संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा काउन्सिल क्रियाशील

सम्झना पौडेल
काठमाडौँ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा प्रेस काउन्सिल नेपालले महिला कर्मचारीसँग छलफल गरेको छ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीको नेतृत्वमा भएको छलफल कार्यक्रममा सहभागिले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा का.वा अध्यक्ष बुढाथोकीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा काउन्सिलले ऐक्यबद्धता जनाएको बताउनुभयो । उहाँले पत्रकार आचारसंहितासँगै महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ विचार र अभिव्यक्ति स्वतन्त्रता एवं वैयक्तिक अधिकार, सम्मान र गोपनीयता, लैङ्गिक समता, लिङ्गको आधारमा गरिने भेदभावको अन्त्यजस्ता विषय महिलासँग सम्बन्धित समाचार सम्प्रेषणमा महत्वपूर्ण हुने भएकाले निर्देशिकाले तोकेको पत्रकार र सञ्चारमाध्यमको कर्तव्य पालनामा सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले देशमा बलात्कारलगायत महिला हिंसाका घटनाहरु भैरहेकाले यसको नियमनतर्फ कडाइका साथ लाग्नुपर्ने बताउनुभयो । उहाँले महिला कर्मचारीहरुसँग रहेका समस्या र भोग्नुपरेको पीडाबारे जानकारी दिन भन्नुभयो । लैंङ्गिकतामा आधारित हिंसाविरुद्धको अभियान मनाइरहँदा लैङ्गिकतामा आधारित हिंसाको मूल कारणको बारेमा धारणा बुझ्नको लागि छलफल गरिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले कार्यस्थलमा हिंसा सम्बन्धी कुनै क्रियाकलाप वा गतिविधि भएको छ/छैन स्पष्ट भएर धारणा राख्न भन्नुभयो । उहाँले पत्रकार तथा सञ्चारमाध्यमले यौन अपराध वा सामाजिक विभेद गर्ने सामग्री उत्पादन गरेको छ छैन त्यसको पनि सुक्ष्म ढङ्गले अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले काउन्सिल लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको मार्गमा अघि बढेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा महिला कर्मचारीहरुले पेसागत रूपमा भोग्नुपरेका चुनौती, समस्या र प्राप्त अवसरहरू बारे धारणा राख्दै कहिल्यै पनि कुनै पुरुष सहकर्मीबाट हिंसा सम्बन्धी व्यवहार झेल्नु नपरेको बताएका छन् । महिला कर्मचारीहरुले महिनावारी हुँदा कार्यालयमा स्वास्थ्य सर्तकताका लागि आवश्यक औषधीउपचार सेनेटरीलगायत व्यवस्था हुनुपर्ने उल्लेख गरेका थिए ।
कार्यक्रममा छलफलपछि कार्यवाहक अध्यक्ष बुढाथोकीले महिनावारी स्वास्थ्य सतर्कताका लागि आवश्यक सम्पूर्ण व्यवस्था तत्काल मिलाउने तथा कार्यालयमा आकस्मिक आरामकक्ष र स्तनपानकक्षको व्यवस्थापन गरिने बताउनुभयो । कार्यक्रममा हिंसाविरुद्ध हुने घटनाहरुको तत्काल निरुपणको लागि फोकल पर्सन तोकिएको छ ।

सहभागी महिलाहरुले हरेक दिन अखबारका पानामा बोक्सीका नाममा, दाइजो नल्याएको, छोरा नजन्माएको, छाउपडीका नाममा हिंसाको सिकार हुनु परेको समाचार आउने गरेको, काउन्सिलले जिल्लास्तरीय कार्यक्रम गर्दा महिला सहभागिता अनिवार्य गर्नुपर्ने, कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नहुने र गरेको पाइएमा कानुनबमोजिम दण्डको व्यवस्था गर्नुपर्ने बताएका थिए ।

 

प्रतिक्रिया :