संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आचारसंहिता पालनाका सन्दर्भमा प्रेस काउन्सिल नेपालको अपिल

मिति २०८०/०१/०७

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आचारसंहिता पालनाका सन्दर्भमा
प्रेस काउन्सिल नेपालको अपिल

यही वैशाख १० गते आइतबार बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनकोे प्रचारप्रसार गर्ने समय आज राति १२ः०० बजेसम्म रहेको छ । तत्पश्चात् निर्वाचनको स्थिर समय (मौन अवधि) लागु हुनेछ । मतदान हुने दिनको अघिल्लो अठ्चालीस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म निर्वाचन प्रचारप्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन÷प्रसारण÷सम्प्रेषण गर्न पाइने छैन भन्ने निर्वाचन आचारसंहितामा व्यवस्था रहेको छ ।

यसर्थ स्थिर समय सुरु हुनुभन्दा अघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह अङ्कित झण्डा÷ब्यानर, श्रव्यदृश्यलगायतका सामग्री मौन (स्थिर) अवधिमा सञ्चार माध्यमबाट प्रकाशन/प्रसारण हुँदा समेत निर्वाचन आचारसंहिता उल्लङ्घन हुने हुँदा त्यस्तो कार्य नगर्न÷नगराउन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ ।

काउन्सिसले विभिन्न प्रकारले निर्वाचनकेन्द्रित अनुगमनसमेत गरिरहेको छ । अनुगमनका क्रममा कतिपय सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी चुनावी विश्लेषण भनी वा नभनी ‘…राम्रो मतान्तरसहित जित्ने सम्भावना’, ‘…अग्रता’ उल्लेख गर्दै स्थलगत अध्ययन गरिएको भनी कुनै राजनीतिक दलका उम्मेदवारलाई पक्षपोषणसहितको सामग्री सम्प्रेषण भएको पाइएको छ । यस सन्दर्भमा त्यस किसिमको सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई मिति २०८०।०१।०७ गतेको निर्णयानुसार २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

निर्वाचनको मत सर्वेक्षणका सम्बन्धमा पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) मा ‘पत्रकार तथा सञ्चार माध्यमले कुनै पनि मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा अनुसन्धानको विधि उल्लेख गर्नुपर्दछ । यस्तो मत सर्वेक्षण गर्दा सर्वेक्षणको प्रायोजक, औचित्य र पृष्ठभूमिजस्ता विषय खुलाइ प्रस्तुत गर्नुपर्दछ’ र निर्वाचन आचारसंहिता, २०७९ को दफा ४(त) मा ‘उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा वा प्रकाशन गर्न नहुने’ भन्ने व्यवस्था रहेकोले त्यस किसिमबाट सामग्री सम्प्रेषण नगर्न÷नगराउन यही विज्ञप्तिमार्फत सम्पूर्ण सञ्चार माध्यम एवं समग्र पत्रकारलाई अनुरोध गरिन्छ ।

तसर्थ निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रही लोकतन्त्रको आधारस्तम्भको रूपमा रहेको निर्वाचन स्वच्छ, मर्यादितरूपमा सम्पन्न गर्न सघाउ पुर्‍याउन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा प्रेस काउन्सिल नेपाल अपिल गर्दछ ।

रामशरण बोहरा
उपप्रशासकीय अधिकृत
सहप्रवक्ता एवं सूचना अधिकारी

प्रतिक्रिया :