संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पर्वतमा पनि सकियो पत्रकार आचारसंहिता र मिडियामा कोभिड प्रभावसम्बन्धी अन्तरक्रिया

पर्वत २६ कार्तिक ।

फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले जिल्लास्थित सातैवटा स्थानीय तह एवं मिडियासँग छलफल गरी मापदण्ड बनाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रेस काउन्सिल नेपालको आयोजना एवं पत्रकार महासङ्घ पर्वत शाखाको संयोजनमा बुधबार कुश्मामा आयोजित ”पत्रकार आचारसंहिता र मिडियामा कोभिड प्रभावसम्बन्धी” कार्यक्रममा उहाँले कोभिडले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पारेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दुर्गा भण्डारीले विगतदेखि नै श्रमजीवी पत्रकार मारमा परिरहेका, ठूला मिडियाद्वारा दशकौंदेखि स्ट्रिन्जरकै रूपमा राखिएको र कतिपयलाई कोभिडको बहाना बनाएर रोजगारीबाट हात धुने अवस्थामा पुर्‍याएको भन्दै नीति निर्माण तहमा इस्यूलाई जोडदार उठाउने बताउनुभयो ।

पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति महासचिव गणेश पौडेलले प्रदेश सरकारसमक्ष सङ्कटमा मिडियासम्बन्धी प्रस्तावना लिएर जाँदा आश्वासन मात्रै प्राप्त भएको, आश्वासन दिएपनि सहयोग प्राप्त नभएको, पत्रकारको वास्तविक अवस्था भयावह रहेको बताउनुभयो।

पत्रकार महासङ्घ पर्वत शाखाका अध्यक्ष छबिलाल तिवारीले सरकारी तथा नीजीस्तरबाट प्राप्त हुने विज्ञापन ठप्प भएको, परिवर्तनपछि जनप्रतिनिधिबाट सोचेजस्तो उल्लेखनीय सहयोग नमिलेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पत्रकार महासङ्घ पर्वत शाखाका पूर्व अध्यक्ष एवं रेडियो शालिकरामका सञ्चालक ओमप्रसाद घायलले पर्वत जिल्लाको अवस्थाबारे चित्रण गर्दै सञ्चारमाध्यममध्ये रेडियोको अवस्था दयनीय रहेको उल्लेख गर्नुभयो ।
पत्रकार महासङ्घ पर्वतका सचिव गणेश गिरीले जिल्लाको सञ्चारमाध्यमको वर्तमान अवस्था, चुनौती र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

प्रेस काउन्सिल नेपालका वरिष्ठ सहायक महेन्द्रराज सिंहले प्रेस काउन्सिलबाट प्रवाह हुने सेवासुबिधा एवं गतिविधिबारे जानकारीको साथै कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो।

प्रेस संगठन नेपालका सन्तोष थापा, प्रेस युनियनका माया अधिकारी, रेडियो शालिग्रामका सन्तोष केसी, कान्तिपुर दैनिकका अगन्धर तिवारी, रेडियो समृद्ध नेपालका उत्तमप्रसाद अधिकारी, लालटिन मिडियाका सुमनजङ्ग थापा, सबैका कुरा डटकमका ठाकुर रसाइली, पञ्चासे एफएमका स्टेशन म्यानेजर लक्ष्मण सापकोटालगायतले समानुपातिक विज्ञापन नीति कार्यान्वयन नहुँदा, विद्धुतीय सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन नहुँदा, कोभिडबाट उत्पन्न सङ्कटले विज्ञापन बजार ठप्प भई मोफसलका मिडिया टिक्न गार्‍हो परेको, मुलुकमा सङ्घीयता आएपनि मिडियासम्बन्धी सेवा लिन राजधानी धाउनुपर्ने बाध्यता रहेको, मिडिया व्यवस्थित हुन नसकेको धारणा राख्नुभएको थियो ।

साथै सहभागीहरूले प्रेस काउन्सिलको कामकारबाही एवं त्यहाँबाट प्रवाह हुने सेवाबारे जिज्ञासा राखेका थिए। कार्यक्रममा ३२ जना पत्रकारको सहभागिता रहेको थियो । शाखाका सचिव गणेश गिरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।

प्रतिक्रिया :