संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिलले मिडिया अनुगमनलाई अझै तीब्रता दिनुपर्नेः सरोकारवाला

फागुन ७, काठमाडौँ
सम्झना पौडेल

नेपाल सरकारका विभिन्न महत्वपूर्ण निकायका उच्च पदस्थ व्यक्तिहरुले प्रेस काउन्सिल नेपालको मिडिया अनुगमनलाई अझै तीब्र बनाइनुपर्नेमा जोड दिनुभएको छ ।

प्रेस काउन्सिल नेपालअन्तर्गत प्रेस स्वतन्त्रता अनुगमन उपसमितिद्धारा आज काउन्सिल सचिवालय सञ्चारग्राम, तिलगङ्गा काठमाडौँमा आयोजित प्रेस स्वतन्त्रताको संरक्षण सम्बन्धमा भएको अन्तरक्रियात्मक कार्यक्रममा वक्ताहरूले उक्त कुरामा जोड दिनुभएको हो । उक्त अवसरमा उहाँरूले सरकारसँग थप बजेट मागेर पनि काउन्सिलको उपस्थिति जिल्ला/ जिल्लामा समेत विस्तार गरिनुपर्ने धारणा राख्दै पत्रकारहरूलाई राज्य, समाज र नागरिकप्रति थप जिम्मेवार र मर्यादित भएर पत्रकारिता गराउन काउन्सिलले निरन्तर अभिमुखीकरण तालिम दिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारको नाममा परिचय नखुलाई समाचार माग्नेलाई छानविन नगरी सूचना दिन नहुने बताउनुभयो । उहाँले काउन्सिलले आम नागरिकको गुनासो २४ घण्टा सुन्ने गरेको जानकारी दिनुहुँदै नेपाल प्रेस इन्स्टिच्यूटसँग सहकार्य गरेर कर्णालीमा ३५ जना पत्रकारलाई तालिम दिन गइरहेको बताउनुभयो । उहाँले कार्यक्रमले एक अर्कासँगको सम्बन्ध र काम, कर्तव्य  एवं अधिकार बुझ्ने मौका मिलेको भन्दै यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू आगामी दिनमा अझै गरिने प्रतिबद्धता जनाउँदै भन्नुभयो – ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारिता मैत्री’ प्रेस काउन्सिल नेपालभित्र धेरै कुरा समेटिएकाले यसको पालनातर्फ पत्रकारहरू जिम्मेवार बन्नुपर्छ ।

कार्यक्रमको सहजीकरणका साथ काउन्सिलका बोर्ड सदस्य एवं यस उपसमितिका संयोजक दीपक पाण्डेले समयमा सूचना प्रवाह नहुँदा गलत सन्देश प्रवाह हुनेतर्फ ध्यान दिइनुपर्ने बताउनुभयो । उहाँले काउन्सिलले अनुगमन बढाउँदै लगेको बताउँदै आचारसंहिता जागरण अभियान जिल्ला/जिल्लामा गरिने गरेको जानकारी दिनुभयो ।

काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले पत्रकारले सत्य सूचनाको प्रवाह गर्नुपर्ने, गलत समाचारलाई स्थान दिन नहुने भन्दै काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा ध्यान दिने गरेको बताउनुभयो । उहाँले मिडिया र सरकारसँग सम्बन्ध सेतुको भूमिकामा काउन्सिल रहेको र अनलाइनबाटै उजुरी गर्न सकिने जानकारी गराउनुभयो ।

वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले पत्रकार आचारसंहिताको विकासबारे स्पष्ट पार्नुहुँदै काउन्सिलले आचारसंहिता जारी गरेसँगै मिडियालाई पालना गर्ने/गराउने गरेको, उजुरी, जनगुनासो सुन्ने गरेको तथा आवश्यक परेको खण्डमा मेलमिलाप गराउनेसम्मको अभ्यास गरेको बताउनुभयो । उहाँले साउनदेखि हालसम्म काउन्सिलमा ११६ वटा उजुरी परेको, १७४ वटा स्वअनुगमन भएको तथा काउन्सिलमा फागुन ६ गतेसम्म २५४४ वटा अनलाइन सूचीकरण भएको जानकारी दिनुभयो ।

नेपाली सेनाका सहायक रथी(सूचना अधिकारी) सन्तोष बल्लभ पौडेलले पत्रकारले नै आचारसंहिता पालनामा ध्यान दिनुपर्ने बताउँदै पत्रकारको पहिचान, विट पत्रकारिता, उजुरीको दायरा बढाउनुपर्ने जस्ता विषयमा अझै सक्रिय बन्न काउन्सिलालाई सुझाव दिनुभयो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले पत्रकारले विरोधका समाचार मात्र दिन नहुने बताउनुभयो ।

सूचना तथा प्रसारण विभागका निमित्त महानिर्देशक ईश्वरराज दाहालले सूचना विभागले दिएको प्रेस कार्डको समेत दुरूपयोग हुने गरेको भन्दै विभाग र काउन्सिल मिलेर थप गृहकार्य गर्न आवश्यक भएको बताउनुभयो ।

सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (प्रवक्ता) राजु अर्यालले काउन्सिलले गरेको स्वअनुगमन र कारबाहीलाई बाहिर ल्याउनुपर्ने बताउनुभयो । जिल्लाका पत्रकारलाई तालिम दिइनुपर्ने उहाँको धारणा थियो ।

महानगरीय प्रहरी कार्यालयका एसपी (प्रवक्ता) सुशील सिंह राठौरले सूचना प्रवाहमा आफूहरू प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले पत्रकारले व्यक्तिगत लान्छना लाउने, सभा सम्मेलन तथा घटनास्थलमा प्रवेश गर्न निषेध गरेको ठाउँमा जबर्जस्ती जाने र विवाद गर्ने गरेको भन्दै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । घटनाको अनुसन्धान नसक्दै पत्रकार न्यायकर्ता बन्ने गरेकाले त्यसले समग्र अनुसन्धानलाई नै प्रभाव पार्ने भएकाले यस्ता विषयमा सुक्ष्म तरिकाले पत्रकारलाई प्रशिक्षण दिइनुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव (सूचना अधिकारी) सोमनाथ सुवेदीले आचारसंहिताको विषय आयोगको पनि दायराभित्र पर्ने गरेकाले काउन्सिलसँग सहकार्य गर्न आयोग तयार भएको बताउनुभयो । उहाँले पत्रकारले अनुसन्धान र घटनाको संवेदनशीलतालाई बुझी सुरक्षासँग सम्बन्धित विषयमा समाचार लेख्दा पत्रकार थप जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय महिला आयोगका प्रवक्ता मीरा शेरचनले पत्रकारसँग अहिलेसम्म सुसम्बन्ध रहेको बताउँदै काउन्सिलले अनुगमनलाई अझ विस्तृत पार्न सुझाव दिनुभयो ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले समाचार छिटो दिने होडबाजीका नाममा हुने गलत सञ्चारले समग्र समाजलाई अतिरञ्जित गर्ने भएकाले सम्बन्धित पक्षसँग बसेर त्यस्ता समाचार प्रवाह हुन नदिनेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत यज्ञराज जोशीले सत्य कुराको अभ्यासमा पत्रकार लागेमात्रै स्वस्थ समाज र देश निर्माणमा टेवा पुग्ने भएकाले पत्रकारिता जगतमा सूचनाको प्रयोगसँगै सत्य र तथ्यको प्रयोग आवश्यक पर्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले शान्ति सुरक्षा र राष्ट्रिय सुरक्षाको विषयमा समाचार लेख्दा पत्रकार जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

न्यूज एजेन्सी नेपालका पत्रकार सविन धमलाले देशमा संकट परेको समयमा सूचनाको पहुँचसम्म स्रोत नपुग्दा समाचारको तथ्य बङ्याएर समाचार आउने भएकाले यसतर्फ सजग र सचेत रहनुपर्ने भनाइ राख्नुभयो।

प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता अनुगमन तथा कानून शाखा अधिकृत गिता पराजुलीद्धारा सञ्चालित उक्त कार्यक्रममा वरिष्ठ कम्प्यूटर अपरेटर सविता बानिया, मिडिया अनुगमनकर्ता विनय बजगाईँ, विपुल पाण्डे र सम्झना पौडेलले वेबसाइट अपडेट, तस्बिर तथा प्रतिवेदनलगायतका विषयमा भूमिका खेल्नुभएको थियो ।

तस्बिरः विपुल पाण्डे

प्रतिक्रिया :