संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा १० महिने पत्रकारिता प्रशिक्षण तालिमको उद्घाटन

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले एक कार्यक्रमबीच २०७५ चैत १० गते आइतबार १० महिने पत्रकारिता प्रशिक्षण तालिम (३५ औं समूह) को उद्घाटन गर्नुभयो ।
प्रेस काउन्सिल नेपालको सहयोग र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) द्वारा सञ्चालित उक्त पत्रकारिता तालिमको उद्घाटन गर्नुहुँदै सञ्चारमन्त्री बाँस्कोटाले मिडिया उद्योगकोरुपमा उदाएको, उद्योगले कामदारलाई ज्याला नदिएमा वा कर नतिरेमा कानुनबमोजिम हुने धारणा राख्नुभयो । एउटा सन्दर्भमा बोलेको कुरालाई तोडमोड गरेर कतिपय मिडियाले आम नागरिकलाई अतिरञ्जित, भ्रमपूर्ण सामग्री सम्प्रेषण गरेकोप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो — “हरेक क्षेत्रमा आचारसंहिता हुन्छ, सबैले आचारसंहिताको पालना गर्नुपर्छ । स्वतन्त्रता असीमित भएपनि मर्यादाको सीमा हुन्छ, मर्यादा उल्लघंन गरेर गरिने पत्रकारिताले समाज निर्माण गर्न सक्दैन । त्यसले अराजकताको मात्रै अगुवा गर्छ । समाजको जीवन्तता भन्नु नै पत्रकारिता हो, मिडियासंग ठूलो तागत छ तर तागतको दुरुपयोग गर्नुहुँदैन ।”

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सम्माननीय राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीलाई जोडेर मिडियामा आएका आपत्तिजनक विषयवस्तुको उदाहरण प्रस्तुत गर्नुहुँदै भ्युअर बढाउने नाममा केही विद्युतीय मिडियामा आपत्तिजनक सामग्री प्रकाशित गरेर बहादुरी देखाउने गलत अभ्यास भैरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । काउन्सिलमा उजुरी बढ्दै गएको, पत्रकारको सम्पत्तिको सोधीखोजी हुन थालेको जानकारी दिनुभयो ।

कार्यवाहक अध्यक्ष श्रेष्ठले भन्नुभयो—“निरपेक्ष स्वतन्त्रता हुन सक्दैन, अराजकतालाई प्रोत्साहन दिनका लागि मिडियालाई स्वतन्त्रता दिइएको होइन, सबैले आचारसंहिताको पालना गर्नैपर्छ । २६ बर्ष पुरानो छापामाध्यम केन्द्रित काउन्सिल ऐनले न्यु मिडियालाई सम्वोधन गर्न नसकेको र अब मिडिया काउन्सिल ऐन आउँदैछ, मर्यादित पत्रकारिताको विकासमा टेवा पु¥याउनेछ ।”

अध्यक्ष श्रेष्ठले दक्ष, व्यावसायिक पत्रकारको आवश्यकता पूर्तिका लागि दुई संस्थाबीच सहकार्यको शुुरुवात भएको उल्लेख गर्नुभयो । यसबर्ष प्रेस काउन्सिलको ५० औं बार्षिकोत्सव (स्वर्णजयन्ती) मनाउन लागेको समेत जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले तालिमको सफलताको कामना गर्दै भन्नुभयो –“जिम्मेवार, उत्तरदायी र मर्यादित पत्रकारिता गरौं । सकारात्मक थुप्रै विषय हुँदाहुँदै पनि केही एकाध गैरजिम्मेवार गतिविधि भएको छ, यसलाई निस्तेज पार्नुपर्छ । हामी सच्चिन जरुरी छ । महासंघ जस्तोसुकै अवस्थामा रक्षाकवच बन्न सक्दैन ।”
प्रशासकीय अदालतका प्रमुख काशीराज दाहालले सञ्चारमाध्यम मान्छेको जीवनपद्धति भएकोले स्वतन्त्रता र मर्यादित दुबै विषयलाई सन्तुलित दृष्टिकोणबाट अघि बढाइनुपर्ने, मिडिया दीगो शान्ति, विकास र शुशासनको खम्बा बन्नुपर्ने धारणा राख्नुभयो ।

एनपीआईका अध्यक्ष तथा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले संस्थाले ८ हजार बढिलाई पत्रकारिता तालिम दिई पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
एनपीआईका महासचिव लक्ष्मण हुमागाईँले पञ्चायतकालमा अभिव्यक्ति स्वतन्त्रता बन्देज रहेका बेला व्यावसायिक पत्रकारिताको विकास गर्ने उद्देश्यले २०४१ सालमा स्थापना भई थुप्रै जनशक्ति उत्पादन गरेको बताउनुभयो । उहाँले कार्यक्रम उत्पादक संस्था तथा सामाजिक सञ्जाललाई समेत नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।

एनपीआईका संस्थापक सदस्य गोकुल पोखरेलले सहकार्यको नीतिसहित इन्स्टिच्युट अघि बढ्ने धारणा राख्नुभयो । उहाँले विराटनगर र नेपालगञ्जमा रहेका क्षेत्रीय सञ्चार स्रोत केन्द्रको विकासका लागि जोड दिनुपर्ने धारणा राख्नुभयो ।

१० महिने पत्रकारिता तालिमका संयोजक कपिल काफ्लेले १० महिने पत्रकारिता तालिमको स्वरूप र प्रक्रियाका विषयमा जानकारी गराउँदै प्रशिक्षार्थीमा भाषागत दक्षता भएमा तालिम उपलब्धिमूलक हुने धारणा राख्नुभयो । १० महिने पत्रकारिता पहिलो समूहका प्रशिक्षार्थी वरिष्ठ पत्रकार हरिकला अधिकारीले भाषामा केही निपुणता भएकै कारण तालिम सकिंदा नसकिंदै काम पाएको जानकारी गराउनुभयो ।

रिपोर्ट: महेन्द्रराज सिंह,

तस्विरहरु: बिपुल पाण्डे,

२०७५।१२।१० गते ।

प्रतिक्रिया :