संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

विद्यार्थीसँग प्रेस काउन्सिल

सुनसरी जिल्लाको जनता बहुमुखी क्याम्पस,स्नातक तह दोस्रो वर्षमा पत्रकारिता तथा आमसञ्चार विषय अध्ययनरत विद्यार्थीसँग पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारिता पेसा समाजको ऐना भएकाले हरेक सचेत नागरिकले सञ्चार माध्यममा आएका सामग्रीमा कहीँकतै आचारसंहिता उल्लङ्घन भए/गरे त्यसविरुद्ध आवाज उठाउनु कर्तव्य भएको बताउनुभयो । उहाँले काउन्सिलको अधिकार क्षेत्रभित्र आधिकारिक रूपमा दर्ता भई सञ्चालनमा आएका मिडियाका सामग्री पर्ने भएपनि सामाजिक सञ्जालमा आउने सामग्रीको अनुगमन एवं नियमनका लागि प्रयास भइरहेको बताउनुभयो ।

कार्यक्रममा जनता बहुमुखी क्याम्पसका सहायक प्राध्यापक गणेशकुमार पौडेलले पत्रकारलाई आचारसंहितामा रही कर्तव्य निर्वाह गराउन काउन्सिलले के कस्तो कदम चालेको छ ? भन्ने जिज्ञासा राख्नुभएको थियो । सोको जवाफ दिँदै काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले विभिन्न समयमा सम्बन्धित जिल्लामा गएर पत्रकार तथा सञ्चारकर्मी एवं सरोकारवाला निकायको सहभागितामा आचारसंहिता जागरण कार्यक्रम, प्रशिक्षण तथा अन्तरक्रिया गर्दै आएको बताउनुभयो । उहाँले सञ्चारमाध्यममा आउने सामग्रीको सकारात्मक एवं नकारात्मक पक्षका सम्बन्धमा विद्यालयस्तरबाट नै जानकारी गराउन आवश्यक भएकाले सरकारसँग पाठ्यक्रममा समावेश गराउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो ।

विद्यार्थीका तर्फबाट शान्ति गजमेरले सामाजिक सञ्जालमा हुने गरेका आचारसंहिता उल्लङ्घनका विषयमा काउन्सिलले के–कसरी कारबाही एवं नियमन गर्दछ भन्ने प्रश्न राख्नुभयो । सहभागीका जिज्ञासाबारे जवाफ दिँदै काउन्सिलका उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराले काउन्सिलको स्थापना, गठनप्रक्रिया, काम, कर्तव्य र अधिकार तथा पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६)का विषयमा विस्तृत जानकारी गराउनुभयो । उहाँले हालसम्म काउन्सिलमा सुचीकृत अनलाइन मिडिया, सूचना तथा प्रसारण विभागमा दर्ता भएका आमसञ्चार माध्यम र दर्ता भएका सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण भएका सामग्रीबारे काउन्सिलमा परेका जनगुनासो एवं काउन्सिलले गर्दै आएको स्वअनुगमन र स्वअनुगमनका लागि प्रयोग भइरहेका अनुगमन प्रणालीका बारेमा पनि कार्यक्रममा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जनता बहुमुखी क्याम्पसका तर्फबाट काउन्सिललाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया :