संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-4112678

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार आचारसंहिता–२०६० (संशोधित तथा परिमार्जित–२०६४)

प्रस्तावना ः
स्वस्थ पत्रकारिताको विकासका निम्ति संचारमाध्यम र पत्रकारलाई जिम्मेवार र व्यावसायिक बनाई प्रेस स्वतन्त्रताको सम्वद्र्धन गर्दै यसको दुरुपयोग हुन नदिन तथा राष्ट्र र समाजप्रति बढी उत्तरदायी बनाउन एवं नेपालको अन्तरिम संविधान २०६३ द्वारा प्रत्याभूत स्वतन्त्रता र हक अधिकारको जगेर्ना गर्दै जनतालाई सुसूचित गर्ने मूलभूत उद्देश्यले समसामयिक अन्तर्राष्ट्रिय प्रचलन र मान्यताहरूलाई समायोजन गरी पत्रकारिता (प्रेस) का सबै माध्यमहरू समेतलाई समेटेर मौजुदा आचार संहितामा परिमार्जन गर्न वाञ्छनीय भएकोले नेपाल पत्रकार महासंघ समेतको सहमतिमा प्रेस काउन्सिल नेपाल ऐनको दफा (७) को (ख) बमोजिम पत्रकार आचार संहिता २०६० लाई सामयिक संशोधन तथा परिमार्जन गरी जारी गरिएको छ ।
१. नाम, प्रारम्भ र विस्तार ः
(१) यस आचारसंहिताको नाम ‘पत्रकार आचारसंहिता – २०६०’ रहेको छ ।
(२) यो आचारसंहिता तुरुन्त लागू हुनेछ ।
(३) यो आचारसंहिता नेपालमा संचालित संचारमाध्यम तथा नेपालभित्र रहेर पत्रकारिता गर्ने सम्पूर्ण पत्रकारहरूलाई लागू हुनेछ ।
२. परिभाषा ः
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस संहितामा—
(क) ‘पत्रकार’ भन्नाले छापा, विद्युतीय तथा अनलाइनजस्ता कुनै पनि प्रकृतिका संचारमाध्यम वा समाचारमूलक कार्यक्रम उत्पादन, वितरण गर्ने एजेन्सी वा संस्थामा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आवद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलका सदस्यहरू, संवाददाता, स्तम्भ लेखक, स्वतन्त्र पत्रकार, फोटो पत्रकार, प्रेस–क्यामेरापर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता तथा संचालक, साजसज्जा, दृश्य तथा भाषा सम्पादक जस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित संचारकर्मीहरूलाई जनाउँछ ।
(ख) ‘संचारमाध्यम’ भन्नाले नेपालमा संचालित पत्रपत्रिका, रेडियो एवं टेलिभिजन प्रसारणहरू, समाचार एजेन्सी तथा इन्टरनेटका समाचार र सूचना तथा विचारमूलक अनलाइन एवं समाचारमूलक कार्यक्रम उत्पादन–वितरण गर्ने संस्था र सेवाहरू समेतलाई जनाउँछ ।
(ग) ‘काउन्सिल’ भन्नाले प्रेस काउन्सिल नेपाललाई जनाउँछ ।
३. पत्रकार र सञ्चारमाध्यमहरूले निर्वाह गर्नुपर्ने कर्तव्य ः
(१) प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन ः विचार र अभिव्यक्ति स्वतन्त्रता नागरिकहरूको आधारभूत अधिकार भएकाले यसको संरक्षण र सम्वद्र्धनका निम्ति सदैव दृढ, सजग र सतर्क रहनुपर्दछ ।
(२) मानवीयता, मानवअधिकार र अन्तर्राष्ट्रिय सम्बन्धको सम्मान ः मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय लिखतहरूले प्रत्याभूत गरेका हक, अधिकार, सिद्धान्त, मान्यता र प्रचलनको सम्मान गर्दै लोकतन्त्र, न्याय, समानता, मानवीयता, शान्ति र अन्तर्राष्ट्रिय समझदारीको संरक्षण र सम्वद्र्धन तथा मित्र राष्ट्रहरूबीचको भाइचारालाई अभिवृद्धि गर्नुपर्दछ ।
(३) सूचनाको हकको रक्षा र प्रचलन ः आम नागरिकको सुसूचित हुन पाउने हक–अधिकारको रक्षा गर्न सदैव क्रियाशील एवं समर्पित रहनुपर्दछ ।
(४) सत्य तथ्य सूचनाको सम्प्रेषण ः पत्रकार–संचारमाध्यमले स्रोत र आधार उल्लेख गरी सत्य—तथ्य, वस्तुनिष्ठ एवं सन्तुलित सूचना सम्प्रेषण गर्नुपर्दछ ।
(५) सम्पादकीय स्वतन्त्रता र उत्तरदायित्व ः सम्पादकीय स्वतन्त्रताको सर्वमान्य सिद्धान्तबमोजिम संचारमाध्यमबाट उत्पादित–प्रकाशित—प्रसारित सामग्रीको उत्पादन तथा सम्प्रेषणको अन्तिम जिम्मेवारी र अधिकार सम्पादकमा निहित रहनेछ । सञ्चारमाध्यमले आफ्नो माध्यममा सम्पादकीय स्वतन्त्रताको प्रत्याभूति गर्नुपर्दछ ।
(६) गोपनीयताको हकको सम्मान ः सार्वजनिक हितमा प्रतिकूल असर पार्ने बाहेकको अवस्थामा वैयक्तिक एवं व्यावसायिक गोपनीयताको सम्मान गर्नुपर्दछ ।
(७) उच्च व्यावसायिक अभ्यास ः पत्रकारिताका आधारभूत मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध रही जवाफदेही एवं उत्तरदायित्व तथा विश्वसनीयताको निर्वाह गर्न निष्ठापूर्वक उच्च व्यावसायिक अभ्यास गर्नुपर्दछ ।
(८) शिष्ट व्यवहार ः व्यावसायिक अभ्यासमा सामाजिक शिष्टताको सम्मान गर्दै नैतिक, शिष्ट एवं मर्यादित कार्यशैली र भाषाको प्रयोगमा सजग रहनुपर्दछ ।
(९) गल्ती सच्याउने तत्परता ः प्रकाशन तथा प्रसारणका क्रममा भएका त्रुटि एवं गल्तीको जानकारी हुनासाथ यथाशीघ्र त्यस्तो गल्ती एवं त्रुटि सच्याउने तथा सप्रमाण खण्डन वा प्रतिक्रिया आएमा प्रस्ट भाषामा उचित स्थान दिई प्रकाशन–प्रसारण गर्नु पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य हुनेछ ।
(१०) सामाजिक दायित्व ः अशक्त, असहाय, अपाङ्ग, बालबालिका, महिला तथा पिछडिएका वर्ग, क्षेत्र, भाषा–भाषी र अल्पसंख्यक समुदायको उत्थान र विकासमा सूचना र विचार प्रवाहद्वारा विशेष सहयोग पु¥याउनु पत्रकार र सञ्चारमाध्यमको सामाजिक दायित्व हुनेछ ।
(११) आपसी सम्बन्ध ः पत्रकार तथा संचार–माध्यमहरूबीचको आपसी सम्बन्ध व्यावसायिक, स्वस्थ, संयमित, मर्यादित र पेशानिष्ठ हुनुपर्दछ ।
४. पत्रकार र सञ्चारमाध्यमहरूले गर्न नहुने कार्यहरूः
(१) राष्ट्रिय अखण्डतामा प्रतिकूल प्रभाव पार्न नहुने ः बहुभाषिक, बहुधार्मिक र बहुजातीय मुलुक नेपालको सार्वभौमसत्ता, अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायहरूका बीचको सु–सम्बन्धमा खलल पार्ने वा गाली–बेइज्जती वा अदालतको अवहेलना हुने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने समाचार र विचार प्रकाशन, प्रसारण तथा उत्पादन–वितरण गर्नुहुँदैन ।
(२) सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पार्न नहुने ः सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पु¥याउने तथा व्यावसायिक मर्यादा विपरीत हुने विकृत र उत्तेजक सामग्री प्रकाशन–प्रसारण तथा उत्पादन–वितरण गर्नुहुँदैन ।
(३) समाचारको गोप्य स्रोत खोल्न नहुने ः समाचार प्रस्तुत गर्दा समाचारको आधिकारिकता र विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । तर, गोप्य स्रोतको संरक्षण गर्ने दायित्व पत्रकारको हुने हुँदा स्रोतको इच्छा र अनुमतिबेगर त्यस्ता गोप्य स्रोतको नाम वा पहिचान खुलाउनुहुँदैन ।
(४) निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने ः संचारमाध्यम वा पत्रकारले प्रकाशन–प्रसारण वा समाचार सामग्रीको रूपमा वितरण गर्ने उद्देश्यले लिइएका सूचना सामग्री सार्वजनिक प्रयोग नगरी व्यक्ति वा संस्थाको निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्नुहुँदैन ।
(५) भेदभाव हुने गरी सूचनाको सम्प्रेषण गर्न नहुने ः जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक र रङ्गजस्ता आधारमा भेदभाव हुने गरी समाचार र विचारको सम्प्रेषण गर्नुहुँदैन ।
(६) पीडितलाई थप पीडा पुग्ने गरी सूचना सम्प्रेषण गर्न नहुने ः पीडितलाई थप पीडा पुग्ने गरी भाषा, ध्वनि, तस्बिर, चित्र र दृश्यसमेतको प्रयोग गरी समाचार तथा विचार प्रकाशन–प्रसारण वा उत्पादन–वितरण गर्नुहुँदैन ।
(७) पीडित व्यक्तिको नाम, ठेगाना खुलाउन नहुने ः यौनजन्य अपराध र सामाजिक अपहेलना एवं घृणाजन्य घटना वा सन्दर्भमा पीडित व्यक्तिहरूको सचेत स्वीकृतिबिना नाम, ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्बिर र दृश्य प्रकाशन–प्रसारण वा उत्पादन–वितरण गर्नुहुँदैन ।
(८) हिंसा, आतङ्क र अपराधलाई प्रोत्साहन गर्न नहुने ः विध्वंंस, हिंसा, आतंक र अपराधलाई प्रोत्साहन हुने गरी तथा त्यस्ता क्रियाकलापलाई अतिरञ्जित गर्ने गरी समाचार, विचार, तस्बिर, मत सर्वेक्षण, ध्वनि वा दृृश्यहरू प्रस्तुत गर्नुहुँदैन ।
(९) बीभत्स दृश्य र तस्बिर प्रकाशन÷प्रसारण गर्न नहुने ः समाजमा नैराश्य, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवं तस्बिरहरू असान्दर्भिक, अश्लील र उत्तेजना फैलिन सक्ने प्रकारले प्रस्तुत गर्नुहुँदैन ।
(१०) घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने ः कुनै घटनासँग सम्बन्धित समाचार प्रकाशन–प्रसारण गर्दा घटनासँग सम्बन्ध नभएका नातेदार वा नजिकका व्यक्तिको नाम जोडी उसको मर्यादामा आँच पुग्ने वा चरित्रहत्या हुने गरी समाचार सामग्री प्रस्तुत गर्नुहुँदैन ।
(११) तथ्य बङ्ग्याउन नहुने ः कुनै टिप्पणी वा स्पष्टताबिना तस्बिर, भिडियो दृश्य, ध्वनि वा तथ्यलाई तोडमोड गरी पहिचान नै बदल्ने वा गलत पहिचान दिने वा गलत अर्थ लाग्ने गरी समाचार सामग्री प्रकाशन–प्रसारण वा उत्पादन–वितरण गर्नुहुँदैन ।
(१२) विज्ञापनलाई समाचारका रूपमा प्रस्तुत गर्न नहुने ः विज्ञापनलाई समाचारको रूपमा प्रस्तुत गर्नु, विज्ञापनमार्फत समाचारको खण्डन गर्नुहुँदैन । त्यस्तै, एउटा सञ्चारमाध्यमबाट प्रकाशित प्रसारित समाचारको खण्डन सामान्यतः अर्को सञ्चारमाध्यमले गर्नुहुँदैन ।
(१३) स्रोत उद्धृत नगरी पुनः प्रयोग गर्न नहुने ः कुनै समाचार संस्था वा माध्यमले प्रवाहित गरेको समाचार वा प्रकाशित–प्रसारित सामग्री उपयोग गर्दा त्यसको मूल स्रोत उद्धृत नगरी पुनः प्रकाशन, प्रसारण वा वितरण गर्नुहुँदैन । त्यसरी उद्धृत गर्दा सामान्यतः मूलस्रोतको सहमति लिनुपर्दछ ।
(१४) स्रोतसँग सम्बन्ध ः पत्रकार वा संचारमाध्यमले समाचारस्रोतसँग व्यावसायिक मर्यादा र सीमा बाहिर हुने गरी अनुचित सम्बन्ध राख्न एवं व्यक्ति वा संस्थाको निहित स्वार्थका निम्ति संचारमाध्यमको दुरुपयोग गर्नुहुँदैन ।
५. उजुरी र तत्सम्बन्धी कार्यविधि ः
(१) कुनै पत्रकार वा संचारमाध्यमले माथिको आचारसंहिता विपरीत समाचार सामग्री प्रकाशन–प्रसारण वा उत्पादन–वितरण गरेका कारण कुनै व्यक्ति, समूह वा संस्थालाई मर्का परेको लागेमा मर्का पर्ने पक्षले सर्वप्रथम सम्बन्धित संचार–माध्यमका सम्पादकलाई सम्बोधन गरी लिखित गुनासो, खण्डन वा स्पष्टीकरण प्रस्तुत गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त स्पष्टीकरण, खण्डन वा प्रतिक्रिया ग्रहण गर्नु र त्यसलाई उचित महत्व र स्थान दिई प्रकाशन अथवा प्रसारण गर्नु सम्बद्ध सम्पादक र सञ्चारमाध्यमको दायित्व हुनेछ । यदि कुनै गुनासो, खण्डन वा प्रतिक्रिया प्रकाशन–प्रसारण गर्न योग्य छैन भन्ने कुरा सम्पादकलाई लागेमा आधार–प्रमाणसहित त्यसको जानकारी सम्बन्धित पक्षलाई दिनुपर्नेछ ।
(३) उपदफा (१) बमोजिम पठाएको स्पष्टीकरण, खण्डन वा प्रतिक्रिया सम्बन्धित संचारमाध्यमले प्रकाशन–प्रसारण नगरी चित्तबुझ्दो जवाफ पनि नदिएमा पीडित पक्षले आफ्नो स्पष्टीकरण, खण्डन वा प्रतिक्रियाको प्रतिलिपि संलग्न गरी काउन्सिल समक्ष निवेदन दिन सक्नेछ ।
(४) उपदफा (१) बमोजिम पीडित पक्षले पठाएको स्पष्टीकरण, खण्डन वा प्रतिक्रियाको मर्म र भावना विपरीत हुने गरी तोडमोड वा थपघट गरी प्रकाशन–प्रसारण भएमा वा प्रकाशन–प्रसारण भएको प्रक्रियाबाट पीडित पक्ष सन्तुष्ट नभएमा वा प्रेस काउन्सिलबाट नै उजुरी विवादको निर्णय गराउन चाहेमा देहाय बमोजिमको विवरण संलग्न गरी पीडित पक्षले प्रेस काउन्सिल समक्ष उजुरी दिन सक्नेछ ।
(क) प्रकाशित वा प्रसारित सामग्रीको प्रतिलिपि ।
(ख) प्रकाशित वा प्रसारित सामग्रीबाट पर्न गएको मर्काको विवरण र त्यसको आधार–प्रमाण ।
(ग) सम्बन्धित संचारमाध्यमलाई आपूmले पठाएको स्पष्टीकरण, खण्डन वा प्रतिक्रियाको प्रति ।
(घ) सम्बन्धित संचारमाध्यमका सम्पादकले दिएको जवाफ, खण्डन वा वक्तव्यको विवरण ।
(ङ) सम्बन्धित संचारमाध्यमका सम्पादकलाई प्रकाशित वा प्रसारित सामग्रीका विषयमा भएका पत्राचारहरूको विवरण ।
अन्य न्यायिक वा अर्धन्यायिक निकायमा कारबाही विचाराधीन रहेको भए त्यस्तो उजुरी निवेदनउपर काउन्सिलले कुनै सुनुवाई गर्ने छैन ।
(५) उपदफा (३) बमोजिम काउन्सिलसमक्ष प्राप्त हुन आएको निवेदनका आधारमा पीडितपक्षको स्पष्टीकरण, खण्डन वा प्रतिक्रिया किन प्रकाशित–प्रसारित नगरिएको हो ? प्रकाशित–प्रसारित गर्न नमिल्ने कुनै कारण भए सामान्यतः ७ (सात) दिनभित्र आधार–प्रमाणसहित जवाफ पेश गर्नू र त्यस्तो कुनै कारण नभए अविलम्ब प्रकाशित–प्रसारित गरी सोको जानकारी दिनू भनी काउन्सिलले सम्बन्धित संचारमाध्यमका सम्पादकलाई आग्रह गरी पत्राचार गर्नेछ ।
(६) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए पनि कुनै पत्रकार तथा सञ्चारमाध्यमले सार्वजनिक हित र सरोकारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले नकारात्मक असर पार्ने गरी समाचार प्रकाशन प्रसारण वा उत्पादन वितरण गरेमा प्रेस काउन्सिल आफैँले त्यस्तो पत्रकार वा सञ्चारमाध्यमका विरुद्ध यस संहिता बमोजिम कारबाही अगाडि बढाउन सक्नेछ ।
(७) उपदफा (१), (२) र ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि आरोपित पक्षलार्ई म्याद÷सूचना पठाउनुपूर्व उजुरीका सम्बन्धमा काउन्सिलले प्रारम्भिक जाँचबुझबाट तत्कालै सच्याउनुपर्ने, खण्डन गर्नुपर्ने वा क्षमायाचना गर्नुपर्ने वा मुनासिव जवाफ पठाउन लगाउने जस्ता आवश्यक निर्देशन सम्बन्धित पत्रकार वा सञ्चारमाध्यमलाई दिन सक्नेछ ।
(८) यस आचारसंहिताको उल्लंघन गरी कुनै पत्रकार तथा सञ्चारमाध्यमले समाचार प्रकाशन–प्रसारण वा उत्पादन–वितरण गरेमा उजुरवालाले सो समाचार प्रकाशन तथा प्रसारण भएको मितिले सामान्यतः तीस दिनभित्र उजुरी गर्नुपर्नेछ । म्यादभित्र उजुरी गर्न नसकेको मनासिव कारण भएमा प्रेस काउन्सिलले जहिले पनि उजुरी लिन सक्नेछ ।
(९) उजुरी गर्दा उजुरीकर्ताले सम्बन्धित समाचार सामग्रीको प्रकाशन–प्रसारण वा उत्पादन–वितरण भएको विषयवस्तुको अभिलेख संलग्न राख्नुपर्नेछ । उजुरीकर्ताले त्यसरी विवरण संलग्न राख्न सम्भव नभएको कुरामा काउन्सिल सहमत भएमा काउन्सिल आफैँले यस्तो सामग्रीको अभिलेख झिकाई सुनुवाई गर्नसक्नेछ ।
(१०) यस आचारसंहितामा उल्लिखित आचरणहरूको उल्लंघन गरेको वा भएको छ भनी तथ्ययुक्त प्रमाणसाथ पीडित वा सरोकारवाला पक्षले कुनै पत्रकार तथा सञ्चारमाध्यम विरुद्ध उपदफा
(८) बमोजिमको म्यादभित्र काउन्सिलसमक्ष दिएको उजुरीमा काउन्सिलले सामान्य जाँचबुझ गरी आचारसंहिताको उल्लंघन हुने किसिमको कार्य भएको देखेमा आरोपित पक्षलाई सामान्यतया ७ दिनभित्र वा सोभन्दा अगावै आफ्नो निर्दोषिता प्रमाणित गर्ने प्रमाण भए उजुरीको प्रतिलिपि साथै राखी हाजिर हुन आउनू भनी काउन्सिलले म्याद पठाउन सक्नेछ ।
(११) माथि उल्लिखित उपदफाहरू बमोजिम आरोपित पक्षको लिखित जवाफ काउन्सिलसमक्ष दाखिल भएपश्चात वा तोकिएको म्यादभित्र जवाफ प्राप्त नभए पनि काउन्सिलले सो विषयमा सामान्यतया तीस दिनभित्र निर्णय दिनेछ ।
(१२) उपदफा (११) बमोजिम निर्णय गर्नुअघि काउन्सिलले आवश्यक ठानेमा उजुरवाला र आरोपित पक्ष दुवैलाई झिकाई छलफल गर्न सक्नेछ ।
(१३) उजुरवाला र आरोपित पक्ष दुवैथरी मिली मिलापत्रको लागि संयुक्त रूपले लिखित अनुरोध गरेमा काउन्सिलले मिलापत्र गराई विवाद टुङ्ग्याउन सक्नेछ ।
६. निर्णय र कार्यान्वनसम्बन्धी व्यवस्था ः
कुनै पक्षले यस संहिता विपरीतको आचरण र व्यवहार गरेको ठहरेमा निजलाई प्रेस काउन्सिलले क्रमशः निम्नबमोजिम निर्णय र कारबाही गर्नेछ ।
(१) उजुरीमाथि भएको निर्णयलाई सम्बन्धित सञ्चारमाध्यममा काउन्सिलले तोकेको स्वरुप, स्थान वा समयमा प्रकाशन–प्रसारण वा पुनः उत्पादन–वितरण गर्न आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिएको आदेश पालना नगरेमा त्यस्तो आरोपित पक्षलाई अवज्ञाकारीको सूचीमा राखी थप कारबाही अगाडि बढाउन सक्नेछ । काउन्सिलको आदेशलाई दुई पटकभन्दा बढी अवज्ञा गर्ने संचारमाध्यम वा पत्रकार प्रेस पास रहने प्रकृतिको रहेछ भने प्रेस पास निलम्बित गर्न काउन्सिलले सम्बन्धित निकायलाई सिफारिस गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम प्रेस पास निलम्बन भएपछि पनि उपदफा (१) बमोजिमको कार्य नगरेमा काउन्सिलले मूल्यांकन वर्गीकरण गर्ने संचारमाध्यमको हकमा वितरण संपरीक्षण समितिले त्यस्तो पक्षको संचारमाध्यमलाई मूल्यांकन प्रक्रियाबाट अलग गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम मूल्यांकन प्रक्रियाबाट अलग गराउँदा पनि उपदफा (१) बमोजिम निर्णयको पालना नगरेमा त्यस्तो पक्षलाई काउन्सिलको कल्याणकारी कोष वा अन्य सहयोगबाट निश्चित अवधिका लागि वञ्चित गराउन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम सहयोग वञ्चित गराउँदा पनि उपदफा (१) बमोजिम निर्देशित कार्य नगरेमा नेपाल सरकारको तर्फबाट उपलब्ध हुने सुविधाहरू निश्चित अवधिका लागि निलम्बन गर्नका लागि काउन्सिलले सम्बन्धित निकायलाई सिफारिस गर्न सक्नेछ ।
तर काउन्सिलले आवश्यक ठानेमा एकैपटक उपदफा (४) र (५) बमोजिम दुवै कारबाही गर्न सक्नेछ ।
(६) काउन्सिलको निर्णयलाई निरन्तर अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यम विरुद्ध काउन्सिलले खेद प्रकट गरी पटक पटक गरेको कारबाहीको विवरणसहित सार्वजनिक रूपमा प्रकाशित–प्रसारित गर्नेछ ।
७. यसको अभिन्न अंग मानिने ः
यो आचारसंहिता लागू भएपछि काउन्सिलद्वारा पत्रकार र संचारमाध्यमका निम्ति जारी गरिने सबै प्रकारका निर्देशिकाहरू यस आचारसंहिताको अभिन्न अंग मानिने छन् ।
८. खारेजी ः
पत्रकार आचारसंहिता, २०५५ खारेज गरिएको छ ।

DOWNLOAD

 

प्रतिक्रिया :