संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

समाचारमा सभ्य, मर्यादित र शिष्ट भाषाको प्रयोग गर्न काउन्सिलको अपिल

काठमाडौँ ।

पछिल्लो राजनीतिक घटनाक्रममा दल तथा नेताहरूबाट प्रयोग भएका भनिएका भाषा, शब्द, आन्दोलनका नारालगायतका विषयमा प्रकाशित/प्रसारित समाचारहरूप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ । काउन्सिलले बुधबार अपिल जारी गर्दै पत्रकार आचारसंहिता नै प्रभावित हुनेगरी सामग्री प्रचारप्रसार भइरहेको देखिएको जनाएको हो ।

‘कुनै बैठक तथा सभाहरूमा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्छृङ्खल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकहरूको मर्यादामा समेत आँच पुग्ने गरी मूल शीर्षक बनाई, तोडमरोड गरी नकारात्मकतालाई मद्दत पुर्‍याउने किसिमबाट सञ्चार माध्यमहरूबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) विपरीत सामग्रीहरू प्रचारप्रसार भइरहेको देखिएकाले यसप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’ – उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा जारी अपिलमा भनिएको छ ।

बैठक भेला तथा आन्दोलनका समाचार सम्प्रेषण तथा प्रचारप्रसार गर्दा अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पुर्‍याउने गरी सम्प्रेषण नगर्न काउन्सिलको आग्रह छ । ‘तथ्यभन्दा टाढा रही कसैलाई लाभ वा हानी पुर्‍याउने नियत राखी, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस पुर्‍याउने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमबाट अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पुर्‍याउने गरी सामग्री सम्प्रेषण गर्नु/गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने हुँदा तथ्यगत पुष्टिसहित मर्यादित, सन्तुलित सामग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हो’ – काउन्सिलको अपिलमा भनिएको छ, ‘सभ्य, शिष्ट, मर्यादित, जिम्मेवार भइ सामग्री सम्प्रेषण गर्नु/गराउनुहुन आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक अपिल गर्दछ ।’

प्रतिक्रिया :