संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

नयाँ अनलाइन सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले नयाँ अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण तालिम दिएको छ । पाक्षिकरुपमा हप्ताको शुक्रबार सञ्चालन गर्ने ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने क्रममा गएको हप्ता शुक्रबार सार्वजनिक बिदा परेका कारण उक्त कार्यक्रम आइतबार भएको हो । कार्यक्रममा विषयविज्ञका रूपमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका सदस्य विपुल पोखरेल र प्रेस काउन्सिल नेपालका सदस्य ठाकुरप्रसाद बेलबासेले प्रशिक्षण दिनुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा नवप्रवेशीलाई दिइने अभिमुखीकरणबाट आचारसंहिता पालनामा महत्वपूर्ण सहयोग भएको बताउनुभयो । यो प्रशिक्षण कार्यकम १२ औँ श्रृङ्खला हो । काउन्सिलले सुरुवात गरेको नियमित अभिमुखीकरणपश्चात् नयाँ दर्ता हुन आउने अनलाइनमा आचारसंहिताको दायराभित्र रहेर समाचार सम्प्रेषित हुने गरेको उहाँले उल्लेख गर्नुभयो । काउन्सिलको नियमित अनुगमनबाट विगत र वर्तमान तुलनात्मक रुपमा फरक देखिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष पोखरेलले पत्रकार आचारसंहिता २०७३, (पहिलो संशोधन, २०७६) बमोजिम पत्रकार तथा गर्न नहुने १४ बुँदाका बारेमा उदाहणसहित प्रस्तुत गर्नुभएको थियो । उहाँले पत्रकार समाजको वाच डग भएको तर वाचडगले आफ्नो पेसागत धर्म र सामाजिक उत्तरदायित्वलाई कहिल्यै बिर्सन नहुने बताउनुभयाे । राष्ट्रियताको सवालमा र जनस्वास्थ्यका सवालमा हरेक पत्रकारले स्रोतलाई राम्रोसँग परीक्षण गरेर मात्रै प्रकाशन/प्रशारण गर्नुपर्ने उहाँकाे सुझाव थियो ।

प्रेस काउन्सिल नेपालका सदस्य ठाकुरप्रसाद बेलबासेले प्रेस काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरू ‘अपाङ्तामैत्री सञ्चार निर्देशिका-२०७३, बालमैत्री सञ्चार निर्देशिका-२०७३, ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका-२०७८ र महिला उत्तरदायी सञ्चार निर्देशिका-२०७६’ मा उल्लेख भएका प्रावधानबारे जानकारी दिनुभयो ।

काउन्सिलका उप-प्रशासकीय अधिकृत रामशरण बोहराले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनाललगायत भौतिक र भर्चुअल माध्यमबाट ३८ अनलाइनका सञ्चालक र सम्पादकको सहभागिता रहेको थियो ।

नयाँ अनलाइनका सञ्चालक, सम्पादकलाई काउन्सिलले गत चैत महिनादेखि अनिवार्यरुपमा आचारसंहिता कक्षा लिनुपर्ने व्यवस्था गरेको छ । साथै आचारसंहिता उल्लङ्घन गरी कारबाहीमा परेका पत्रकारले पनि त्यस्तो कक्षा लिँदै आएका छन् ।

प्रतिक्रिया :