संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलले गर्यो निवर्तमान का.वा.अध्यक्ष श्रेष्ठ र सदस्य भण्डारीको विदाइ

२०७७।०६।१३, काठमाडौँ

प्रेस काउन्सिल नेपाल तथा कर्मचारी संघले संयुक्तरुपमा कार्यक्रम आयोजना गरी निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ तथा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य खिलबहादुर भण्डारीको विदाई गरेको छ । काउन्सिलको सभाहलमा एक कार्यक्रम गरी श्रेष्ठ तथा सदस्य भण्डारीलाई विदाई गरिएको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष श्रेष्ठले आफू प्रशासक हुनको लागि नजन्मिएको भन्दै आफूले काम गर्ने सिलसिलामा कहिल्यै बाधा व्यवधान खडा नगरेको बताउनुभयो । उहाँले केही समय काउन्सिलबाट अलग भएपनि आफू सधै पत्रकारिता र काउन्सिलको पक्षमा रहने स्पष्ट पार्नुभयो । आफ्नो कार्यकालमा विभिन्न पक्षबाट प्रहार भएपनि विचलित नभई काम गर्न सकेकोमा खुशि लागेको बताउँदै उहाँले आफ्नो नेतृत्वको कार्यकालमा सहयोग गर्ने सबै पदाधिकारी, कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा वर्तमान कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले छोरीको विदाई गर्नेबेला जतिनै मन बुझाउन खोजेपनि मन नमान्ने भन्दै का.वा. अध्यक्ष श्रेष्ठको कार्यकालमा भएको कामको उच्च प्रसंशा गर्नुभयो । उहाँले एकवटा गाडी नभएको काउन्सिलमा उहाँकै पालामा ४ वटा भएको, भौतिक संरचनाहरु बढेको भन्दै आफूलाई तरवारको धारमा राखेर जिम्मेवारी सुम्पनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । नेतृत्व पूर्वाग्रही नभई पारदर्शी हुन सकेमा संस्थाको प्रगति हुने र त्यसको लागि सदैव लागि पर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफू संस्थामा हुँदा संस्थाको शीर ठाडो पार्नु बाहेक कुनै स्वार्थ नरहेको स्पष्ट पार्नुभयो ।

सदस्य खिलबहादुर भण्डारीले काउन्सिल अविच्छिन्न संस्था भएकाले जाने आउने प्रक्रिया भैरहने भन्दै विदाईको क्षणमा कतिपनि दुःख नमानेको बताउनुभयो । उहाँले अब थप अवसरका ढोकाहरु खुल्ने भन्दै भौतिक शरीर काउन्सिलमा नरहेता पनि मन सधैँ रहने आफू संस्थाबाट बाहिरिएपनि संस्थाको हितमा खरो उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले काउन्सिलको हितको लागि निवर्तमान अध्यक्ष र सदस्यले काउन्सिलमा हुँदा गर्नुभएको कामको प्रसंशा गर्दै आगामि दिनमा पनि काउन्सिलमा पर्दा सहयोगको अपेक्षा गर्नुभयो । उहाँले बाँकी पत्रकारिताको यात्रामा आफूहरुसँगै रहने भन्दै थप सफलताको कामना गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले निर्वतमान अध्यक्ष श्रेष्ठको कार्यकालमा भएका राम्रा पक्षहरुको प्रशंसा गर्दै उहाँको बाँकी जीवन थप उर्जाशील बन्ने शुभकामना व्यक्त गर्नुभयो ।

कर्मचारी संघका अध्यक्ष सुरेन्द्र मल्लले कर्मचारीको तर्फबाट शुभकामना दिनुहुँदै निवर्तमान का.वा. अध्यक्ष र सदस्यको बाँकी जीवन सफलताको कामना गर्नुभयो । कार्यक्रममा प्रेस काउन्सिलका बोर्ड सदस्य ईश्वरीप्रसाद ओझा, नवलकिशोर यादव, चेतनाथ धमला , दीपक पाण्डे एवं कर्मचारीको सहभागिता रहेको थियो । यस्तै कार्यक्रममा निवर्तमान अध्यक्ष श्रेष्ठ र सदस्य भण्डारीलाई वर्तमान का.वा.अध्यक्षले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया :