काठमाडौँ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो हकको उपयोग गर्दा अरुको अधिकार हनन् भए/नभएको तर्फ गम्भीर हुन सबैलाई सुझाव दिनुभएको छ ।
आइतबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले सामाजिक सञ्जालबाट संविधानले सुनिश्चित गरेका नागरिकका हक, अधिकार हनन् हुने गरी प्रहार गर्ने काम भएकोमा आपत्ति जनाउनुभयो ।
‘सामाजिक सञ्जालको मर्यादित प्रयोग हुनुपर्छ । आफ्नो हक प्रयोगले अरु मानिसको अधिकारलाई हनन् गर्नु हुँदैन । तर, पछिल्ला दिनहरूमा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुल्चिने गरी अफवाह फैलाउने काम भएका छन् । सञ्चार माध्यमले यसतर्फ चनाखो हुनुपर्छ’ उहाँले भन्नुभयो ।
नयाँ खुलेका अनलाइन र युट्युब च्यानललाई अभिमुखीकरण दिने क्रममा उहाँले सामाजिक सञ्जाल र सञ्चार माध्यममा भिन्नता छुट्याएर सञ्चारकर्मीले काम गर्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल मात्र चलाउने डिजिटल प्लेटफर्म र सञ्चार माध्यममा प्रष्ट फरक गराउन सके यसको नियमनमा समेत सहज हुने उहाँको सुझाव थियो ।
विषयविज्ञका रूपमा सहभागी अन्नपूर्ण पोष्ट दैनिकका समाचार सम्पादक नरेन्द्र साउद र नेपाल टेलिभिजनका वरिष्ठ सम्पादक शालिक सुवेदीले सामाजिक सञ्जाल प्रयोग गर्ने सञ्चार माध्यमले आचारसंहिताको पालना गर्नु जरुरी भएको बताउनुभयो ।
साउदले प्रेस काउन्सिलबाट हुने यस्ता अभिमुखीकरण कार्यक्रमलाई जिल्लाव्यापी बनाउन सुझाव दिनुभयो । उहाँले पत्रकारले के गर्न हुने, के नहुनेबारे सहजीकरण गर्नुभएको थियो भने पत्रकार सुवेदीले विभिन्न सञ्चार निर्देशिकाबारे प्रष्ट पार्नुभएको थियो ।
प्रतिक्रिया :