभव संगालेर सन् २००९ देखि २०१४ सम्म गोरखापत्र दैनिकको बाँकेबाट रिपोर्टिङ् गर्दै छापामाध्यमको अनुभव समेत हासिल गर्नुभएको छ । अवधि, हिन्दी भाषामा विशेष दख्खल राख्ने रुपाले नेपाल प्रेस इन्स्टिच्युट, सञ्चारिका समूह, वातावरण पत्रकार समूह, फ्रिडम फोरमलगायत संस्थाबाट विट रिपोर्टिङ, द्वन्द्व र हिंसा, महिला नेतृत्व, रेडियो पत्रकारितासम्बन्धी तालिमहरु लिनुभएको छ । रेडियो र छापा पत्रकारिताको माध्यमबाट पु¥याएको योगदानको कदरस्वरुप उहाँलाई प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, २०७८ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार
महेन्द्रराज सिंह, वरिष्ठ प्रशासन सहायक-
२०७१ साल असार २३ गते प्रशासन सहायक पदमा प्रेस काउन्सिल नेपालको सेवा प्रवेश गर्नुभएका महेन्द्रराज सिंहले रत्नराज्यलक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्नातक तह उतीर्ण गर्नुभएको छ ।प्रवेशिका परीक्षापछि २०५६ सालदेखि सक्रिय पत्रकारिता गर्नुभएका सिंहसँग एक दशक लामो पत्रकारिता अनुभव रहेको छ । गोरखापत्र दैनिकको लागि नेपालगञ्जबाट रिपोर्टिङ् गर्नुको साथै उज्यालो, साताको परिचर्चा साप्ताहिक बाँके र जाजरकोट सन्देश साप्ताहिकको सम्पादक रही दुर्गममा पत्रकारिताको अभ्यास गर्नुभएका सिंहमाथि पत्रकारिता गरेकै कारण विद्रोही समूहबाट २०६२ सालमा १२ दिनपछि अपहरणमुक्त गरिएको थियो । जिल्ला प्रशासन कार्यालय जाजरकोटले माघ १९ पछिका अङ्कहरूसहित तारेखमा बोलाएर सङ्कटकाल हटिसकेपछि उहाँलाई २०६२ साल बैशाख २१ र २३ गते २ दिन लिखित स्पष्टीकरण सोधिएको थियो । २०६३ फागुन ११ गते आन्दोलनकारी समूहले नेपालगञ्जको त्रिभुवनचोकमा गम्भीर घाइते बनाइ डिजिटल क्यामेरा, मोबाइल, रातो प्रेस कार्ड र पर्सलगायत सामानहरू लुटेका थिए ।वरिष्ठ प्रशासन सहायकको रूपमा प्रेस काउन्सिल सेवामा कार्यरत सिंहलाई कार्यकुशलता र अनुभवको कदर गर्दै प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार–२०७८ बाट पुरस्कृत गरिएको छ ।

कुशल अर्याल, मिडिया अनुगमनकर्ता- मिडिया अनुगमनकर्ता वरिष्ठ साहयक कुशल अर्यालको जन्म वि.सं २०५० साल पुस १९ गते पाल्पाको निस्दीमा भएको हो । स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका अर्यालसँग पाल्पा समाचारपत्र, सामुदायिक रेडियो रामपुर एफएम, दृष्टि साप्ताहिकलगायत मिडियामा कार्य गरेको अनुभव छ । उहाँ गीत सङ्गीत नृत्य, साहित्य र सामाजिक कार्यमा पनि रुची राख्नुहुन्छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युवा रेडक्रस, राष्ट्रिय युवा अभियान, शान्ति सम्वृद्धि र दिगो विकासका लागि मानवीय कार्य (ह्याप्स) लगायत सामाजिक संघसंस्थामा आबद्ध रही सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । २०७३ फागुन १८ गते काउन्सिल सेवा प्रवेश गर्नुभएका अर्यालले मिडिया अनुगमन तथा उजुरी व्यवस्थानलगायत कार्यालयले तोकेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोले प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार, २०७८ प्रदान गरिएको हो ।

प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार
मदनकृष्ण सिलवाल, वरिष्ठ कम्प्युटर अपरेटर- वरिष्ठ कम्प्युटर अपरेटर मदनकृष्ण सिलवाल ०७४।११।०९ गतेदेखि काउन्सिल सेवामा कार्यरत हुनुहुन्छ । उहासँग सौर्य दैनिक, सहारा, प्रष्फुटन, अपि सैपाल साप्ताहिक, रोशी एफएम, एबिसी एफएमलगायत मिडिया प्रस्तोता तथा कार्यक्रम उत्पादनको अनुभव रहेको छ । कम्प्युटर विषयमा विशेष दख्खल राख्ने सिलवालले काउन्सिलमा रहेर प्रशासनिकलगायत तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्ने गरेकाले प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार, २०७८ प्रदान गरिएको छ ।

राजन सिंह, मिडिया अनुगमनकर्ता- राजन सिंहको जन्म २०५४ साल माघ १५ गते जाजरकोटमा भएको हो । मिडिया अनुगमनकर्ताको रूपमा २०७५ बैशाख २ गते प्रेस काउन्सिल नेपालको सेवा प्रवेश गर्नुभएका सिंहले पत्रकारितामा स्नातक गर्नुभएको छ । उहाँ फोटोग्राफी तथा कम्युटरमा विशेष दख्खल राख्नुहुन्छ । पत्रपत्रिका व्यवस्थापन प्रणाली, मिडिया अनुगमन, अनलाइन सूचीकरणलगायत कार्यालयले तोकेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोले सिंहलाई प्रेस काउन्सिल प्रोत्साहन पुरस्कार, २०७८ प्रदान गरिएको छ ।

 

 

प्रतिक्रिया :