संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सोसल मिडिया व्यवस्थित गर्ने सम्बन्धमा सरोकारवालासँग काउन्सिलको अन्तरक्रिया

‘अनलाइन टिभी, (युट्युबलगायत सामाजिक सञ्जाल) र अनलाइन मिडियालाई कसरी व्यवस्थित गर्ने’ भन्ने विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा आज भएको कार्यक्रममा सरोकारवालाहरूले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिल सबै पत्रकारको साझा संस्था भएकाले हरेक पत्रकार र मिडियाको स्वामित्व हुने बताउनुभयो । उहाँले सोसल मिडियाबाट आउने अडियो–भिडियो सामग्रीहरूमा पत्रकारिता भए–नभएकोबारे बुझ्न छलफल राखिएको बताउनुभयो ।  सत्यतथ्य सूचना र समाचारको सम्प्रेषणबाट समाजमा सकारात्मक सञ्चार गराउन इन्टरनेटबाट दिइने सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिल गभ्मीर भएको उहाँको भनाइ थियो ।  अध्यक्ष बस्नेतले सल्लाह, सुझावलाई ग्रहण गर्दै राज्यका निकायसँग समन्वय र सहकार्य सहित अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीले पत्रकार महासङ्घ र काउन्सिल मिलेर जारी गरेको आचारसंहिताभित्र रहेर गरिने पत्रकारिताबाटै ‘स्वच्छ, स्वस्थ, स्वतन्त्र मर्यादीत पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल’ निर्माण हुने बताउनुभयो ।  उहाँले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषणबाट मात्रै पत्रकारिता गर्नुपर्ने भन्दै सम्पादन बिना राखिएका सामग्री पत्रकारिताभित्र नपर्ने उल्लेख गर्नुभयो ।

बोर्ड सदस्य दीपक पाण्डेले पत्रकार र मिडिया के हो भन्ने कुरा बुझ्न आवश्यक भएको भन्दै सोसल मिडियाबाट पत्रकारिताको नाममा गरिदैँ आएका अभ्यासको निर्मम समीक्षा गर्ने समय आएको बताउनुभयो । मिडिया सञ्चालन गर्दा धरौटी राख्नुपर्ने व्यवस्था हुनुपर्ने, भावनाको व्यापार पत्रकारिताभित्र नपर्ने भन्दै स्वतन्त्रताको उपभोगसँगै कर्तव्य पालना गर्नुपर्ने उहाँको भनाइ थियो ।  बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले काउन्सिलले आचारसंहिताको परिधिभित्र रहेर स्वस्थ पत्रकारिताको विकासको लागि मिडियालाई नियमन र निर्देशन गर्ने गरेको बताउनुभयो । पत्रकार भुवन केसीले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै काउन्सिलको भूमिकाबारे प्रष्ट हुनुपर्ने बताउनुभयो । उहाँले सोसल मिडिया र पत्रकारिता बेग्लै भएकाले सबै युट्युबरले पत्रकार नै बन्न खोजेको हो होइन बुझ्नु पर्ने बताउनुभयो । अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले सोसल मिडियालाई जिम्मेवारी बोध गराउनुपर्ने, युट्युबलाई सङ्गठित गर्नुपर्ने, चौंथो पुस्ताको पत्रकारितालाई सशक्त बनाउनुपर्ने लगायतका धारणा राख्नुभयो ।

पत्रकार पवन पौडेलले सुन्दा उस्तै लाग्ने तर हिज्जे फरक हुने अनलाइनका नामका खोलिएका वेबसाइटले थप समस्या निम्ताउनेतर्फ सजग हुनुपर्ने बताउनुभयो । पत्रकार एवं सूचना प्रविधि विज्ञ विनोद भट्टराईले काउन्सिलले मिडियालाई गर्ने कारबाही सार्वजनिक गर्नुपर्ने बताउनुभयो । कपुरबोट डटकमका सञ्चालक सन्तोष देउजाले युट्युबबाट हुने आम्दानीलाई वैधानिक गराएर करको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले इन्टरनेटको प्रयोगबाट विभिन्न एप्स र सञ्जालमा आउने अडियो÷भिडियो पत्रकारिताभित्र नपर्ने उल्लेख गर्नुभयो । अनलाइन टिभी पत्रकार सङ्का वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीले कारबाहीमा परेका मिडियाको नाम सार्वजनिक गर्न नहुने धारणा राख्नुभयो । कसैको घरभित्र पसेर व्यक्तिगत कुरा सार्वजनिक गर्नु पत्रकारिताको नैतिकताभित्र नपर्ने चक्रपथ डटकमका सम्पादक कविता अधिकारीको भनाइ थियो । पत्रकार केपी ढुङ्गानाले सोसल मिडिया र मिडियामा भिन्नता रहेको भन्दै ४ बर्षको बालकलाई के सोध्ने, के नसोध्नेसम्मको ज्ञान नभई राखिने भिडियो, अनुमतिबेगर खिचिएको भिडियो, यौन्नजन्य भिडियोलगायतका सामग्री पत्रकारिताको मान्यताभित्र नपर्ने स्पष्ट पार्नुभयो । डिजिटल मिडिया फाउन्डेसनका प्रवेश सुवेदीले समस्या हरेक क्षेत्रमा हुने काउन्सिलले सैद्घान्तिकरूपमा प्रष्ट भएर आ–आफ्नो कर्तव्य अघि बढाउन सुझाव दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले प्रविधिको विकाससँगै पत्रकारिताको क्षेत्र पनि फराकिलो बन्दै गएकाले समस्याहरू बढेको बताउनुभयो । उहाँले सामाजिक सञ्जाललगायत इन्टरनेटका माध्यमबाट प्रकासन हुने सामग्रीलाई पत्रकारिता भनेर अङ्गिकार गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गरेर निष्कर्ष निकालिने बताउनुभयो ।कार्यक्रम सञ्चालन गर्नुहुँदै वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले सहभागीबाट आएका सल्लाह र सुझावबाट ‘अनलाइन टिभी. (युट्युबलगायत सामाजिक सञ्जाल) र अनलाइन मिडियालाई व्यवस्थित गर्ने’ विषयमा गृहकार्य गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा नेपाल युट्युब पत्रकार सङ्घका सचिव मिलन सिंह, खबरप्रवाहका पत्रकार सुरेन कुँवर, अनलाइन टिभी सङ्घका उपाध्यक्ष कुशल खत्री, काउन्सिलका उप– प्रशासकीय अधिकृत रामशरण बोहरा लगायतको सहभागिता थियो ।

समाचार तथा तस्बिरः प्रेस काउन्सिल नेपाल

 

प्रतिक्रिया :