पत्रकारितामा विकसित घटनाक्रमबारे काउन्सिलले धारणा सार्वजनिक गर्दै
काठमाडौँ ।
प्रेस काउन्सिल नेपालको रिक्त सदस्य पदमा हालै नियुक्त सदस्यहरूलाई काउन्सिलमा स्वागत गरिएको छ । काउन्सिल सभाहलमा भएको स्वागत कार्यक्रममा नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै मुख्य अधिकृत झबिन्द्र भुसालले नयाँ सदस्यहरूको कार्यकाल रचनात्मक र उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त सदस्यहरू कुमारी निमा काफ्ले (कञ्चनपुर), भीमलाल श्रेष्ठ (गोरखा), शन्तराम बिडारी (मकवानपुर), पदमराज जोशी (बैतडी), बालकृष्ण अधिकारी (धादिङ) र नकुल अर्याल (चितवन)लाई काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधि लगायत सामग्री हस्तान्तरण गर्दै नेपाल पत्रकार महासङ्घ अध्यक्ष एवं काउन्सिल सदस्य निर्मला शर्माले काउन्सिलको काम, कारबाही, भूमिका र आगामी कार्यनीतिबारे जानकारी हासिल गर्न सघाउने उल्लेख गर्नुभयो ।
नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै काउन्सिलका सदस्य विजयराज अधिकारी, केशवशरण लामिछानेले नयाँ सदस्यहरूसँगको सहकार्यबाट काउन्सिललाई गतिशील बनाउन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त सदस्यहरूले विद्यमान ऐन, कानुन र नीतिको अधिनमा रहेर प्रेस स्वतन्त्रताको संरक्षण गर्दै नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन, काउन्सिलको भूमिका अझै सशक्त र चलायमान गराउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले गत जेठ १२ र १९ गतेको मन्त्रीस्तरीय निर्णयबाट काउन्सिलको रिक्त सदस्य पदमा ६ जनालाई नियुक्त गरेको थियो । कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरासहित विभिन्न शाखाका प्रमुखले काउन्सिलका सदस्यहरूलाई बधाई एवं शुभकामना दिँदै उहाँहरूको कार्यकाल सफल बनाउन सचिवालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
यसैबिच स्वागत कार्यक्रमपश्चात पछिल्लो समय पत्रकार पक्राउ पुर्जी जारी भएको तथा प्रकाशित समाचार हटाउनका लागि अदालतले आदेश दिएको विषयमा गम्भीर छलफल भएको छ । छलफल पश्चात पत्रकारिता क्षेत्रमा विकसित घटनाक्रमबारे काउन्सिलले आजै आफ्नो धारणा सार्वजनिक गर्ने तय भएको छ ।
प्रतिक्रिया :