संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कार्यवाहक अध्यक्ष बुढाथोकी र नेपालका लागि भारतीय दूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र नेपालका लागि भारतीय दूतावासका प्रतिनिधिबीच आज भेटवार्ता भएको छ । सञ्चारग्रामस्थित प्रेस काउन्सिलमा काउन्सिलका कार्यवाहक अध्यक्ष बुढाथोकी र भारतीय दूतावासका प्रेस हेर्ने प्रथम सचिव नविन कुमारबीच भेट भएको हो । भेटमा नेपाल र भारतको पत्रकारिताका आयामबारे छलफल भएको छ ।

भेटवार्तामा काउन्सिलका कार्यवाहक अध्यक्ष बुढाथोकीले नेपालको मर्यादित पत्रकारिताका लागि काउन्सिलले गरिरहेको अनुगमन, विभिन्न कार्यक्रम तथा भावी योजनाबारे भारतीय टोलीलाई जानकारी गराउनुभएको थियो । बुढाथोकीले भेटबाट दुई देशको पत्रकारिताबारे एकआपसमा बुझ्न र सम्बन्धलाई अझै मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो ।

भेटमा उहाँले नेपालमा प्रेस सङ्ग्रहालयको स्थापनाको लागि विभिन्न प्रेससम्बन्धी इतिहास झल्काउने पुराना सामग्री आवश्यक परेकाले सहयोग गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष बुढाथोकीले दूतावासका प्रतिनिधि र काउन्सिलको भेटले दुई देशबीचको अनुभव आदान –प्रदान गर्ने मात्र नभएर आवश्यक सहयोग र सहकार्य गरेर अघि बढ्ने वातावरण बनेको विश्वास व्यक्त गर्नुभयो ।

भारतीय दूतावासका प्रेस हेर्ने प्रथम सचिव नविन कुमारले प्रेस काउन्सिल नेपालको बारेमा आफूले अध्ययन गरेको बताउँदै भेटबाट थप जानकारी प्राप्त भएको बताउनुभयो । प्रेस सङ्ग्राहलय स्थापनाको लागि दूतावासको तर्फबाट सक्ने सहयोग गरिने बताउँदै उहाँले भारतीय पुराना मिडिया हाउसबाट इच्छुकले पुराना सामग्री दिन चाहेमा सङ्कलन गरेर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भारतीय टोलीलाई प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले काउन्सिलले रेडियो, अनलाइन, टेलिभिजन तथा पत्रपत्रिकाको अभिलेख र अनुगमन गर्ने गरेको जानकारी गराउनुभयो ।

भेटघाट कार्यक्रमको सहजीकरण प्रेस काउन्सिल नेपालका शाखा अधिकृत सुरेन्द्र मल्लले गर्नुभएको थियो ।

प्रतिक्रिया :