संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण कार्यक्रम

काठमाडौँ,
बैशाख २७

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयोजनमा पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पत्रकार आचारसंहिता, पत्रकारिताका महत्व, चुनौती सामाजिक सञ्जाल लगायतका थुप्रै बिषयबस्तुमाथि प्रशिषण दिइएको थियो ।

कार्यक्रमको उद्घाटनसत्रमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले समाचार लेख्दा तथ्य तोडमोड गर्न नहुने बताउँदै त्यसो गरिएमा अनुसन्धानमा असर पुग्ने धारणा राख्नुभयो । उहाँले समाजमा भएका / हुने घटनाहरूलाई तथ्यगतरुपमा समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

खरेलले अनुसन्धान चलिरहेका बेला, घटनामा संलग्न भएको ब्यक्तिको एकिन नभएको समाचार लेख्दा गम्भीर हुनुपर्ने बताउनुभयो। अनुसन्धानरत व्यक्तिका बारेमा सबै थाहा भए जसरी समाचार लेख्नेक्रम बढेकाले अनुसन्धानमा असहज अवस्था पैदा भएको उहाँको ठम्याई थियो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारका लागि सरकारले अझै कडा कानुन ल्याउन लागे पनि त्यस्तो अवस्थाको सिर्जना पत्रकारले स्वयमले गरेको बताउनुभयो ।

पत्रकारितामा आफ्नो लामो अनुभव साट्दै उहाँले पत्रकारको कलम र सिपाहीको गोली एकै भएको उल्लेख गर्नुभयो । का.वा अध्यक्ष श्रेष्ठले केही महिनाभित्रै प्रेस मिडिया एक्ट आउन लागेको जानकारी दिँदै कसैको मानमर्दनमा आँच आउने समाचार लेख्दा प्रत्येक समाचारको दरले १ लाख देखि १० लाखसम्म जरिवाना हुने देखिएकाले आफूहरु समयमा नै सजग रहनतर्फ सचेत गराउनुभयो ।

केही अनलाइले लेखेको समाचारको उदाहरण प्रस्तुत गर्दै उहाँले नयाँ ऐन आएको खण्डमा स्वरोजगार पत्रकार र साना मिडिया सञ्चालकलाई अझ समस्या आउने बताउनुभयो । पत्रकारले भावनामा वा लहैलहैमा बहकिएर भन्दा पनि संयमित भएर समाचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिदै का.वा अध्यक्ष श्र्रष्ठले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गर्ने तयारी गरेको ‘मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले समाचारका कारण प्रतिष्ठामा आँच पुगेमा १० लाख जरिवाना हुनसक्ने व्यवस्था गरेको स्पष्ट पार्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जानुका बरालले राज्यले पनि पत्रकार समाउन नमिल्ने र पत्रकारले पनि सतहमा गएर पत्रकारिता गर्न नहुने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफूले समाचारमा गल्ती गरेपनि सच्चाइएको कुरामा हेक्का राख्न नसक्नुले पत्रकारिताको प्रवृत्ति कता गइरहेको छ भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो ।

पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञान प्रसाद पौडेलले आफूहरुले स्थानीय तह बनेसँगै स्थानिय तह प्रेसमैत्रि छ÷छैन भनी हेरेको उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रमको दोस्रो (प्रशिक्षण) सत्रमा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ईश्वरी प्रसाद ओझाले पत्रकार आचारसंहिता पत्रकारको मूल मन्त्र भएको बताउनुभयो । उहाँले समाचारको गोप्य स्रोत खोल्न नहुने तथा पीडितलाई थप पीडा पुग्ने गरी सूचना सम्प्रेषण गर्न नहुनेतर्फ पत्रकारलाई सजग गराउनुभयो । हिंसा, आतङ्क र अपराधलाई प्रोत्साहन गर्न नहुने, बीभत्स दृश्य र तस्वीर प्रकाशन / प्रसारण गर्दा पत्रकारले सोच्नुपर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले बालबालिका महिला, अपांगता भएका व्यक्तिका विषयमा लेखिने समाचारमा पनि संवेदनशील हुन पत्रकारलाई आग्रह गर्नुभयो । बालवालिकाका समाचार लेख्दा घटना मात्रै हेर्न नहुने भन्दै उहाँले समाज र घरपरिवारलाई समेत सचेत गराउन सक्नुपर्ने बताउनुभयो । मुख्य अधिकृत भुसालले पत्रकारको सामाजिक दायित्व पनि हुने भएकाले अशक्त, असहाय, बालबालिका, महिला तथा पिछडिएका वर्ग, क्षेत्र, भाषा–भाषी र अल्पसंख्यक समुदायको उत्थान र विकासमा सूचना र विचार प्रवाहद्वारा विशेष सहयोग पुर्याउन पत्रकारलाई आग्रह गर्नुभयो ।

सह-प्रशासकीय अधिकृत दीपक खनालले पत्रकार आचारसंहिताको राष्ट्रिय अन्र्तराष्ट्रिय अभ्यास, नेपाली पत्रकारिताको भाषा–शैली, प्रेस काउन्सिल नेपालमा पर्ने उजूरीको बढ्दोक्रम,कारवाही प्रकृया र अनुगमन प्रणाली जस्ता बिषयमा प्रशिषण दिनुभएको थियो । स्वस्थ पत्रकारिताको विकासका निम्ति सञ्चारमाध्यम र पत्रकारलाई आफैँ जिम्मेवार बन्नुपर्ने उहाँको भनाई थियो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र बिष्टले आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रशारण गर्दा कुनै व्यक्ति वा संस्थालाई क्षति पुग्न नहुने बताउँदै पत्रकार जिम्मेवार बन्नुपर्ने सुझाव दिनुभयो अध्यक्ष विष्टले गोपनीयताको हकको सम्मान गर्दै गल्ती सच्याउन तत्परता देखाउन पनि पत्रकार अग्रसर रहनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागीहरूले पत्रकारिताको भाषा लगायतका अन्य बिषयमा जिज्ञासा राखेका थिए । प्रशिक्षणमा ६० प्रशिक्षार्थीको जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :