संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सिन्धुलीमा पत्रकार आचारसंहिता र कोभिड १९ ले मिडियामा परेको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

सिन्धुली ।

प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासङ्घ सिन्धुली शाखाको संयोजनमा २०७७ मङ्सिर ३० गते पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीको सभापतित्वमा भएको कार्यक्रममा कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य एवं सञ्चार विज्ञ ईश्वरीप्रसाद ओझाले प्रेस काउन्सिलले पत्रकार आचारसंहिता उल्लङ्घनमा कारबाही मात्रै नगरी प्रेसजगत्का समस्याबारे सरकारसँग पहल गर्ने, प्रेस स्वतन्त्रता अक्षुण्ण राख्न क्रियाशील रहँदै आएको बताउनुभयो ।

उहाँले सञ्चारमाध्यम जोगाउन मिडिया मैत्री नीति बन्नुपर्ने भन्दै पत्रकारलाई आफ्नो जिम्मेवारी बहनका क्रममा धम्की आउने गरेकोले यसतर्फ सबै सजग हुनुपर्ने बताउनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पत्रकारले दिने नकारात्मक समाचारले समाजलाई विभक्त बनाउने तथा भ्रमित बनाउने हुँदा आचारसंहिताको परिधिमा रहेर समाचार सम्पे्रषण भए जनता सुसूचित हुने बताउनुभयो । सिन्धुलीका पत्रपत्रिका रेडियो लगायत सञ्चारमाध्यम बन्दाबन्दीको बेलामा पनि १/२ दिनबाहेक बन्द भएको महसुस नभएको भन्दै उहाँले कठीन परिस्थितिमा मिडियाले निभाएको भूमिकाको प्रशंसा गर्नुभयो । १० महिने आफ्नो कार्यकालमा आचारसंहिता प्रतिकूल समाचार तथा लेख आएको महसुस नगरेको भन्दै उहाँले जनताले प्रत्यक्ष सेवा पाउने निकायबाट सेवा नपाएको सम्बन्धी तथ्य सूचना आएमा  हैसियतले भ्याएसम्म तत्काल समाधान हुने व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अहिले खासगरी युट्युब च्यानलबाट प्रसारण हुने सामग्रीले समाजलाई भ्रमित बनाउनुका साथै सामाजिक सद्भाव खलल पारेकोले यस्ता सामग्री, युट्युबलगायत सामाजिक सञ्जाललाई नियमन नगर्ने हो भने आगामी १० वर्षमा परिवारभित्र, घरघरमा द्वन्द्व निम्त्याउने खतरा रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले आचारसंहिता पालना गरेर आफ्नो पेसा निर्वाह गरेमा कुनै समस्या नहुने बताउनुभयो । आचारसंहिता बनेर मात्र नहुने भन्दै उहाँले त्यसको कार्यान्वय हुन सकेमात्र पेसालाई मर्यादित बनाउन सकिने बताउनुभयो । पत्रकार तथा नियमनकारी निकायले यसकोे प्रभावकारी कार्यान्वयनमा जोड दिनेमा आफू विस्वस्त रहेको उहाँको भनाई थियो ।

कुनै संचारमाध्यममा प्रकाशित समाचारका विषयमा प्रमाणसहित खण्डन प्रकाशन गर्न अनुरोध गर्दा पनि खण्डन नआउने गरेको गुनासो गर्दै उहाँले पत्रकार आचारसंहिताको पूर्ण पालना हुन सके कहिँकतै पनि समस्या नपर्ने धारणा राख्नु भयो ।

पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्दै प्रेस काउन्सिलका सदस्य चेतनाथ धमलाले पत्रपत्रिका वर्गीकरणमा कुनै भेदभाव नभएको प्रष्ट पार्नुभयो । वर्गीकरणमा गलत भएको महसुस भएको छ भने काउन्सिलमा उजुरी दिन सक्ने भन्दै उहाँले साथै नियमानुसार दर्ता एवं सूचीकरण नभएका वेबपोर्टलहरुबाट आपत्तिजनक सामग्री सम्प्रेषण भएमा अन्य कानुन आकर्षित हुने हुँदा काउन्सिलले सहज व्यवस्थाका लागि पनि अर्को व्यवस्था नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि पत्रकार तथा त्यस्ता न्यूजपोर्टलको सुरक्षार्थ नै दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल बार, सिन्धुलीका अध्यक्ष जंगबहादुर राई, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्ले, जिल्ला हुलाक सिन्धुलीका प्रमुख राजेन्द्रप्रसाद प्याकुरेल, सिन्धुलीका प्रमुख जिल्ला अधिकारीलगायत पत्रकार वरुण लामिछाने, प्रेम दाहाल, नवीन अधिकारीले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

नेपाल पत्रकार महासङ्घ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रम पत्रकार महासंघ सिन्धुली शाखाका सचिव बिदुर पौडेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले पत्रकार आचारसंहिता तथा कोभिड १९ ले मिडियामा परेको प्रभावका सम्बन्धमा प्रस्तुति राख्नु भएको थियो ।

(तस्वीर ः राजन सिंह)

प्रतिक्रिया :