संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलका विभिन्न प्रकाशन सार्वजनिक

काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस काउन्सिल नेपालले प्रकाशन गरेका विभिन्न भाषाका आचारसंहिताले पत्रकार मात्र नभई नागरिकलाई समेत सजग बनाउने बताउनुभएको छ । सोमबार प्रेस काउन्सिल नेपालका प्रकाशनहरु शैली पुस्तिका, आचारसंहिता (मैथिली र नेपालभाषा) तथा नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास पुस्तक सार्वजनिक गर्दै मन्त्री गुरुङले आम नागरिकले मातृभाषामा नै आचारसंहिता अध्ययन गर्न पाउँदा यसको प्रभावकारिता बढ्ने बताउनुभयो । काउन्सिलले नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशन गर्दै आएको आचारसंहिता मैथिली र नेपालभाषामा समेत अनुवाद गरेर प्रकाशन गरेको हो । यस्तै मन्त्री गुरुङले नेपालमा मैथिली पत्रकारिताको इतिहास खोतल्ने कार्य पहिलोपटक भएको भन्दै नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास ऐतिहासिक पुस्तक भएको बताउनुभयो । उहाँले यस पुस्तकले पत्रकार मात्रै नभई आमनागरिक र भावि पुस्तालाई समेत इतिहास बुझ्न सहज हुने बताउनुभयो । शैली पुस्तिकाले भाषागत त्रुटि कम गराउने उहाँको विस्वास थियो ।

मन्त्री गुरुङले आचारसंहिता प्रकाशनसँगै कार्यान्वयनको पनि अनुगमन गर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । काउन्सिलले आफ्नो काम र उद्देश्यअनुरुप प्रकाशित पुस्तकले आचारसंहिताको अनुगमनलाई नै सघाउने मन्त्री गुरुङको भनाइ थियो । मन्त्री गुरुङले पत्रकारितामा स्वतन्त्रताको उपभोगसँगै कर्तव्यको पनि पालना गर्न आग्रह गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा ५ र ७ अनुसार आमसञ्चार माध्यमहरूका लागि आचारसंहिता निमार्ण गरी अनुगमन गर्दै आइरहेको स्मरण गराउनुभयो । उहाँले ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारिता मैत्री प्रेस काउन्सिल नेपाल’ को नाराअनुरुप पत्रकारिता जगतलाई मर्यादित बनाउन र मिडियालाई कालोसूचीमा पर्ने स्थितिबाट जोगाउन काउन्सिल प्रयत्नशील रहेको बताउनुभयो । उहाँले पत्रकार आचारसंहिताको प्रचार प्रसार र प्रभावकारी कार्यान्वयनको लागि विभिन्न राष्ट्रिय भाषामा आचारसंहिता प्रकाशन गर्ने क्रममा मैथिली र नेपालभाषामा अनुवाद गरी प्रकाशन गरिएको जानकारी दिनुभयो ।

कार्यवाहक अध्यक्ष बुढाथोकीले भाषाशैलीमा एकरुपता नहुँदा एउटै संस्थाका विभिन्न प्रकाशनमा पनि फरक फरक भाषाशैलीको प्रयोग हुने र यसले संस्थागत गरिमालाई कमजोर बनाउने हुँदा काउन्सिलले शैलीपुस्तिका प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको बताउनुभयो । उहाँले प्रकाशित शैली पुस्तिकाले काउन्सिल मात्र नभई नेपाल पत्रकार महासङ्घ, सूचना तथा प्रसारण विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई समेत सघाउने बताउनुभयो । उहाँले सञ्चार तथा सूचना  प्रविधि मन्त्रालयले समेत शैलीपुस्तिका प्रकाशन गरी कार्यान्वयनमा ल्याउन सके सकारात्मक सन्देश जाने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले काउन्सिलले भाषामा एकरुपता ल्याउनकै लागि शैली पुस्तिकाको प्रकाशन गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास पुस्तकका लेखक तथा आचारसंहिता मैथिली भाषा अनुवादक वरिष्ठ पत्रकार धर्मेन्द्र झाले मैथिली पत्रकारिताको इतिहास पुस्तक काउन्सिलको ऐतिहासिक प्रकाशन भएको उल्लेख गर्नुभयो । सन्दर्भ र इतिहास खोज्ने क्रममा कतिपय पत्रपत्रिकाको जानकारी नै पाउन मुस्किल भएको स्मरण गर्दै उहाँले नेपालको पत्रकारिता इतिहासमा अब मैथिली भाषा पत्रकारिताको शोधपत्र लेखन सुरुवात हुने बाटो खुलेको बताउनुभयो ।

आचारसंहिता नेपालभाषाका अनुवादक, पत्रकार सुरेश मानन्धरले मातृभाषामा आचारसंहिता आउनु नै सवल पक्ष भन्दै सम्बन्धित भाषीका लागि आचारसंहिताको पालना र कार्यान्वयन अब झनै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । भाषाविज्ञ सह–प्राध्यापक डा. धनप्रसाद सुवेदीले नेपाली भाषाको हिजोको परम्परालाई नियमन गर्न समस्या भएकाले प्रेस काउन्सिलको शैली पुस्तिका र विभिन्न भाषामा प्रकाशित आचारसंहिताले भाषा संरक्षणमा टेवा पुग्ने विस्वास व्यक्त गर्नुभयो ।

पुस्तक प्रकाशनबारे जानकारी दिँदै काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले काउन्सिलले अहिले बढी बोलिने मातृभाषा मैथिली र नेपालभाषामा आचारसंहिता प्रकाशन गरेको जानकारी दिनुभयो । आगामी दिनमा अन्य भाषामा समेत पुस्तक प्रकाशन हुने उहाँको भनाइ थियो । शैली पुस्तिका प्रज्ञा प्रतिष्ठानको १० औँ संस्करणलाई आधार मानेर तयार गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य दीपक पाण्डे, निर्वतमान सदस्य चेतनाथ धमला, नेपाल प्रेस इन्स्टिच्युटका पूर्व अध्यक्ष तीर्थ कोईराला, सूचना तथा प्रसारण विभागका निमित्त महानिर्देशक ईश्वरराज दाहाल लगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले गर्नुभएको थियो ।

 

प्रतिक्रिया :