संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

नेपाली भाषा सम्पादन, समस्या र समाधान

जेठ ५, काठमाडौँ

प्रेस काउन्सिल नेपालको आयोजनामा ‘नेपाली भाषा सम्पादन, समस्या र समाधान’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । काउन्सिलको सभाहलमा भएको सो कार्यक्रममा भाषासम्बन्धी प्राज्ञ, काउन्सिलका कार्यवाहक अध्यक्ष, बोर्ड सदस्य, विभिन्न मिडियाका प्रतिनिधि एवं काउन्सिलका कर्मचारीहरूको सहभागिता रहेको थियो । प्रशिक्षणमा पत्रकारले समाचार लेख्दा भाषाको शुद्धाशुद्धीमा ध्यान दिनुपर्ने सुझाइएको थियो । उक्त अवसरमा भाषाको महत्व, चुनौती, सामाजिक सञ्जालमा प्रयोग हुने भाषा लगायतका विषयबस्तुमाथि प्रकाश पारिएको थियो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ: प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भाषा बाँच्न सके मात्र देश बाँच्ने भएकाले यसको संरक्षणमा सबै एक हुनुपर्ने बताउनुभयो । उहाँले चीनले विकासमा यतिधेरै फ्ड्को मार्नुको पछाडि उनीहरुको लिपि एउटै हुनु रहेको बताउनुभयो । उहाँले प्रेस काउन्सिल नेपालभित्रै बृहत् नेपाली शब्दकोषको १० औं संस्करणको प्रयोग गर्ने निर्णय भैसकेको जानकारी दिनुभयो । का.वा अध्यक्ष श्रेष्ठले भाषाको बिषयमा पत्रकारहरूले गल्ती गर्ने अवस्था आएकाले राम्रा पत्रकार जोगाउनको लागि पनि १० औं संस्करण उपयोगी हुने धारणा राख्नुभयो ।

प्राध्यापक डाक्टर धनप्रसाद सुवेदी: प्रशिक्षणमा प्राध्यापक डाक्टर धनप्रसाद सुवेदीले नेपाली भाषाको वर्णविन्यास लगायतका विषयबस्तु समेटिएको ७ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्नुभयो । नेपाली लेखनमा एकरुपता नभएको,सञ्चारगृह र प्रकाशन संस्थाहरुले आ–आफ्नै नियम बनाएर भाषा सम्पादन गरेको उहाँले उल्लेख गर्नुभयो । आफूलाई भाषाका विज्ञ ठान्नेहरुले आफूखुशी गरिरहेका ,विश्वविद्यालयहरू, नेपाल प्रज्ञा प्रतिष्ठान, पाठ्यक्रम विकास केन्द्र जस्ता जिम्मेवार संस्थाहरूको पनि आआफ्नै नियम हुनुले समस्या बढाएको उहाँको धारणा थियो । प्रा.डा.सुवेदीले शब्द स्रोतमा विविधता, उच्चारण र लेखाइमा भिन्नता,अङ्ग्रेजी भाषाप्रतिको आसक्ति र नेपाली भाषाप्रतिको सङ्कीर्ण सोचाई, भाषिक सम्पादन कार्यलाई विज्ञता र व्यवसाय नमान्नु नै नेपाली भाषा सम्पादनका मुख्य समस्या भएको उल्लेख गर्नुभयो । उहाँले नेपाली सञ्चार माध्यममा भाषिक प्रयोगको अवस्थाबारे उदाहरण प्रस्तुत गर्दै नेपाली शब्दको उच्चारणलाई अङ्ग्रेजीकरण गर्ने , जथाभावी कोड परिवर्तन गर्ने प्रवृत्ति रोक्नुपर्ने सुझाव दिनुभयो ।

प्राध्यापक डाक्टर कुमारप्रसाद कोइराला: प्राध्यापक डाक्टर कुमारप्रसाद कोइरालाले प्रा.डा.धनप्रसाद सुवेदीले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गर्नुभयो । कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा.डा. कोइरालाले नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको बृहत् नेपाली शब्दकोषको १० औं संस्करण र नेपालको संविधान २०७२ को भाषामा धेरै भिन्नता देखिएकाले सच्चाउनुपर्ने सुझाव दिनुभयो । सबै भाषा प्रयोगकर्ताले आफूले प्रयोग गर्ने भाषाको नियम के हो भन्नेबारे जान्नै पर्ने र त्यसअनुसार चल्न सक्नुपर्ने बताउँदै भन्नुभयोः– अन्यथा भाषामा एकरुपता आउन सक्दैन ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा.हेमनाथ पौडेल: नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा.हेमनाथ पौडेलले भाषा पनि समाजजस्तै गतिशील तथा परिर्वतनशील हुने बताउनुभयो । बृहत् नेपाली शब्दकोषको १० औं संस्करण र नेपालको संविधान २०७२ को भाषामा धेरै भिन्नता देखिएको भन्ने प्रश्नमा उहाँले संविधानको भाषामा हुन गएको त्रुटिबारे स्पष्ट पार्नुभयो । भाषाको विवाद धेरै अगाडिदेखि हुँदै आएको बताउँदैै प्रा.डा. पौडेलले भाषा कुवाको पानि जस्तो जमेर नबस्ने तर परिर्वतनको नाममा मनलाग्दी गर्न नपाइने तर्क गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानको बृहत् नेपाली शब्दकोषको १० औं संस्करणमा हाल प्रयोग भैरहेका भाषाकै कुराहरुलाई प्रयोगमा ल्याइएको उहाँको भनाइ थियो । उहाँले भाषविद्हरुको समूहले आधिकारिक रुपमा तयार पारेको बृहत् नेपाली शब्दकोषको १० औं संस्करणलाई नै पालना गर्नुपर्ने बताउनुभयो ।

प्राध्यापक डाक्टर धर्मराज अधिकारी: प्राध्यापक डाक्टर धर्मराज अधिकारीले भाषा प्रशिक्षण सम्बन्धी विभिन्न कार्यशाला सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भाषा सिकाउने र सिक्ने समय एक दुइदिनको कार्यशालाले पूर्ती गर्न नसक्ने उल्लेख गर्नुभयो । प्रा.डा. अधिकारीले केही सञ्चारमाध्यमहरुले ‘सरकार’ लाई ‘सरखार’ उच्चारण गर्ने गरेको भन्दै गुनासो पोख्नुभयो ।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चेतनाथ धमला: प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चेतनाथ धमलाले कार्यक्रमबारे जानकारी गराउँदै भाषा कसरी लेख्ने ? कस्तो लेख्ने ? भन्ने बिषयमा अन्योल भएकाले यसको निरुपण गर्नुपर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल: प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले प्रतिवेदन लेख्दा, रिपोर्ट तयार पार्दा, सञ्चारमाध्यलाई पत्र काट्दा भाषिक भिन्नतादेखिने भएकाले अब काउन्सिलमा पनि भाषामा एकरुपता ल्याइने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका सह-प्रशासकीय अधिकृत दीपक खनाल: प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनालले नेपाली भाषालाई दिनदिनै उपेक्षा गरिएको , नेपाली नजाने पनि हुने जस्तो गर्न थालिएको, बोर्डिङ स्कूलमा नेपाली बोल्दा कोर्रा खानुपर्ने स्थिति आएकाले चिन्ता लागेर काउन्सिलले भाषागत सुधारमा जोड दिएको बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृतद्वय मानबहादुर लामिछाने , रामप्रसाद पोखरेल, रामशरण बोहरा, प्रशासकीय अधिकृत राधेश्याम अधिकारी लगायत काउन्सिलका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

रिपोर्र्ट: सम्झना पौडेल

प्रतिक्रिया :