Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

काउन्सिल र सबै मिडियाबीच सहकार्य हुनुपर्नेमा जोड

meetingकाठमाडौँ, १९ कात्तिक । देशको विद्यमान परिस्थिति, सञ्चारमाध्यमको भूमिका, पत्रकार आचारसंहितालगायतका विषयमा मिडियाले खेल्नुपर्ने भूमिका र अपनाउनुपर्ने संयमताजस्ता विषयमा केन्द्रित भएर अघि बढ्न काउन्सिल र सबै मिडियाबीच सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा काउन्सिल हलमा बिहीबार आयोजित छलफल कार्यक्रममा मिडियाक्षेत्रका विभिन्न प्रतिनिधिहरूले यस विषयमा जोड दिएका हुन् ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले अहिलेको जटिल परिस्थितिमा काउन्सिल एक्लै अगाडि बढ्दा मिडियामाथि नियन्त्रण गर्न खोजेको अर्थ लाग्ने भएकाले मिडियाकर्मी र सम्पूर्ण मिडिया क्षेत्रबीच समन्वय गरी सहकार्य गर्ने अभिप्रायले छलफल कार्यक्रम राखिएको प्रस्ट पार्दै भन्नुभयो–‘काउन्सिल र पत्रकारितासँग सम्बन्धित संस्थाहरू मिलेर एउटा संयन्त्र बनाई अघि बढौँ ।’

नेपाल पत्रकार महासंघका अध्यक्ष एवम् काउन्सिल सदस्य डा.महेन्द्र विष्टले मिडिया र पत्रकार राज्य र आन्दोलनकारीको आक्रमणमा परिरहेको, सम्पादकीय स्वतन्त्रता र मिडिया सर्वोच्चता ओझेलमा पर्न खोजेको, नाकाबन्दी, कर्फ्यूजस्ता समस्याले मिडिया र मिडियाकर्मीमाथि नै असहज अवस्था आएको र मिडिया विषयवस्तु स्वच्छाचारी हुनथालेको आलोचना भइरहेको सन्दर्भमा समान धारणा बनाई अघि बढ्न जरुरी रहेको औँल्याउनुभयो ।

मधेश मिडिया हाउसका अध्यक्ष डा.राजेश अहिराजले देश र मधेशलाई अब मिडियाले मात्रै जोड्न सक्ने भएकोले आममिडिया र मिडियाकर्मी एक भएर लाग्नुपर्ने विचार राख्दै काठमाडौँका मिडियाले मधेसका आन्दोलनकारीका जायज माग र विगतमा राज्य र मधेसी पार्टीबीच भएका सहमति, सम्झौतालाई स्पष्टसँग बाहिर ल्याइदिनुपर्ने बताउनुभयो ।

पत्रकार महासंघका सचिव प्रभात चलाउनेले सर्वप्रथम मधेसका मिडियाकर्मीमा रहेको डर हटाउनेतिर ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

मिडिया सोसाइटी नेपालका सचिवालय प्रमुख उज्वलराज गौतमले मिडियाकर्मीले जस्तोसुकै विषम परिस्थितिमा सत्य–तथ्य विषय उठाउन डराउन नहुने तर्क गर्दै काउन्सिल र आममिडिया मिलेर मिडिया अनुगमनलाई प्रभावकारी पार्नुपर्ने बताउनुभयो ।

ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल(वान)का उपाध्यक्ष कुमार भट्टराईले मधेसका विज्ञहरूले नै मिडियाले मधेसका विषय नदिएको भन्ने मनोदशा हटाउनुपर्ने बताउँदै काउन्सिलले नियमत रूपमा रेडियाकर्मीसँग छलफल गर्नुपर्ने विचार राख्नुभयो ।

सामुदायिक रेडियो प्रसारका संघका अध्यक्ष मोहन चापागाईले मुलुकका आम रेडियो सङ्कटमा रहेकाले त्यसको समाधानका लागि पनि समान उपाय निकाल्नुपर्ने बताउँदै राज्यले रेडियोलाई हस्तक्षेपबाट मुक्त राख्नुपर्ने सुझाव दिनुभयो ।

सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव अनुप नेपालले मिडिया र मिडियाकर्मीलाई राज्यले हस्तक्षेप र नियन्त्रण गर्न नसक्ने र नगर्ने बताउँदै मिडियाकर्मी स्वयम्ले आचारसंहिता पालना गर्नुपर्छ भन्नुभयो ।

सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले पनि बोल्नुभएको सो कार्यक्रमको सञ्चालन मुख्य अधिकृत झविन्द्र भुसाल र ¥यापोटिङ उपप्रशासकीय अधिकृत दीपक खनालले गर्नुभएको थियो ।

Comments :

    Facebook Comment