संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

मिडियाको विकासको लागि सहयोग गर्ने मेयरको प्रतिबद्धता

स्याङ्जा २८ कार्तिक ।

वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँडले पत्रकारिता क्षेत्रको दीगो विकास एवं हकहित, उत्थानको लागि संस्थागतरूपमा प्रस्तावना आएमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासङ्घ स्याङ्जा शाखाको संयोजनमा बिहीबार वालिङमा आयोजित पत्रकार आचारसंहिता र कोभिडको मिडिया प्रभावसम्बन्धी कार्यक्रममा बोल्दै प्रमुख खाँडले मापदण्ड बनाई न्यायिकरूपमा विज्ञापनसमेत प्रदान गर्ने बताउनुभयो ।

सञ्चार सामग्री तथा पुरस्कार नगरपालिकाले दिँदा नराम्रो प्रभाव पर्ने, भ्रष्टाचारसम्बन्धी विषय बाहिर आउन नसक्ने हुँदा सम्बन्धित निकाय वा पेशागत संगठनबाट नै उचित हुने, क्रियाशील पत्रकार एवं मिडियाको दीगो, गुणात्मक विकासको लागि स्थानीय तहबाट सक्दो प्रयास गर्ने उहाँको भनाइ थियो ।

उपप्रमुख कल्पना तिवारीले समाज सेवा गरेर पुण्य कर्म गरिरहेका मिडियाले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको, समाज सभ्य र मर्यादित बनाउने पेसा भएकोले क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले “स्थानीय मिडियामा कोभिडको असर” विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै कानुनी क्षेत्राधिकारभित्र रहेर श्रमजीवी पत्रकारको हितमा नीतिगत व्यवस्था गर्न न्यायिक लडाइँ लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पत्रकार महासङ्घ वालिङ शाखाका अध्यक्ष ओमप्रकाश शर्माले प्रेस काउन्सिल पत्रकारहरूको अभिभावक संस्था भएको हुँदा पत्रकारको रोजीरोटी गुमेको अवस्थामा तालिम, अनुदान, बीमा, अध्ययन छात्रवृत्ति, सफ्ट लोनको व्यवस्था गर्न छिटै पहल गर्नुपर्ने उल्लेख गर्दै “स्याङ्जा जिल्लाको मिडियाको वस्तुगत स्थिति” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रेस युनियन स्याङ्जाका प्रदिप कोइराला, गल्याङ पोष्ट साप्ताहिकका टिकाराम अधिकारी, न्युज २४ का माधव गैरे, नेपाल समाचारपत्र दैनिकका भुपराज बस्याल, पब्लिक आवाज साप्ताहिकका श्रीकृष्ण सिग्देल, वालिङ टिभीका जोगराज पाठक, कान्तिपुर टिभीका निर्भिकनारायण भुर्तेललगायतले सङ्घीयता आउँदा पनि सेवा लिन राजधानी नै पुग्नुपर्ने, केबुल टेलिभिजन र अनलाइनलाई लोककल्याणकारी विज्ञापन उपलब्ध हुन नसकेको, कोभिडले अर्थतन्त्र ठप्प हुँदा थप समस्या बढेको हुँदा ऋण, अनुदान, क्षमता अभिवृद्धि तालिम प्रदान गर्नुपर्ने, पुरस्कार र पत्रपत्रिका वर्गीकरणमा प्राथमिकता नदिएको भन्दै समस्या समाधानको लागि पहल गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा शाखाका उपाध्यक्ष भवानी अधिकारीले स्वागत मन्तव्य, प्रेस काउन्सिलका वरिष्ठ सहायक महेन्द्रराज सिंहले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने शाखाका सचिव हरिप्रसाद सुबेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा ३२ जना सहभागी थिए ।

प्रतिक्रिया :