संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

नयाँ अनलाइन सञ्चालक र सम्पादकद्वारा आचारसंहिता पालना गर्ने प्रतिबद्धता

 

काठमाडौँ ।

नयाँ अनलाइन सञ्चार माध्यमका सञ्चालक र सम्पादकले  प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिता पालनामा सधै सजग रहने प्रतिबद्धता जनाएका छन् । सूचीकरणका लागि प्रक्रियामा रहेका नयाँ अनलाइन सञ्चालक सम्पादकलाई प्रेस काउन्सिल नेपालले दिँदै आएको अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले स्वच्छ, स्वस्थ र मर्यादित पत्रकारिताका लागि जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन् । शुक्रबार काउन्सिलमा आयोजित कक्षामा उनीहरुले आचारसंहिता र काउन्सिलद्वारा जारी विभिन्न सञ्चार निर्देशिका पालना गर्दै जिम्मेवार पत्रकारिता गर्ने दृढता राखे ।

नयाँ अनलाइनका सञ्चालक, सम्पादकलाई काउन्सिलले गत चैत महिनादेखि अनिवार्यरुपमा आचारसंहिता कक्षा लिनुपर्ने व्यवस्था गरेको छ । साथै आचारस‌ंहिता उल्लङ्घन गरी कारबाहीमा परेका पत्रकारले पनि त्यस्तो कक्षा लिँदै आएका छन् ।

आजको कार्यक्रममा ३३ अनलाइनका सञ्चालक र सम्पादक भौतिक तथा भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए । अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा नवप्रवेशीलाई दिइने अभिमुखीकरणबाट आचारसंहिता पालनामा महत्वपूर्ण सहयोग भएको बताउनुभयो । उहाँले काउन्सिलले सुरुवात गरेको नियमित अभिमुखीकरणपश्चात् नयाँ दर्ता हुन आउने अनलाइनमा आचारसंहिताको दायराभित्र रहेर समाचार सम्प्रेषित हुने गरेको उल्लेख गर्नुभयो । काउन्सिलको नियमित अनुगमनबाट विगत र वर्तमान तुलनात्मक रुपमा फरक देखिएको उहाँले बताउनुभयो ।

सहभागीलाई प्रशिक्षण दिँदै विज्ञ पत्रकार गुणराज लुँइटेलले जिम्मेवार पत्रकारिताका लागि पत्रकार स्वयम् सचेत हुनुपर्नेमा जोड दिनुभयो । काउन्सिलले यसरी अभिमुखीकरण कक्षा चलाएर राम्रो सुरुवात गरेको भन्दै लुइँटेलले यसलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत रामशरण बोहराले कार्यक्रमको सहजीकरण गर्दै काउन्सिलद्वारा जारी निर्देशिकाबारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया :