संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिलद्वारा थारु भाषाको आचारसंहिता लोकार्पण

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहितालाई थारु भाषामा अनुवाद गरी प्रकाशित गरेको छ । प्रेस काउन्सिल नेपालले सोमबार दाङको घोराहीमा गरेको कार्यक्रममा थारु भाषामा अनुवाद गरिएको पत्रकार आचारसंहिताको लोकार्पण गरिएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले उक्त आचारसंहिता पुस्तकको लोकार्पण गर्नुभएको हो ।

नगर प्रमुख चौधरीले थारु भाषामा लेखपढको अभ्यास बढाउन आवश्यक रहेको भन्दै उपमहानरपालिकाले थारु भाषालाई कामकाजीको भाषा बनाए पनि ब्यवहारमा लागु गर्न चुनौती देखिएको बताउनुभयो । उपमहानगरपालिकाले थारु भाषामा पाठ्यक्रम तयार पारेको भन्दै उहाँले आगामी शैक्षिक सत्रदेखी ऐच्छिकरूपमा पठनपाठनमा ल्याउने तयारी भएको बताउनुभयो ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले थारु भाषा लोप हुदै जान थालेको बताउनुभयो । बाह्य संस्कृतिको अनुशरण गर्नुले पनि भाषा र संस्कृतीमा चुनौती थपिएको भन्दै उहाँले भाषा, कला संस्कृतीलाई बचाउन सञ्चार क्षेत्रको ठुलो भूमिका हुने बताउनुभयो ।

काउन्सिलका सदस्य शरदप्रसाद अधिकारीले पत्रकार आचारसंहिताको कार्यपत्र प्रस्तुत गर्दै पत्रकार र सञ्चार माध्यमले सत्यतथ्य र सन्तुलित सामग्रीको सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

थारु भाषाको पत्रकारिताको अवस्था र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा. कृष्णराज सर्वाहारीले थारु भाषाको सञ्चार माध्यमहरू खुम्चिदै गएको बताउनुभयो । २ सय बढी थारु पत्रकारहरू रहेपनि सञ्चार माध्यम सामूहिकतामा जान नसक्दा चुनौती थपिएको उहाँको भनाइ छ ।

पत्रकार लक्की चौधरीले थारु भाषाको पत्रकारिता विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रमको सहजीकरण काउन्सिलका प्रवक्ता दीपक खनालले गर्नुभएको थियो । काउन्सिलले थारु भाषासहित डोटेली र भोजपुरीमा समेत आचारसंहिता बनाएकाले छिट्टै सार्वजनिक गरिने जनाएको छ ।

कार्यक्रमबाट ७ बुँदे दाङ घोषणापत्र जारी भएको छ । घोषणापत्रमा थारु सञ्चारगृहको स्तरवृद्धिका लागि वर्गीकरणमा विशेष प्राथमिकता दिन काउन्सिलले भूमिका खेल्ने लगायतका विषय समेटिएका छन् ।

प्रतिक्रिया :