संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलद्वारा कार्यसम्पादनसम्बन्धी एकवर्षे श्वेतपत्र जारी


२०७७।०४।०२
काठमाडौँ

प्रेस काउन्सिल नेपालले एकवर्षे कार्यसम्पादनसम्बन्धी श्वेतपत्र जारी गरेको छ । आज दिउँसो प्रेस काउन्सिलको सभाहलमा आयोजित कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलका हरेक गतिविधिहरु पारदर्शी भएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय नेपालभित्र सञ्चालन नहुने गरी १०१ वटा अनलाइन बन्द गरिएको भएपनि ती अनलाइनको नामावली भने सार्वजनिक गर्न नमिल्ने बताउनुभयो । उहाँले नाम सार्वजनिक गर्नुभन्दा पनि दर्ताको प्रकृयामा आउन र सचेत गराउनु आफूहरुको दायित्व भएको उल्लेख गर्नुभयो । श्रेष्ठले कोरोनाको समयमा काउन्सिलले मिडियाको लागि छुट्टै निर्देशिका जारी गरेको भन्दै बाहिर भनिएजस्तो प्रेस स्वतन्त्रताको हनन्मा काउन्सिल नलागेको बरु पत्रकारको हितको लागि काउन्सिल सदैव तयार भएको स्पष्ट पार्नुभयो । कतिपय भारतीय मिडियाले नेपालको विषयमा जथाभावी सम्प्रेषण काउन्सिलले समकक्षीलाई पत्र लेखेको प्रसंग निकाल्नु हुँदै उहाँले राष्ट्रिय हितको खातिर काउन्सिल सधै अग्रसर रहेको बताउनुभयो । एकै दिन १५ वटा अनलाइनलाई २४ घण्टे स्पष्टिकरण माग गरिएको भन्दै का.वा. अध्यक्ष श्रेष्ठले काउन्सिलले र्दुइ पक्ष बोलाएर मेलमिलाप सम्मको अभ्यास गर्ने गरेको उल्लेख गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिल ऐन संशोधन प्रस्ताव तयार गरी सरकारसमक्ष प्रस्तुत गरिएको ,पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६ असोज ६ गते जारी गरिएका उल्लेख गर्नुभयो । उहाँले महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६, वैदेशिक भ्रमण व्यवस्थापनसम्बन्धी आन्तरिक कार्यविधि, २०७६ स्वीकृत भएको, प्रेस काउन्सिल कर्मचारी विनियमावली, २०७६ स्वीकृत भएको तथा कोरोना संक्रमणका सम्बन्धमा सञ्चारमाध्यम र पत्रकारका लागि निर्देशिका, २०७६ जारी भएको जानकारी दिनुभयो । उहाँले आचारसंहिता अनुगमनतर्फ उजुरीको अवस्था (छापामाध्यम) र विद्युतीय एवं शुक्रवारीय विशेष अनुगमनको विस्तृत विवरण प्रस्तुत गर्नुहुँदै वितरण सम्परीक्षण समितिले प्रत्येक वर्ष देशभरबाट नियमित प्रकाशित हुने पत्रपत्रिकाको वर्गीकरण गर्दै आइरहेको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत भुसालले कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी मिडिया सर्भेक्षण गरी प्रतिवेदन सार्वजनिक भएको, हालसम्म २१३० वटा अनलाइन काउन्सिलमा सूचीकृत भएको ,विभिन्न अनलाइन सञ्चारमाध्यमबाट प्रवाह भएका २३ लाख ८७ हजार ५ सय ३९ सामग्री अभिलेख भएको विभिन्न एफ.एम.रेडियोबाट प्रशारित ३९ लाख ५ हजार ४ सय ९० सामग्री क्लिप रेकर्ड गरी स्टोरेज भएको जानकारी दिनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार डा. कुन्दन अर्यालले मिडियाले आत्महत्याको समाचारलाई स्थान दिन नहुनेतर्फ सचेत गराउनुभयो । आत्महत्या समाचार नभएको भन्दै उहाँले यस्ता समाचारको बिषयमा काउन्सिलले गहिरिएर अनुगमन गर्नुपर्ने बताउनुभयो । डा. अर्यालले काउन्सिलले भारतिय मिडियालाई पत्र लेखेपनि भारतिय मिडियालाई आचारसंहिताको बारेमा सामान्य जानकारीसम्म नभएको भन्दै पहिले त्यस विषयमा बुझाउन सक्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारीले काउन्सिलले गरेको कामको प्रशंसा गर्नुहुँदै अनलाइनहरुबाट रासस आफै धेरै पीडित भएको बताउनुभयो । राससका पत्रकारले दुःख गरेर बनाएको समाचार छिनभरमै स्रोत उल्लेख नगरी विना ग्राहकका अनलाइनले राख्ने गरेको भन्दै यस्ता गलत गतिविधि रोख्नुपर्ने उहाँको धारणा थियो । मिडिया धेरै गै्रह्रजिम्मेवार बन्दै गएकोले ठीक ठाउँमा ल्याउनुपर्ने काउन्सिलमाझ ठुलो चुनौति खडा भएको उहाँको भनाई छ ।

गोरखापत्र संस्थानका अध्यक्ष कृष्ण मुरारी भण्डारीले स्वेतपत्रमा काउन्सिलले गरेको कामको साँकेतिक अंशहरु समावेस भएको भन्दै सञ्चारमाध्यमको भनाई र गराई एकै हुनुपर्ने बताउनुभयो । उहाँले काउन्सिलले जारी गरेको आचारसंहिता कतिपय पत्रकार तथा सञ्चारमाध्यमले एक पटकसम्म नपढेको भन्दै यस्ता प्रवृतिले आचारसंहिताको उल्लंघन भएको बताउनुभयो । न्यू मिडियाबाट सूचना सम्प्रेषण गर्नु जायज भएतापनि आचारसंहिता विपरितका क्रियाकलाप गरी समाजमा विकृति फैलाउनु गलत भएको उहाँको दावी थियो ।

कार्यक्रममा काउन्सिलका बोर्ड सदस्यहरु खिलबहादुर भण्डारी, इश्वरीप्रसाद ओझा, संगिता खड्का त्यस्तै विभिन्न शाखाका प्रमुख र विभिन्न सञ्चारमाध्ययमका पत्रकारको सहभागिता थियो ।

समाचार: सम्झना पौडेल
फोटो: विपुल पाण्डे

प्रतिक्रिया :