संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

भाषाको अन्योल हटाउन विशेष समितिको खाँचोः काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भाषाका विषयमा रहेका अन्योल हटाउन विज्ञ संलग्न समितिको खाँचो रहेको बताउनुभएको छ । त्यसका लागि सरकार नै प्रमुख जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ छ । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल स्रष्टा समाजको संयोजनमा सोमबार सञ्चारग्राममा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले भाषासँग सरोकार राख्ने पक्ष समेटेर समिति नै बनाएर सरकारले पहल गरे भाषासम्बन्धी अन्योल हट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भाषा आयोग आफैँ अलमलमा रहँदा पनि अन्योलको स्थिति आएकाले वरिष्ठ र अनुभवी विज्ञ संलग्न समितिको आवश्यकता भएको औँल्याउनुभयो ।

साहित्यिक पत्रकारिताबाट समग्र पत्रकारिताले कुन भाषाको र कसरी प्रयोग गर्ने भनी सिक्नुपर्नेमा उहाँको जोड छ । ‘हामी हजुरबुबा/हजुरआमालाई तिमी भन्दैनौँ तर पत्रकारितामा त्यही प्रयोग भएको छ ।’ उहाँले भन्नुभयो, ‘साहित्यले पत्रकारितालाई सिकाउँछ भने पत्रकारिताले साहित्यलाई बचाउँछ । त्यसैले साहित्यिक पत्रकारितालाई बचाउन सबै जुट्नुपर्छ ।’ कुन निकायको भाषालाई आधिकारिक मान्ने भन्ने अन्योल रहेकाले त्यो हटाएर एकरुपता कायम हुनुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माले पनि भाषालाई सर्वमान्य बनाउनका लागि सरकारले भाषाका विषयमा विज्ञता भएका व्यक्तिहरु राखेर समिति बनाउन ढिलो भइसकेको उल्लेख गर्नुभयो ।

वरिष्ठ भाषाविद् शरच्चन्द्र वस्तीले भाषा नै ज्ञान, विज्ञान र सभ्यताको विकासको मूल भएको बताउनुभयो । भाषाको कसरी प्रयोग गर्ने भन्ने विषय शासकीय सत्ता प्रयोग गरेर मात्रै निर्धारण हुन नसक्ने उहाँको भनाइ थियो ।

साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले भाषागत एकरुपताक लागि काउन्सिलसहितका सरोकारवाला निकाय एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

प्रेस काउन्सिलका सदस्य दिपक पाण्डेले नेपाली भाषा मास्ने काम धेरैतिरबाट भइरहेको बताउनुभयो । विगतमा सरकार प्रमुखले समेत मिडियामा प्रयोग भएको भाषाका विषयमा आपत्ति जनाउने अवस्था आएको उहाँले राष्ट्रप्रमुख वा अरु कसैलाई तिमी कि तपाई के भन्ने भनी निर्धारण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकारिताको अनुगमन गर्न काउन्सिलमा छुट्टै शाखा र महाशाखा चाहिने बताउनुभयो । राष्ट्रिय मिडियामा प्रयोग हुने भाषामा एकरुपता चाहिने उहाँको धारणा छ ।

नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवालले काउन्सिलले भाषाको एकरुपता र साहित्यिक पत्रकारिताको प्रबर्द्धनका लागि गरेका कार्यक्रमको प्रसंशा गर्नुभयो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले धेरैले भाषा सिक्न साहित्यिक पत्रिकालाई आधार मान्दै आएको उल्लेख गर्नुभयो । कार्यक्रमको सहजीकरण गर्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले आगामी दिनमा पनि साहित्यक पत्रकारिता र भाषाका विषयमा छलफल गोष्ठीलाई निरन्तरता दिइने बताउनुभयो । कार्यक्रममा काउन्सिलका पूर्व सदस्य चेतनाथ धमला, साहित्यिक पत्रकार अश्विनि कोइरालालगायतले साहित्यिक पत्रकारिताको प्रबर्द्धनका विषयमा आ आफ्ना सुझाव राख्नुभएको थियो ।

प्रतिक्रिया :