संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

अपाङ्गतामैत्री सञ्चार निर्देशिका, २०७३ कार्यान्वयन गराउन काउन्सिल प्रतिवद्ध

१८ फागुन, काठमाडौँ
सम्झना पौडेल ।

अपाङ्गतामैत्री सञ्चार निर्देशिका, २०७३ को प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल अपाङ्ग मानवअधिकार केन्द्रको संयोजनमा सञ्चारमाध्यमहरूसँग भएको अन्तरक्रियात्मक कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले आमसञ्चारमाध्यममा अपाङ्गता भएका व्यक्तिको अधिकार र गरिमामा आँच आउने शब्द वा आशय प्रकट नहोस् भन्ने ध्येयका साथ निर्देशिका आएको बताउनुभयो । उहाँले पत्रकारले आफ्नो कर्तव्यपालनाको क्रममा अपाङ्गता भएका व्यक्तिप्रति थप जिम्मेवार, संवेदनशील र उत्तरदायी हुनुपर्ने बताउनुभयो । अबका दिनहरुमा काउन्सिलले यस्ता कार्यक्रम जिल्ला तथा प्रदेशस्तरमा पनि लैजाने उहाँको भनाइ थियो । उहाँले काउन्सिलमा अपाङ्गतामैत्री भवन नभएका कारण कुनैपनि अपाङ्गता भएका व्यक्ति वा सेवाग्राही सेवा लिन जादाँ भुईतलाबाटै सेवा दिने गरेको भन्दै त्यसलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

काउन्सिलका बोर्ड सदस्य दीपक पाण्डेले दैनिक व्यवहारमा अपाङ्गतामैत्री शब्दको प्रयोग गर्न सकेमात्र अपाङ्गतामैत्री सञ्चार निर्देशिकाको कार्यान्वयन हुनसक्ने भन्दै यसलाई अझ प्रचारप्रसार गर्दे लगिने स्पष्ट पार्नुभयो ।

काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको अधिनमा रही अपाङ्गतामैत्री सञ्चार निर्देशिका, २०७३ जारी गरेको बताउनुभयो । उहाँले उक्त निर्देशिकाबारे प्रभावकारी कार्यान्वयन हुन आवश्यक भएको भन्दै सञ्चारमाध्यममा निर्देशिकाको के–कस्तो अभ्यास भएको छ, अनुगमनबाट के देखिएको छ भन्ने बारेमा छलफल गर्न कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

इमेज टेलिभिजनका कार्यकारी अधिकृत लक्ष्मण हुमागाईँले यो निर्देशिका पालनाको लागि समाचारकक्षमा निर्देशन गरिएको भन्दै सञ्चारमाध्यमले प्रस्तुत गर्ने हाँस्य टेलिशृङ्खलामा प्रयोग हुने पात्रहरूले अपाङ्गता भएका व्यक्तिलाई पीडा दिने गरेको भन्दै अबका दिनहरूमा सजगता अपनाइने बताउनुभयो ।

एपी वान टेलिभिजनका प्रधान सम्पादक टिकाराम यात्रीले इतिहासका साहित्य अपाङ्गतामैत्री नहुनु अहिले चर्चाको विषय बनाउन नहुने भन्दै अबका साहित्य अपाङ्गतामैत्री हुनुपर्ने बताउनुभयो । पत्रकारले अपाङ्गतामैत्री शब्दको प्रयोग गर्न नसक्ने हो भने आम जनमानसमा नै त्यसको असर पर्ने भएकाले पत्रकारितामा थप संवेदनशीलता अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

वरिष्ठ पत्रकार ऋषि धमलाले आफूले चलाउने कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको गरिमा प्रतिकूल हुने शब्द अन्तर्वार्ता दिनेले प्रयोग गरेमा तत्काल प्रतिवाद गर्ने बताउनुभयो ।

थाहा खबरका सम्पादक तिर्थ कोइरालाले इतिहासको आलोचना गर्नुभन्दा वर्तमानमा भएका कमजोरीलाई सच्चाउँदै अपाङ्गतामैत्री वातावरण सिर्जना गर्नुपर्ने र त्यसको अभ्यास घरबाटै हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ पत्रकार कपिल काफ्लेले प्रेममा मान्छेले जानेर वा जनानेर अपाङ्गता भएका व्यक्तिलाई असर पुग्ने शब्दको प्रयोग गर्ने भएकाले अबको दिनहरुमा आफ्नो ब्यवहारबाटै अपाङ्गतामैत्री वातावरण बनाउने उल्लेख गर्नुभयो ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले पत्रकार आचारसंहिता—२०७३ को दफा (१२) ले दिएको अधिकार प्रयोग गरी नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिल नेपालद्वारा अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३ जारी गर्दाका दिनहरू स्मरण गराउनुभयो । उहाँले पत्रकारितामा मात्र नभइ कलाकारिता, वृतचित्र, साहित्य, गीतसङ्गित अपाङ्गतामैत्री नभएको बताउनुभयो ।

नेपाल अपाङ्ग मानवअधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश अधिकारीले अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३ अपाङ्गता भएका व्यक्तिहरूको अधिकार भएको बताउनुभयो । उहाँले रचनाहरू अपाङ्गतामैत्री हुन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका समाचार प्रमुख, सम्पादक, संवाददाता, अपाङ्गता क्षेत्रमा कार्यरत सङ्घ संस्थाका व्यक्तिलगायत ४५ जनाको सहभागिता थियो ।

प्रतिक्रिया :