संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार महिलालाई प्रविधिमैत्री पत्रकारिता तालिम सुरु

सरकारको समन्वय र सहयोग हुन्छ: सञ्चारमन्त्री

 

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी प्रविधिमैत्री पत्रकारिता तालिम सुरु गरेको छ । सोमबार काठमाडौँमा सुरु भएको तालिमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार महिलाको क्षमता र दक्षता बढाउन प्रविधिलक्षित तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

 ३ दिनसम्म चल्ने तालिममा पहिलो चरणमा बाग्मती प्रदेशका २० जना पत्रकार सहभागी छन् । मन्त्री शर्माले व्यवसायिक र मर्यादित पत्रकारिताका लागि यस्ता खाले तालिम आगामी दिनमा अझ सशक्त ढङ्गबाट अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

 ‘प्रेस काउन्सिलले सुरु गरेको छ । यसलाई बढाउँदै जानुपर्छ । सरकारको समन्वय र सहयोग रहनेछ’  मन्त्री शर्माले भन्नुभयो, ‘महिलालाई एक्सपर्ट जर्नालिस्ट बनाउने कार्यमा सबै सरोकारवाला निकाय लाग्नुपर्छ’ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रविधिको माध्यमबाट पोख्त पत्रकारिता गराउने उद्धेश्यले तालिम सञ्चालन भएको जानकारी दिनुभयो । प्रविधिमैत्री नहुँदा पत्रकारिताबाटै पलायन हुने र अवसरबाट वञ्चित हुने अवस्था हुन नदिने प्रयासमा काउन्सिल रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले प्रविधिसँग जोडिएर मात्रै समयानुकूल पत्रकारिताको अभ्यास हुने उल्लेख गर्नुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले नयाँ पुस्तालाई पत्रकारितामा आकर्षण गर्न र पेसामा रहेकालाई टिकाउन यस्ता तालिम महत्वपूर्ण हुने बताउनुभयो । यस्तै सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले प्रविधिको उच्चतम प्रयोगबाट गरिने पत्रकारिताले पत्रकार महिलालाई गुणात्मक, सचेत र व्यवसायिक रूपमा अगाडि बढाउन सघाउने बताउनुभयो ।

काउन्सिलका सदस्य शरद अधिकारी र मुख्य अधिकृत झविन्द्र भुसालले सहजीकरण गर्नुभएको कार्यक्रममा सदस्य दुर्गा भण्डारी पौडेलको स्वागत मन्तव्य रहेको थियो ।

३ दिने कार्यक्रममा पत्रकारहरुलाई मोबाइल र डाटा जर्नाल्जिम, पत्रकार आचारसंहितासहित प्रविधिमैत्री पत्रकारिता तालिम दिइनेछ । विज्ञहरु अरुण कार्की, नसना बज्राचार्य, युवराज घिमिरे, मात्रिका पौडेल, जनक नेपाल र विधान श्रेष्ठसहितका विज्ञहरुले तालिममा सहजीकरण गर्नुहुनेछ । बाग्मतीपछि अन्य प्रदेशमा समेत पत्रकार महिलाका लागि यस्ता तालिम गर्ने तयारीमा रहेको काउन्सिलका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया :