संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

विद्यार्थीसँग प्रेस काउन्सिल नेपाल

जेठ १२,काठमाडौँ

‘विद्यार्थीसँग प्रेस काउन्सिल नेपाल’ बिषयक कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको सो कार्यक्रममा पशुपति बहुमुखी क्याम्पस स्नातक (बिए दोस्रो बर्ष) पत्रकारिता बिषय अध्ययननरत विध्यार्थीलाई पत्रकार आचारसंहिता, उजुरी, कारबाही प्रक्रिया र नेपालमा पत्रकारिताको अभ्यास लगायतका विषयमा जानकारी गराइएको हो ।

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले नेपालमा दर्ता भएका पत्रिका, लाइसेन्स लिएका रेडियो, टिभि तथा सुचीकरण भएका अनलाइनहरूको बिषयमा जानकारी दिनुभयो । उहाँले जस्तोसुकै असहज परिस्थितिमा पनि पत्रकारले देश र समाजको निम्ति कलम चलाउनुपर्ने उल्लेख गर्नुभयो । का.वा. अध्यक्ष श्रेष्ठले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गरेको र विश्वमा यस्तो अन्य कतै नभएको जानकारी दिनुभयो । उहाँले मिडिया काउन्सिल विधेयक, विश्वमा पत्रकारिता र नेपालमा भइरहेको अभ्यासबारे स्पष्ट पार्नुभयो । नेपालको संविधानले नै बोल्न र लेख्न पाउने अधिकारको प्रत्याभूति गरेकाले जे गरेपनि हुन्छ भनेर जथाभावी बोल्न र लेख्न नहुने उहाँको धारणा थियो । भारत र अमेरिकाको उदाहरण दिनुहुँदै का.वा अध्यक्ष श्रेष्ठले पत्रकार ज्योतिष, पुलिस, डाक्टर बन्न नहुने यदि त्यसो गरिएमा गलत अभ्यास र सूचनाको प्रवाह हुन सक्नेतर्फ सजग रहनुपर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य खिलबहादुर भण्डारीले पत्रकारिता लहैलहैमा लागेर गर्ने पेसा नभएकाले पहिले आफ्नो रुची केमा रहेको छ ? त्यही अनुरुप गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा ८० देखि ९० लाख मानिसले फेसबुक चलाउने गरेकाले अनलाइनका समाचारहरू त्यसैबाट हेर्ने गरेको पनि बताउनुभयो । पत्रकारिता सबैभन्दा राम्रो र मर्यादित पेशा भएको उहाँको भनाइ थियो । हरेक ठाउँमा विकृति हुने भन्दै बोर्ड सदस्य भण्डारीले त्यस्तो विकृतिलाई चिरेर आफू कस्तो बन्ने भन्ने कुरा आफैँमा भरपर्ने स्पष्ट पार्नुभयो । विभिन्न अध्ययन तथा सर्वेक्षणको जानकारी दिँदै उहाँले नेपालमा ७० प्रतिशत मानिससँग टिभिसेट रहेको र २८ प्रतिशतसँग मात्रै रेडियो सेट रहेको बताउनुभयो । उहाँले रेडियोसेट कम हुनुको पछाडि ९० प्रतिशत मानिससँग मोबाइल रहेको र धेरैले मोबाइलबाट नै एफएम रेडियो सुन्ने गरेको बताउनुभयो ।

सुरुमा कार्यक्रमको संयोजन गर्ने क्रममा काउन्सिलका सह-प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी दीपक खनालले उपस्थित विद्यार्थीलाई स्वागत गर्दै अनुगमनका विभागीय प्रमुखहरूसँग विस्तृत जानकारी लिन आव्हान गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत एवम् सूचना प्रविधि , अभिलेख र आचारसंहिता अनुगमन (विद्युतीय) शाखा प्रमुख रामशरण बोहराले आचारसंहिता अनुगमन, उजुरी र कारवाही चुनौतिको बिषयमा जानकारी दिनुभयो । उहाँले अनलाइनको विकास भएसँगै थप समस्या सिर्जना भैरहेको बताउँदै विद्यार्थीवाट उठेको जिज्ञासाको सम्बोधन गर्नुभयो । उप–प्रशासकीय अधिकृत बोहराले २०७५ साउनदेखि हालसम्म काउन्सिलमा आएका उजुरी, काउन्सिलले गरेको कारबाही बारेमा संक्षिप्त जानकारी गराउनुभयो । उहाँले अनलाइन सञ्चालनसम्बन्धी प्रावधान भएतापनि विना दर्ता अनलाइन सञ्चालन भैरहेकाले गैरकानुनीरुपमा सञ्चालनमा आएका अनलाइनहरूलाईकानुनी प्रकृयामा आउन आव्हान गर्नुभयो ।

छापामाध्यम अनुगमन शाखाका प्रमुख एवम् अनुगमन अधिकृत सुरेन्द्र मल्लले छापा माध्यममा हुने गरेका आचारसंहिता उल्लंघनका घटना, अवस्था र काउन्सिलको स्वअनुगमनबारे जानकारी दिनुभयो । उहाँले कार्यक्रममा सहभागी विद्यार्थीबाट उठाइएका जिज्ञासाहरूको जवाफ दिनुभयो ।

सो अवसरमा आमसञ्चारमाध्यमको बढ्दोक्रम, गुणस्तर र काउन्सिलको पछिल्लो गतिविधि, प्रभावकारिता, जनशक्ति उजुरीको स्थिति लगायतका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा पशुपति बहुमुखी क्याम्पसका पत्रकारिता विषयका शिक्षक नवराज चालिसे लगायत ४२ जना विद्यार्धाीको सहभागिता रहेको थियो ।

समाचार लेखन : सम्झना पौडेल/तस्वीर : विपुल पाण्डे

प्रतिक्रिया :