संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

युट्युबरका लागि काउन्सिलको अभिमुखीकरण

मर्यादित सामग्री सम्प्रेषण गरेर स्थापित हुन महासङ्घका अध्यक्ष पोख्रेलको सुझाव

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका सन्दर्भमा दोस्रो चरणको आचारसंहिता अभिमुखीकरण कार्यक्रम गरेको छ । मङ्गलबार काउन्सिल सभाहलमा सञ्चालनमा रहेका युट्युब च्यालनका सञ्चालक/सम्पादकलाई बोलाएर आचारसंहिता, निर्देशिका तथा कानुनी प्रावधानका बारेमा कक्षा दिएको हो । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले युट्युबमार्फत मर्यादित सामग्री सम्प्रेषण गरेर समाजमा स्थापित हुन सुझाव दिनुभयो । पत्रकार आचारसंहिता र त्यसका प्रावधानबारे प्रस्तुती राख्दै उहाँले जुनसुकै समाजले नयाँ कुरा सहजै स्वीकार नगर्ने हुँदा निरन्तर मर्यादित सामग्री दिएर पनि समाजको स्वीकार्य हुनुपर्ने बताउनुभयो । युट्युबमा समाचारजन्य र सार्वजनिक सरोकारका विषयवस्तु राख्ने हो भने पत्रकार आचारसंहिता र प्रचलित ऐन कानुनको परिधिमा बाँधिनैपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा युट्युबको व्यवस्थापनमा काउन्सिल विषयक कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले काउन्सिलले लामो समयदेखि युट्युब र यसबाट सम्प्रेषित सामग्रीका सम्बन्धमा गरिरहेको गृहकार्यबारे जानकारी दिनुभयो । यस्तै विभिन्न सञ्चार निर्देशिका र तिनमा रहेका प्रावधानबारे कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलकी पूर्वसदस्य शुभेच्छाविन्दु तुलाधरले युट्युबमार्फत गरिने पत्रकारिता आचारसंहिता र निर्देशिकाको मातहतमा रहनैपर्ने बताउनुभयो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले चालु आर्थिक वर्षमा युट्युबबाट प्रसारित सामग्रीका बारेमा २९ वटा उजुरी परेको जानकारी दिनुभयो । उहाँले अनुगमन गर्ने सचेत गराउने र कारबाही गर्ने प्रक्रियाबारे बुझाउन पनि युट्युब सञ्चालकका लागि कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

कार्यक्रममा सहभागीले युट्युब सञ्चालन गर्दाका समस्या विषयवस्तुको छनोट, प्रसारण र काउन्सिलको अनुगमन तथा कारबाही प्रक्रियाबारे जिज्ञासा राखेका थिए । काउन्सिलका आचारसंहिता अनुगमन अधिकृत महेन्द्र राज सिंहले सहजीकरण गर्नुभएको कार्यक्रममा ३० जना युट्युब सञ्चालक तथा सम्पादकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :