संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

भ्रामक र तथ्यहीन सूचना देशलाई घातक: अध्यक्ष बस्नेत

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना फैलाउनु देशकै लागि घातक हुने भएकाले त्यसतर्फ गम्भीर हुन सबै सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ ।

अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएको औँल्याउँदै अध्यक्ष बस्नेतले त्यस्ता माध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारीसमेत दिनुभयो ।

नयाँ खुलेका अनलाइन सञ्चार माध्यमका सम्पादक, सञ्चालकलाई बिहीबार काउन्सिलमा बोलाएर पत्रकार आचारसंहिताको विषयमा अभिमुखीकरण राखिएको थियो । सोही क्रममा बोल्दै अध्यक्ष बस्नेतले राम्रो काम गर्नेलाई पुरस्कार र अटेर गर्नेलाई कडा कारबाही थालिएको बताउनुभयो ।

‘समाचार माध्यमका नाममा अपुष्ट सामग्री दिने, असन्तुलित र पूर्वाग्रहपूर्ण सामग्री पस्किने काम भइरहेका छन् । गालीगलौज, अश्लील र बनावटी सामग्री पनि पाइएका छन् । त्यस्ता कुनै पनि माध्यमलाई काउन्सिलले अब कालोसूचीमा राख्दैछ’ उहाँले भन्नुभयो । नयाँ खुलेका अनलाइन दिगो र बलियो बनाउन विश्वसनीय र परिपक्व पत्रकारिता हुनुपर्ने सुझाव उहाँको थियो । नयाँ अनलाइन सञ्चालन गर्नुअघि काउन्सिलले नियमित अभिमुखिकरण गर्दै आएको छ । ‘भ्युअर्स’को लोभमा लागेर गलत समाचार लेख्दा देशलाई नै आघात पुग्नेतर्फ उहाँले सबैको ध्यानाकर्षण गराउनुभयो ।

काउन्सिलका सदस्य दुर्गा भण्डारीले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाबारे जानकारी दिनुभयो । उहाँले अपाङ्गतामैत्री सञ्चार निर्देशिका– २०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३,महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका – २०७८ मा भएका प्रावधानबारे प्रशिक्षण दिनुभयो ।

अनलाइनखबर डटकमका सम्पादक बसन्त बस्नेतले विषयगत प्रस्तुति राख्दै प्रविधिको फड्कोले सबैलाई मूलप्रवाहमा ल्याउने अवसर दिएको बताउनुभयो । उहाँले अनलाइन पत्रकारितामा विश्वसनीयताको खडेरी देखिएको, मेहनत र खोजीपना कम हुँदै गएको औंल्याउनुभएको थियो ।

काउन्सिलले जारी गरेका आचारसंहिता, पत्रकारिताका आधारभूत पक्ष नभुली कार्यक्षेत्रमा उत्रिए यो पेशामा सम्भावना अझै छ, सम्पादक बस्नेतले भन्नुभयो । बस्नेतले सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावको विषयमा समाचार लेख्दा विशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।

विभिन्न ४५ वटा अनलाइनका सञ्चालक र सम्पादक सहभागी कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गर्नुभएको थियो ।

प्रतिक्रिया :