संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

श्रमजीवी पत्रकारका समस्याबारे बागमती प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रम

प्रेस काउन्सिल नेपालको आयोजनामा कोरोना (कोभिड–१९) महामारीमा पत्रकार र सञ्चारमाध्यमको अवस्था र आचारसंहिता पालनाको सम्बन्धमा बागमती प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिनुपर्ने, पत्रकारलाई आर्थिक सहयोग गर्नुपर्ने, काउन्सिलले प्रदान गर्ने राहत बढाउनुपर्ने, अनलाइनलाई लोककल्याणकारी विज्ञापनका लागि पहल गर्नुपर्ने, प्रेस पासको व्यवस्था जिल्लाबाटै हुनुपर्ने, पत्रपत्रिका वर्गीकरणको नतिजा समयमै सार्वजनिक गर्नुपर्ने लगायतका विषय उठेको थियो ।

कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिल पत्रकारको साथमै रहेकाले सातवटै प्रदेशबाट सुझाव सङ्कलन गरी प्रतिवेदन बनाएर छिट्टै पत्रकारको पक्षमा निर्णय गरिने जानकारी दिनुभयो । उहाँले पत्रपत्रिका वर्गीकरणको नतिजा समयमै सार्वजनिक गर्ने, लोककल्याणकारी विज्ञापनको रोकिएको रकम निकासाका लागि सम्बन्धित निकायलाई घच्घच्याउने, लेखनवृत्तिमार्फत पत्रकारलाई दिइदैँ आएको सुविधा बढाउने, बिरामी पत्रकारको उपचारार्थ औषधोपचारमा सहयोग गर्ने जानकारी दिनुभयो । अध्यक्ष बस्नेतले राज्य र समाजमा सकारात्मक सञ्चार गर्ने निकाय आफैँ जिम्मेवार र मर्यादित बन्नुपर्ने भन्दै स्वच्छ पत्रकारिताको विकासमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रम संयोजन गर्दै काउन्सिल सदस्य चिरञ्जीवी मास्केले प्रदेशभरका पत्रकार र सञ्चारमाध्यमको अवस्था, समस्या र चुनौती, पत्रकार आचारसंहिताको कार्यान्वयन, लोककल्याणकारी विज्ञापन तथा पत्रपत्रिका वर्गीकरणका सम्बन्धमा जानकारी लिन कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

उहाँले श्रमजीवी पत्रकारलाई महामारीको समयमा रोजगारीबाट निकाल्ने, तलब नदिनेजस्ता गतिविधि एकातर्फ र अर्कोतर्फ विज्ञापनको भुक्तानी समयमा नहुँदा मिडिया हाउस समस्यामा परेको बताउनुभयो । सदस्य मास्केले पत्रकारलाई राहत मिल्ने खालको कार्यक्रम ल्याउन काउन्सिलले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले पत्रकारका समस्या समाधान गर्न र आवश्यक नियमन गर्न काउन्सिल सधैँ तयार रहेको भन्दै काउन्सिलले प्रदान गर्ने सेवा, सुविधाबारे जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले काउन्सिलले गर्ने यस्ता कार्यक्रमबाट पत्रकारको पेशागत शुद्धता, क्षमतामा वृद्धि भइ एवं पेसागत मर्यादा कायम रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्यहरू रमेश खतिवडा, सुनिल खड्का, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्षहरू केशव पौडेल(रसुवा), राजाराम शर्मा(धादिङ), कपिलदेव खनाल (नुवाकोट), दीपशङ्कर चौलागाई (दोलखा), बद्रीराज तिम्सिना (काभ्रे), मणिराज गौतम (मकवानपुर), कृष्णहरी घिमिरे (सिन्धुली), दिनेश थापा उपाध्यक्ष (सिन्धुपाल्चोक) पत्रकार रुपा अर्याललगायत बागमती प्रदेशअन्र्तगत १० वटै जिल्लाका अध्यक्ष, विभिन्न सचारमाध्यमका प्रतिनिधिको सहभागिता रहेको थियो ।

समाचार/तस्बिरः प्रेस काउन्सिल नेपाल

 

 

 

 

प्रतिक्रिया :