संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कोरोनाको सङ्क्रमण रोकथाममा काउन्सिलको गर्‍यो अन्तरक्रिया

press council nepal

२०७६।१२।०७
काडमाडौँ

कोरोना भाइरस सङ्क्रमण भएका बिरामीको उपचारको जिम्मा सरकारले लिने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उदघोष गर्नुभएको छ । प्रेस काउन्सिल नेपाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सचेतना कार्यक्रममा मन्त्री ढकालले सबै प्रदेशमा कोरोना भाइरस परीक्षणको व्यवस्थाको लागि सरकारले गृहकार्य थालेको बताउनुभयो । भारतसँग सीमा जोडिएका नाकाहरू बढी जोखिममा रहेका भन्दै उहाँले हालसम्म ५ सय २९ जनाको नेपालमा परीक्षण गर्दा १ जना बाहेक सबैको नेगेटिभ भएको पाइएको जानकारी गराउनु भयो । नेपालमा परीक्षण गर्ने किट नै नभएको र परीक्षण नै नगरी नेगेटिभ भएकोे भन्नेहरुलाई यसअघि गरिएको एउटा परीक्षणमा कसरी पोजेटिभ भयो भन्ने कुरा पुष्टि गर्न चुनौति दिनुभयो । उहाँले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले गरेका निर्णयहरु तत्काल कार्यान्वयन गरिने बताउनुभयो । मन्त्री ढकालले कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व नै सङ्कटमा फसेको उल्लेख गर्नुहुदै त्यो सङ्कट नेपालमा भित्रिन नदिन सरकार क्रियाशील र जिम्मेवार भएको स्पष्ट पार्नुभयो । उहाँले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

press council nepal

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले नेपालका ल्याव नै गलत भएका कारण कोरोना भाइरस नदेखिएको भन्ने गलत हल्लाको पछि नलाग्न र त्यस्ता सामग्रीको पुष्टि नभइ समाचार प्रवाह नगर्न आग्रह गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले केही अनलाइन तथा सामाजिक सञ्जाल प्रयोगकर्ता असंवेदनशील ढङ्गले प्रस्तुत भएको प्रति अगुनमन भैरहेको बताउनुभयो । कोरोनाको विश्वव्यापी महामारीको अति संवेदनशील घडीमा पनि भ्रामक सामग्री राखेको भन्दै यही अवस्था रहिरहे काउन्सिल चुप लागेर नबस्ने उहाँले बताउनुभयो । उहाँले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ अनुसार कडा कारबाही हुने भन्दै सञ्चारमाध्यम मात्र नभएरत्यस्ता सामग्री सेयर, कमेन्ट र लाइक गर्ने पत्रकारलाई समेत आचारसंहिताले बाँध्ने जानकारी दिनुभयो । का.वा. अध्यक्ष श्रेष्ठले आचारसंहिताभित्र नबस्ने अनलाइनलाई काउन्सिलले एउटा चिठ्ठी लेख्नेवित्तिकै टेलिकमले डोमेन नै बन्द गराइदिने समेतको प्रावधान भएकाले सचेत हुन भन्नुभयो । उहाँले कोभिड–१९ विरुद्धको लडाईंमा सञ्चारमाध्यमलाई सत्य सूचना मात्रै प्रवाह गर्न आग्रह गर्नुभयो ।

press council nepal

स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना रोकथामको लागि सरकारले थालेको कदम, प्रयास तथा नेपालको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । पहिलो प्राथमिकता भाइरसको सङ्क्रमण नै रोक्नु हो भन्दै उहाँले सङ्क्रमण भइहाले पनि नेपाल उपचारका लागि सक्षम छ भन्ने पुष्टि गर्नका लागि केही पूर्व तयारी गरेको बताउनुभयो । १ सय २३ वटा पालिका र ४३ वटा नाकामा कोरोना भाइरस परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरेको र उपचार गराउन छुट्टै अस्पताल समेत तयारी अवस्थामा राखिने उहाँले बताउनुभयो । डा. देवकोटाले सङ्क्रमण भएको भए कुनै न कुनै रुपमा देखिने थियो भन्दै बिरामी लुकाएको पो हो कि भन्ने गलत हल्ला नगर्न सुझाव दिनुभयो । हालसम्म परिक्षण गराइएका मध्ये १ जना वाहेक कसैमा पनि संङ्क्रमण नदेखिएकाले त्रसित नहुन आग्रह गर्नुभयो । १ हजार वेड तयारी अवस्थामा राखिएको र पछि उपचार गराए पनि खासै असर नपर्ने शल्यक्रियाहरूलाई पछि सारेर अस्पतालहरुमा आइसियु कक्ष खाली गरिने उहाँले बताउनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले पत्रकारले सामाजिक दायित्व नभुलि समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले कोरोना भाइरसबारे समाचार सङ्कलन गर्न छुट्टै निर्देशिका बनाउन लागेको समेत जानकारी दिनुभयो ।

कोरोना परीक्षणमा नेपालका ल्याव सक्षम रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताउनुभएको छ । एक दिनमा १५ सय व्यक्तिको कोरोना भाइरस परीक्षण गर्न सकिने गरी क्षमता विस्तार गरिएको उहाँले बताउनुभयो । डा. झाले प्रत्येक दिन १२ देखि २० जनाको परीक्षण हुने गरेको बताउँदै एक हप्ताभित्र २ हजार किट ल्याउने गरी टेन्डर प्रक्रिया सुरु गरेको बताउनुभयो । उहाँले आवश्यक परे ८ हजार किट अझै ल्याउने तयारी समेत भएको बताउनुभयो । आइसोलेसनमा बसेका व्यक्ति र परीक्षण गर्दा इन्फ्लुएञ्जा नदेखिएको व्यक्तिको मात्र कोरोना भाइरसको परीक्षण गराउने गरिएको स्पष्ट पार्नुभयो ।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चेतनाथ धमलाले स्वागत मन्तव्य र बोर्ड सदस्य गोविन्द चौंलागाईले कार्यक्रम संचालन गर्नुभएको थियो भने सो कार्यक्रममा काउन्सिलका बोर्ड  सदस्य खिलबहादुर भण्डारीको समेत सहभागिता थियो ।

समाचार : सम्झना पौडेल
तस्बिर : राजन सिंह

प्रतिक्रिया :