संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमणमा सञ्चार मन्त्री गुरुङ

१७ कार्तिक,२०७७
काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सम्बन्धित मन्त्रालय अन्तर्गतका विभाग, संस्थान र सम्वद्ध संस्थाहरुमा पुगि काम–कारबाहीबारे जानकारी लिनुभयो । यसै क्रममा उहाँले आज दिउँसो प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुहुँदै सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढेको उल्लेख गर्नुभयो । मन्त्री गुरुङले अवलोकनको क्रममा काउन्सिलको काम–कारकाही एवम् सञ्चारमाध्यमको अनुगमन तथा नियमनबारे जिज्ञासा राख्नुभयो । सञ्चारसम्बन्धी कानुनमा के/कस्तो सुधार गर्नुपर्ने हो सुझाव दिन पनि आग्रह गर्नुहुँदै उहाँले स्वतन्त्रताभित्र जवाफदेहीता हुनुपर्ने धारणा राख्नुभयो । ‘विभिन्न पक्षसँग अन्तरक्रिया गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर योजना निर्माण गर्न पनि उहाँले सुझाव दिनुभयो । काउन्सिल र मन्त्रालय मिलेर अगाडि बढ्नुपर्ने भन्दै उहाँले काउन्सिलले केकस्तो आधारमा कसरी अनुगमन गरेको छ ? सरोकारवालासँग छलफल हुनुपर्ने बताउनुभयो । हिजो कुन विधिलाई टेकेर अनुगमन गरियो भन्दा पनि वर्तमान परिस्थितिको आधारमा कोभिडको सङ्क्रमणमा मिडियाले के/कस्तो सन्देश प्रवाह गरेका छन् त्यसको रिपोर्ट तयार गर्न आग्रह गर्नुभयो । मिडियाप्रति जनमानसमा नकरात्मक धारणा बढ्दै गएकाले सकरात्मक सञ्चार प्रवाह गर्नु मिडियाको दायित्व भएको उल्लेख गर्दै उहाँले आवश्यक सहयोग, समन्वय र सहकार्यको लागि मन्त्रालय सधैँ तयार रहेको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले मिडियाबाट आएका सामग्रीहरु हेर्ने र उजुरी सुन्ने जिम्मा काउन्सिलको भएको बताउँदै यसबीच भए/गरिएका काम–कारबाहीको बिषयमा जानकारी दिनुभयो । उहाँले मन्त्री गुरुङको सफल कार्यकालको शुभकामना दिनुहुँदै कोभिडको महामारीमा पनि काउन्सिलको काम निरन्तर चलिरहेको जानकारी गराउनभयो । का.वा. अध्यक्ष बुढाथोकीले जोखिम मोलेरै भएपनि काउन्सिलले दिने सेवाबाट आफूहरु पछि नहटेको बताउँदै ८ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको २ जना निको हुनुभएको र प्रेस काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन नयाँ शैली अवलम्बन गरिएको जानकारी दिनुभयो । उहाँले प्रेस काउन्सिलसँग सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको आर्काइभ सिस्टम भएको भन्दै कोही कसैले गलत समाचार सम्प्रेषण गरेर डिलिट गरेपनि काउन्सिलसँग सुरक्षित रहने बताउनुँदै उहाँले आफू काउन्सिलमा आएदेखि आजको काम आजै सम्पादन गर्ने, उपत्यकाबाहिरबाट आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाए अनुरुपनै काम भैरहेको बताउनुभयो । उहाँले मन्त्री गुरुङबाट आवश्यक सहयोगको अपेक्षा रहेको बताउनुहुँदै उहाँको जोश र जागरलाई जीवन्त राख्न आफूहरु तल्लीन रहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले अनलाइनको नियमन र सुविधाको लागि श्रेणीकरण हुनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले पत्रपत्रिका वर्गीकरणको सन्दर्भमा धेरै प्रश्नचिन्ह उठ्ने गरेकाले वर्गीकरणको मापदण्डलाई ध्यानमा राखि निष्पक्ष मुल्याङ्कन गर्नुपर्ने बताउनुभयो । ७ वटै प्रदेशमा मिडिया अनुगमन गर्नुपर्ने बताउनुहुँदै उहाँले सीमित स्रोत र साधनको बाबजुद धेरै काम गर्नसक्नुपर्ने बताउनुभयो । अन्य पेसामा जस्तै पत्रकार बन्नको लागि पनि परीक्षा लिनुपर्ने र पास गरेपछि मात्रै पत्रकारिता गर्नुपर्ने धारणा राख्नुहुँदै प्रेस काउन्सिलले पनि अन्य काउन्सिलजस्तै पत्रकारको लाइसेन्स परीक्षा लिने कानुनी व्यवस्था हुनुपर्ने उहाँको धारणा थियो । २०४८ सालको ऐन छापामुखी भएकाले परिमार्जन गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

प्रेस काउन्सिल नेपालका प्रमुख–प्रशासकीय अधिकृत झविन्द्र भुसालले यहि असोज महिनासम्म काउन्सिलमा २२७५ अनलाइन सूचीकरण भएको जानकारी दिनुभयो । उहाँले छापा अन्तर्गत ३९ उजुरी, ३४ फछ्यौट र ५ वटा प्रक्रियामा रहेको तथा विद्युतीय अन्तर्गत १२७ उजुरी, ८६ फछ्यौट र ४१ वटा प्रक्रियामा रहेको जानकारी गराउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भुसालले पत्रपत्रिकारको वर्गीकरण, अनलाइनबाट उजुरी, मिडिया विकास कोषबाट सञ्चारमाध्यम एवं पत्रकारलाई दिइँदै आएको अनुदान, काउन्सिलको गठन, ऐन, नियम तथा मापदण्ड, काउन्सिलको पदाधिकारी नियुक्तिको प्रकृयाबारे पनि जानकारी दिनुभयो ।

कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्षले काउन्सिलको विभिन्न समयमा प्रकाशित पुस्तक प्रदान गर्नुभयो ।

मन्त्री गुरुङले मिडिया अनुगमन प्रयोग भएका मिडिया अभिलेखीकरण प्रविधिको अवलोकन गरी के/कसरी अनुगमन हुने गरेको छ भन्ने चासो राख्नुभएको थियो । मन्त्रीको जिज्ञासाबारे उप–प्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिनुभयो ।

कर्यक्रममा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दीपक पाण्डे, सूचना तथा प्रसारण विभागका महानिर्देशक एवं काउन्सिलका सदस्य–सचिव किरणराज शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव डिल्लीराम शर्मालगायतको उपस्थिति रहेको थियो ।

रिपोर्ट : सम्झना पौडेल
तस्विर : विपुल पान्डे

प्रतिक्रिया :