काठमाडौँ २० मङ्सिर ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सकारात्मक सोचले सामाजिक सञ्जाललाई समाज र राष्ट्रमा सही सन्देश दिनेगरी प्रयोग गर्न सकिने बताउनुभएको छ ।
वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालको रचनामा रहेको स्व.श्रीमती अनिता आचार्यको स्मृतिमा संसारमा तिमीलाई…भन्ने गीतको युट्युबमार्फत लोकार्पण कार्यक्रममा उहाँले काउन्सिलले अहिले सामाजिक सञ्जालको राम्रो प्रयोग गरौँ भनेर आह्वान गरिरहेको बताउनुभयो । यो गीत युट्युबमार्फत सार्वजनिक गरेर यसको रचनात्मक प्रयोग भएको अध्यक्ष बस्नेतले बताउनुभयो । अरू किसिमका धेरै गीत आइरहेको भएपनि श्रद्धाञ्जली गीत आफैँमा नौलो प्रयोग भएको र यसले गर्दा सशरीर नभेटिने मानिससँग पनि युगौँ युगसम्म भेट भइरहने उहाँले बताउनुभयो ।
उक्त गीत सार्वजनिक गर्दै उहाँले दुःखद् घटनापछि सकारात्मक सन्देश दिने काम यो गीतले गरेको उल्लेख गर्नुभयो । क्यान्सरजस्तो रोग सहज र सरल रूपमा उपचारको व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्ने र मिडियाले पनि त्यसका लागि सकारात्मक कलम चलाउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अकालमा कसैको पनि मृत्यु नहोस् भनेर राज्यलाई लोककल्याणकारी काम गर्न गीतसङ्गीत र समाचारमार्फत घच्घचाउनुपर्छ ।”
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले यो गीतले शोकलाई शक्तिमा बदल्नका लागि प्रेरणा दिने र गीतमार्फत नै सम्झना रहिरहने उल्लेख गर्नुभयो । गीतकार खनालले आफूले श्रीमती अनिताको निधन भएका बेला उक्त गीत लेखिएको भएपनि त्यसलाई स्मृति दिवस पारेर सार्वजनिक गरेको बताउनुभयो ।
गायक मातृका आचार्य र सङ्गीतकार पुरुषोत्तम न्यौपानेले यो गीतका शब्दहरू मर्मस्पर्शी भएको र अथक प्रयास गरेर छोटो समयमा नै राम्रो बनाउन प्रयास गरिएको बताउनुभयो ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) खनाल कविता, गीत, निबन्धमा कलम चलाउन रुचाउँछन् भने मिडिया र राजनीतिक विश्लेषणमा पनि उनका विचारहरू सार्वजनिक हुने गरेको पाइन्छ ।
उक्त गीतमा स्व. आचार्यको काल्पनिक मधुर आवाजमा आस्मा दुलालले साथ दिएकी छिन् ।
प्रतिक्रिया :