संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

रुपन्देहीमा पनि सकियो कोभिडको प्रभावबारे काउन्सिलको पत्रकार अन्तरक्रिया

काठमाडौँ २२ कार्तिक ।

प्रेस काउन्सिलको आयोजना र नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको संयोजनमा शुक्रबार बुटवलमा कोभिड–१९ ले पत्रकारितामा पारेको प्रभावका विषयमा अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा सहभागी पत्रकारहरुले आफ्नै अधिकार कुण्ठित भएको पीडा सुनाए । कोरोनाको संक्रमण, जागिर गुम्ने जोखिम, बेतलवी बस्नुपर्ने बाध्यता, असुरक्षा लगायतका कारण पेसागत अधिकार कुण्ठित भएको बताए । उनीहरुले प्रेस काउन्सिलले पत्रकारको समस्यामा अभिभावकीय भूमिका निर्वाह गरेर सबै पत्रकारको पेसागत सुरक्षा सुनिश्चित गराउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द आचार्यले मुलुकका हरेक परिवर्तनमा सकारात्मक भूमिका खेलेका सञ्चारकर्मीलाई अहिलेको संकटपूर्ण अवस्थामा जबर्जस्ती कामबाट बेरोजगार बनाउने सञ्चारमाध्यमका सञ्चालकको हर्कत अन्यायपूर्ण, निन्दनीय र अमानवीय रहेको भन्दै यस्तो परिस्थितिका बारेमा काउन्सिलले र पत्रकार महासंघले संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।

देशभरका पत्रकार र सञ्चारमाध्यमको अवस्था र कोरोनाको प्रभावबारे सुझावसहितको अध्ययन प्रतिवेदन सरकारलाई बुझाइएको भन्दै महासंघका अध्यक्षसमेत रहेका आचार्यले प्रेस काउन्सिल जिम्मेवारीका साथ पत्रकारको सुरक्षाका लागि लागिपरेको बताउनुभयो । उहाँले मिडिया व्यवसाय चलाएपछि त्यहाँ हुने नाफा वा घाटा दुबै लगानीकर्ताले व्यहोर्नुपर्ने भन्दै मिडिया उचित कारणसहित बन्द गर्नुपरे पनि नियम र कानूनअनुसार विभिन्न सुविधा तथा उपादान दिएर मात्र श्रमजीवीको विदाइ गर्नुपर्ने धारणा राख्नुभयो ।

सर्वेक्षणअनुसार कोरोना महामारीका कारण देशभरका सञ्चारसंस्थाबाट पाँच सय बढी पत्रकारले जागिर गुमाउनुपरेको छ । सात सय पत्रकार बेतलवी बिदामा बसेका छन् भने आठ सय पत्रकारको तलब कटौती गरिएको छ । १५ सय बढी पत्रकारको झण्डै तीन महिनादेखिको पारिश्रमिक बाँकी छ ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीले विषम परिस्थितिमा समग्र सञ्चार क्षेत्रलाई परको असर मूल्याङ्कन गर्दै सरकारले कोभिड–१९ महामारी नियन्त्रणमा समेत महत्वपूर्ण योगदान पुर्‍याइरहेका सञ्चार क्षेत्रका लागि राहत तथा सहुलियतको अविलम्ब घोषणा गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया :